गोरखा, फागुन २२ । गोरखाको घ्याल्चोक–५ ज्यामिरेघाटका किसान हरिप्रसाद रेग्मीले बारीमा बन्दा, काउली, फर्सी, काँक्रो लगायतका तरकारी खेती गर्दै आएको वर्षौैं भइसक्यो । तरकारी बेचेरै उनले घर खर्च मात्रै होइन बचत पनि गरेका छन् ।


ADVERTISEMENT


रेग्मीले भने, “पाँच रोपनी जग्गामा तरकारी लगाएको छु । तरकारी बेचेर वार्षिक डेढ लाख कमाउँछु ।” घ्याल्चोकस्थित खरखरेमा रहेको आफ्नो जग्गामा रेग्मी परिवारले तरकारी खेती गर्दै आएको छ । नजिकैबाट त्रिशूली नदी बगेपनि नदीको पानी बारीसम्म तान्न नसकिएको उनको गुनासो छ । सिँचाइको अभावले तरकारीको उत्पादन आशा गरेजस्तो छैन ।


ADVERTISEMENT

# # #


त्रिशूलीको पानी बारीसम्म ल्याउन पहल नगरिएको होइन । “नदीमा पानी बगेको बग्यै छ तर जनताको खेत बाँझै छ सिँचाइका लागि सरकारी तथा गैरसरकारी सहयोग आवश्यक छ” स्थानीय किसान ओमकुमारी रेग्मीले थपे, “पानीमा डुबाउँदा पनि नबिग्रने पानी तान्ने मोटर हामीलाई आवश्यक छ । ”

स्थानीय खोलाबाट कुलोमार्फत खेतमा पानी ल्याएर जसोतसो सिँचाइ गर्दै आएका ज्यामिरेघाटका किसान भूकम्पपछि पानीको स्रोत सुकेपछि निरास हुन्छन् । त्रिशूलीको पानी तानेर बारी सिँचाइ गर्नुको विकल्प नरहे पनि टिकाउ खालका मोटर खरिद गर्न नसक्दा उनीजस्ता किसान चिन्तामा छन् । पाँच÷सात हजार लगानी गरी खरिद गरेको मोटर एक साता पनि नटिकेपछि उनीहरुलाई चिन्तित बनाएकोे हो ।

घ्याल्चोकका किसान तरकारी खेती गरेरै जीवन निर्वाह गर्छन् । यहाँका किसानले वार्षिक एक लाखदेखि दश लाखसम्म तरकारी बेचेरै आम्दानी लिने गरेका छन् । व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका किसान मिलेर जनकल्याण ताजा तरकारी तथा कृषि सङ्कलन केन्द्र पनि सञ्चालन गरेका छन् ।

यस्तै सहकारी मार्फत किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराइएको छ । सहकारीका सदस्यसचिव राजु रेग्मीले भन्नुभयो, “घ्याल्चोक–५ मा ९५ हेक्टर क्षेत्रफलमा विभिन्न जातका तरकारी खेती हुँदै आएको छ । वार्षिक एक हजार आठ सय मेट्रिक टन तरकारी उत्पादन हुन्छ । तरकारी बिक्रीबाटै वार्षिक रु.१७ करोड कमाएका छौँ ।” घ्याल्चोकमा तरकारी सङ्कलन गरी बिक्री गर्न तीनओटा सहकारी सक्रिय छन् । निर्वाहमुखी तवरले तरकारी खेती गर्दै आएका घ्याल्चोकका किसानले व्यावसायिक रुपमा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएको धेरै वर्ष भइसकेको छ ।

घ्याल्चोकमा उत्पादन भएको तरकारी काठमाडौँ, चितवन, पोखरालगायत बजारमा बिक्री हुने गरेको छ । बारीमा फलेका तरकारी किसानले दिनहुँ सहकारीमार्फत सञ्चालन भएका सङ्कलन केन्द्रसम्म पु¥याउँछन्, व्यापारी ट्रक लिएर सङ्कलन केन्द्रमै आउँछन् र सहकारीले तोकेको मूल्यमा तरकारी खरिद गरी लैजाने गरेका छन् । तरकारी खेती गर्न किसानलाई जिल्ला कृषि विकास कार्यालयले पनि बीउ र सिँचाइ गर्न कुलो निर्माणमा सहयोग गर्दै आएपनि उल्लेख्य मात्रामा सिंचाई गर्न कठिन छ ।

कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठले घ्याल्चोकमा रु तीन लाख ८५ हजारको लगानीमा हालै कुलो निर्माण गरिएको बताए । “तरकारीको बीउ, मल खरिदमा अनुदान र तरकारीलाई रोग, कीराबाट जोगाउन प्राविधिक सहयोग गर्दै आएका छौँ”, श्रेष्ठले भने।