काठमाडौँ – कर्णाली प्रदेशका जाजरकोट र डोल्पा जिल्लामा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन् । डोल्पाको जगदुल्ला गाउँपालिका वडा नं. ३ का ५८ वर्षीय पुरुषको मृत्यु पश्चात कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा (शुक्रबार) कोरोना रिर्पोट पोजेटिभ आएको हो ।


ADVERTISEMENT

# # #


यस्तै सुर्खेतस्थित प्रादेशिक अस्पताल र पशुजन्य रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा जाजरकोटको भेरि नगरपालिका र बाह्रेकोट गाउँपालिकाका ३३ वर्षीय एक जना महिला र १९ देखि ५२ वर्षका ३ पुरुष गरी ४ जनामा कोरोना देखिएको छ ।

देशभरका ७० जिल्लामा फैलियो संक्रमण

जाजरकोट र डोल्पामा पहिलो पटक पुष्टि भएसँगै देशका सातवटै प्रदेशका ७७ मध्ये ७० जिल्लामा कोरोना संक्रमण फैलिएको छ । प्रादेशिक विवरण अनुसार प्रदेश नं. २ मा सबैभन्दा बढी संक्रमित रहेका छन् भने गण्डकी प्रदेशमा सबैभन्दा कम संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश नं. १ का १२ जिल्लामा संक्रमण फैलिँदा २४९ जनामा कोरोना पुष्टि भएको छ । यस्तै प्रदेश नं. २ का सबै (८) जिल्लाका १०७७ जना (एकको मृत्यु), बाग्मती प्रदेशका १२ जिल्लामा ९० जना (तीनको मृत्यु), गण्डकी प्रदेशका ९ जिल्लामा ७३ जना, प्रदेश नं. ५ का ११ जिल्लामा १०६१ जना (चारको मृत्यु), कर्णाली प्रदेश ९ जिल्लामा ५७९ जना (तीनको मृत्यु) र सुदूरपश्चिम प्रदेशका सबै (९) जिल्लामा १०६ जना (दुईको मृत्यु) संक्रमित रहेका छन् ।

यसरी नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुगेको छ । जसमध्ये ६८ जिल्लाका पुरुष २७१७ र महिला १९५ जना रहेका छन् । आजै थप ३२३ जनामा कोरोना पुष्टि भएको छ ।

कुल संक्रमितमध्ये ३६५ उपचारपछि निको भएर घर फर्किएका छन् भने १२ जनाको मृत्यु भएको छ । शनिबार मात्रै डोल्पाका एक पुरुष  धनगढीकी एक महिलाको मृत्युपछि कोरोना पुष्टि भएको थियो ।