वासिङ्टन — एक अश्वेत नागरिकको मृत्यु प्रकरणको विरोधमा अमेरिकाका विभिन्न सहरमा भएका प्रदर्शन हिंसात्मक बन्दै गएपछि दर्जनौं सहरमा कर्फ्यु लगाइएको छ । तर प्रदर्शनकारीले अधिकांश सहरमा कर्फ्युको बेवास्ता गर्दै प्रदर्शनलाई निरन्तरता दिएका छन् ।


ADVERTISEMENT


१६ राज्यका कम्तीमा ३० सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडपहरू भएका छन् । २५ सहरमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा उत्रेका सीएनएनले जनाएको छ । प्रदर्शनकारीले प्रहरीका गाडीमा आगो लगाइदिएका छन् । दंगा प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेका छन् । कतिपय सहरका पसलहरूमा लुटपाट भएको छ भने प्रदर्शनकारीले प्रहरी कार्यालय तथा भवनहरू तोडफोड गरेका छन् ।


ADVERTISEMENT

# # #


सीएनएनका अनुसार क्यालिफोर्निया, कोलोराडो, फ्लोरिडा, जर्जिया, इलिनोय, केन्टुकी. मिनेसोटा, न्युयोर्क, ओहायो, ओरेगन, पेन्सिल्भानिया, साउथ क्यारोलिना, टेनेसी, युटा, वासिङटन र विस्कन्सिन राज्यका २५ सहरमा कर्फ्यु लगाइएको हो ।

एक प्रहरी अधिकारीको ज्यादतीका कारण अफ्रिकी मूलका जर्ज फ्लोइडको ज्यान गएपछि त्यसको विरोधमा अमेरिकाका विभिन्न सहरमा विरोध प्रदर्शन गरिएको हो । सामाजिक सञ्जालमा भाइरस बनेको एक भिडियोमा एक प्रहरी अधिकारीले फ्लोइडको घाँटीमा घुँडा टेकेको देखिन्छ । फ्लोइडले आफूलाई सास फेर्न गाह्रो भएको बताएका समेत भिडियोमा सुन्न सकिन्छ ।