काठमाडौं –  नेपालमा कोरोना भाइरस (कोभिड–१९)का कारण थप एकजनाको ज्यान गएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका-१ का २८ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार  गत जेठ ८ गते भारतबाट आएका उनी स्थानीय क्वारेन्टिनमा १४ दिन बसेका थिए ।क्वारेन्टिनमा रहँदा कुनै पनि लक्षण नदेखिएको र आरडीटी चेक गर्दा नेगेटिभ आएपछि घर पठाइएको थियो ।


ADVERTISEMENT

# # #


उनको घर गएकै दिन मृत्यु भएको थियो । मृत्युलगत्तै उनको स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको थियो । त्यहाँ कोरोना पोजेटिभ आएको प्रवक्ता डा. देवकोटाले जनाए । । यससँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

यसअघि सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा, गुल्मीका ४१ वर्षीय पुरुष, बाराका ७० वर्षीय पुरुष, दैलेखका ३५ वर्षीय पुरुष, ललितपुरका ५६ वर्षीय पुरुष, अर्घाखाँचीका ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका ७६ वर्षीया पुरुष, पाल्पाका ४५ वर्षीय पुरुषले कोरोनाका कारण ज्यान गुमाएका थिए ।

नेपालमा कोरोना संक्रमितको संख्या २९१२ पुगेको छ । जसमध्ये ६८ जिल्लाका पुरुष २७१७ र महिला १९५ जना रहेका छन् । आजै थप २७८ जनामा कोरोना पुष्टि भएको छ । कुल संक्रमितमध्ये ३३३  उपचारपछि निको भएर घर फर्किएका छन्  ।

(शुक्रबार ५ बजे अद्यावधिक गरिएको)