सोल — उत्तर कोरियाले सीमावर्ती सहरमा रहेको संयुक्त कार्यालय बम हानेर ध्वस्त पारेको छ । गेसङमा रहेको संयुक्त सम्पर्क कार्यालय उत्तर र दक्षिण कोरिया मिलेर निर्माण गरेका थिए । उत्तर कोरियाली सेनाले दुई देशलाई विभाजन गर्ने गैरसैनिक क्षेत्र (डीएमजी) प्रवेश गर्न तयार भएको चेतावनी दिएको केही घण्टापछि कार्यालय ध्वस्त पारिएको हो ।


ADVERTISEMENT


दक्षिण कोरियाले पनि संयुक्त सम्पर्क कार्यालय ध्वस्त भएको पुष्टि गरेको छ । उसले उत्तर कोरियाको गेसङमा बाक्लो धुवाँको मुस्लो निस्किएको तस्बिर समेत सार्वजनिक गरेको छ । गैरसैनिक क्षेत्र सन् १९५० को दशकमा भएको कोरियाली युद्धपछि कायम गरिएको दुई देशीय सीमारेखा हो ।


ADVERTISEMENT

# # #


दुई देशबीच संवादका लागि सन् २०१८ मा स्थापना गरिएको कार्यालय उत्तर कोरियाली भूमिमा रहेको थियो । कोरोना भाइरस (कोभिड–१९) का कारण प्रतिबन्ध लगाइएपछि उक्त कार्यालय जनवरीदेखि भने बन्द थियो ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले मंगलबार विकसित घटनाक्रमबारे प्रतिक्रिया व्यक्त गर्दै अमेरिकासँग मिलेर उत्तर कोरियाको सैन्य गतिविधि नियालिरहेको जनाएको छ ।

केही दिनअघि उत्तर कोरियाले डीएमजीमा सेना पठाउने चेतावनी दिएको थियो । केही समययता दुई देशबीच खासगरी बेलुनमार्फत सीमापारि पठाइने पर्चाका कारण तनाव चुलिएको छ । आफ्नो देशबाट भागेर दक्षिण कोरिया पुगेकाहरूले ठुल्ठूला बेलुनमार्फत प्रचार सामग्री पठाएपछि उत्तर कोरिया रुष्ट बनेको हो ।