दमौली – तनहुँको भानु नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि खडा गरेको कोरोना रोकथाम तथा उपचार कोषमा नेपाली कांग्रेस भानु नगर समितिले दुई लाख सहयोग गरेको छ । जिल्लाका सबै स्थानीय तहमा आर्थिक सहयोग गर्ने नीतिबमोजिम कांग्रेस भानु नगर समितिले मङ्गलबार भानु नगरपालिकालाई दुई लाख एक हजार १३ सहयोग गरेको हो ।


ADVERTISEMENT


भानु नगर समितिका सभापति श्रीभक्त आचार्यले नगरप्रमुख उदयराज गौलीलाई उक्त रकम हस्तान्तरण गरेका छन् । उक्त रकममध्ये रु ३० हजार नेपाली कांग्रेस जिल्ला समितिले उपलब्ध गराएको हो भने बाँकी एक लाख ७१ हजार १३ नगर समितिले शुभेच्छुकहरुबाट सङ्कलन गरेको हो । नेपाली कांग्रेस सुखदुःखमा सधैं जनताको साथमा रहेको भन्दै आचार्यले स्थानीय तहलाई हस्तान्तरण गरिएको रकमको सही सदुपयोग हुनेमा विश्वास व्यक्त गरे ।


ADVERTISEMENT

# # #


भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले कोरोना नियन्त्रण गर्ने अभियानमा नेपाली कांग्रेसको तर्फबाट गरिएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे । नगरपालिकाले खडा गरेको कोरोना कोषमा सहयोग गर्न सङ्घसंस्था तथा व्यक्तिलाई नगरप्रमुख गौलीले आह्वान गरे । जिल्लाका विभिन्न स्थानीय तहले खडा गरेको कोरोना कोषमा राजनीतिक दलको तर्फबाट सहयोग गर्ने क्रम जारी छ । कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले विभिन्न स्थानीय तहमा सहयोग गरिरहेका छन् ।

शुक्लागण्डकीको कोषमा २७ लाख सङ्कलन

तनहुँको शुक्लागण्डकी नगरपालिकाले स्थापना गरेको कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा रु २६ लाख ९३ हजार ९२३ सङ्कलन भएको छ । नगरपालिकाको कोषमा प्रदेश सरकारलगायत सङ्घसंस्था र उद्योगी व्यवसायीले सहयोग गरेका छन् ।

उक्त कोषमा गण्डकी प्रदेश सरकारको तर्फबाट प्राप्त रु १० लाख, शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित सूर्य नेपाल प्रालिको तर्फबाट रु १० लाख, नगरपालिकाका कर्मचारीको तर्फबाट दुई लाख ५२ हजार ६०५, नेपाल रेडक्रस सोसाइटी दुलेगौडा उपशाखाको तर्फबाट एक लाख ५१ हजार १५१, गण्डकी क्रसर उद्योग व्यवसायी सङ्घको तर्फबाट एक लाख प्राप्त भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । रासस