काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण थप एकजनाको ज्यान गएको छ । कैलालीको धनगढी उपमहानगरपालिका-४ की ५५ वर्षीय महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मिर्गौला रोगी उनी डायलासिस गरिरहेकी थिइन् । जेठ २३ गते (हिजो) डायलासिसका लागि सेती प्रादेशिक अस्पताल आएकी उनको दिउँसो डायलासिस गर्दै गर्दा मृत्यु भएको थियो ।


ADVERTISEMENT

# # #


कोरोनाका अन्य लक्षण नदेखिएपनि उनको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रिर्पोट पोजेटिभ आएको प्रवक्ता डा. देवकोटाले बताए ।

यससँगै नेपालमा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । आजै डोल्पामा जेठ गते २१ गते मृत्यु भएका ५८ वर्षीय पुरुषको रिर्पोट पनि पोजेटिभ आएको थियो ।

यसअघि सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा, गुल्मीका ४१ वर्षीय पुरुष, बाराका ७० वर्षीय पुरुष, दैलेखका ३५ वर्षीय पुरुष, ललितपुरका ५६ वर्षीय पुरुष, अर्घाखाँचीका ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका ७६ वर्षीया पुरुष, पाल्पाका ४५ वर्षीय पुरुष, सुर्खेतका २८ वर्षीय पुरुषले कोरोनाका कारण ज्यान गुमाएका थिए ।

आजसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुगेको छ । जसमध्ये ३६५ जना उपचारपछि निको भएका छन् भने बाँकी संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आज मात्रै ३२३ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।