काठमाडौँ – कोभिड–१९ को सङ्क्रमण बढिरहेको समयमा यहाँ रहेको चितवन मेडिकल कलेजले स्थापना गरेको पीसीआर परीक्षण प्रयोगशाला सरकारलाई दिन तयार रहेको जनाएको छ । एक वर्षदेखि काम थालेर हाल प्रयोगशाला सञ्चालनको तयारी अवस्थामा पुगेको छ ।


ADVERTISEMENT


कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले आफूहरुसँग जनशक्ति र प्रयोगशाला तयारी भएको भन्दै सरकारलाई दिन तयार रहेको पत्र दिइसकेको बताए । उनका अनुसार केही दिनअघि स्वास्थ्य मन्त्रालयलाई कलेजले प्रयोगशाला दिन तयार रहेको पत्र पठाएको छ । कलेजमा प्रयोगशालामा काम गर्नसक्ने सातजना अनुभवी जनशक्ति रहेका छन् । कलेजका जनशक्तिले भरतपुर कोभिड–१९ प्रयोगशाला शुरुआतीमा काम गरेका थिए ।


ADVERTISEMENT

# # #


हाल पनि कलेजकै दुईजना जनशक्ति प्रयोगशालामा रहेका छन् । न्यौपानेले अहिलेको सङ्कटको समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै सरकारलाई सहयोग गर्ने प्रस्ताव आफूले गरेको जानकारी दिए । कलेजले अनुमति पाएमा परीक्षण गर्न सक्ने भए पनि सरकारी तवरबाटै प्रयोगशाला सञ्चालन गर्न उपयुक्त हुने आफ्नो सुझाव रहेको उनले बताए ।

यस प्रयोगशालामा दैनिक दुई सयभन्दा बढी नमूनाको परीक्षण गर्न सकिने उनको भनाइ छ । त्यहाँ लाग्ने खर्च सरकारी तवरबाट गरेर काम गरेमा अहिले पालो कुरेर राखिएका नमूनाहरुको समयमा परीक्षण गर्न सकिने देखिएको छ । भरतपुर कोभिड–१९ प्रयोगशाला स्थापनामा न्यौपानेको सक्रिय भूमिका रहेको थियो । उनले तत्कालीन समयमा पनि मेडिकल कलेजमा प्रयोगशालाका लागि ठाउँ दिन तयार रहेका जनाएका थिए ।

हाल भरतपुर अस्पतालले सञ्चालन गरेको प्रयोगशालामा चितवन, मकवानपुर, नवलपुर र कपिलवस्तुका नमूना परीक्षण भइरहेको छ । यस मेडिकल कलेजले निजी क्षेत्रबाट कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । कोभिड क्लिनिकमा दैनिक पाँच-छ जना बिरामी हेर्दै आएको जनाएको छ । यहाँ सञ्चालनमा आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा २० वटा श्ययालगायतका उपकरण र जनशक्ति चितवन मेडिकल कलेजले सहयोग गरेको छ ।रासस