गोरखा – गोरखा नगरपालिका–९ वीरेन्द्रचोक क्षेत्रमा विश्वमा अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक फेला परेको छ । स्थानीयवासी होमप्रसाद रेग्मीको घरमा बयस्क सो सालक फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए ।


ADVERTISEMENT


फेला परेकोे उक्त सालकलाई वन कार्यालयबाट गएको टोलीले उद्धार गरेको उनले बताए । “शनिबार फेला परेको सालक तामे सालक हो, यसलाई पमासमेत भनेर चिन्ने गरिन्छ”, उनले भने । सालकको आहारा कमिला तथा धमिरालगायतका किरा भएकाले उक्त सालक आहारको खोजीमा निस्किएको हुनसक्ने उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


यसको अवैध सिकारसमेत हुने गरेको छ । सालकलाई मासु र त्यसको खपटाबाट क्यान्सर तथा दमको रोग निको हुने विश्वास गरिने भएकाले त्यसको बढी सिकार गर्ने गरेको बताइन्छ । यस प्रकारको प्रजाति समुद्र सतहदेखि एक हजारदेखि दुई हजार २०० मिटरसम्मको उचाइमा पाइने उनले जानकारी दिए । उद्वार गरिएको सालकलाई गोरखा नगरपालिकाको देउरालीमा रहेको राजदेवी सामुदायिक वनमा छाडिएको उनले बताए ।

यसअघि यही जेठ ५ गते पनि जिल्लाको पालुङटार नगरपालिका वडा नं १० मिरकोट रहेको स्थानीय देउराली सामुदायिक वनमा मृतावस्थामा तामे सालक फेला परेको थियो । विश्वमा पाइने आठ जातिका सालकमध्ये नेपालमा कालो सालक (अतिसङ्कटापन्न) र तामे सालक (लोपोन्मुख) गरी दुई जातिका सालक पाइने उनको भनाइ छ । रासस