सोलुखुम्बु – घर छाडेर हिँडेको करिब ३० वर्षपछि नेचासल्यान–३ का गोपाल नेपाली गाउँ फर्केका छन् । नेपाल रेडक्रस सोसाइटी र नेचासल्यान गाउँपालिकाको संयुक्त प्रयासमा करिब ५० वर्षीय नेपालीलाई गाउँ ल्याइएको हो ।


ADVERTISEMENT


विसं २०४७ तिर घर छाडेको बताउने नेपाली केही दिन अगाडि वीरगञ्ज आएपछि प्रहरीमार्फत त्यहाँको स्थानीय सरकारले क्वारेन्टिनमा राखेको थियो । क्वारेन्टिनमा रहेकाको पहिचान गर्ने क्रममा उनले सोलुखुम्बुको नेचा घर बताएका थिए । नेपाल रेडक्रस सोसाइटीको पारिवारिक सम्पर्क पुनःस्थापना केन्द्रमार्फत उनको स्थायी ठेगाना पहिचान शुरु गरिएको थियो । सामाजिक सञ्जालमार्फत उनको फोटो पोष्ट गरेपछि पहिचान भएको र १४ दिन वीरगञ्जको क्वारेन्टिनमा बसेका नेपालीलाई जन्मस्थल नेचा ल्याइएको गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोलाले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी उपशाखा नेचाका सभापति रोहित बाँस्तोलासहितको टोलीले उनको उद्धार गरी जिल्ला ल्याएपछि मङ्गलबार गाउँपालिकाको जिम्मा लगाइएको छ ।


ADVERTISEMENT

# # #


गाउँपालिकाको क्वारेन्टिनमा १४ दिन राखेपछि मात्रै परिवारको जिम्मा लगाइने गाउँपालिकाले जनाएको छ । उच्च जोखिमयुक्त क्षेत्रबाट आएका नेपालीको पिसीआर र आरडिटी रिपोर्ट नेगेटिभ आएपछि अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने गाउँपालिका अध्यक्ष बाँस्तोलाको भनाइ छ । गाउँघरका व्यक्तिमध्ये भुपाल किराँतीको नाम लिन सक्ने गोपाल नेपालीले लामो समयपछि गाउँ आउन पाएकामा खुशी व्यक्त गरे । उनले उद्धारमा खटिने नेपाल रेडक्रस र गाउँपालिकालाई धन्यवाद व्यक्त गरे । भारतको पञ्जाबमा खेतीकिसानी गर्दै आएको बताउने नेपाली अब नेपालमै बस्ने बताउँछन्।

यस्तै विसं २०७२ को महाभूकम्पको बेला सम्पर्कविहीन थुलुङदूधकोशी गाउँपालिका–५ जुबुका मीनबहादुर बस्नेत पनि परिवारको सम्पर्कमा आएका छन् । काठमाडौँ बस्दै आएका बस्नेत पाँच वर्षदेखि सम्पर्कविहीन भएको उनका भाइ धिरेन्द्रले बताए । “कोरोनाका कारण हाम्रो दाजु सम्पर्कमा आउनुभयो”, उनले भने, “काठमाडौँको नयाँ बसपार्क क्षेत्रको एक होटलमा बसेको छु भन्ने खबर आयो, अहिले फोन सम्पर्क भइरहेको छ ।” कोरोनाको कारण खर्चसमेत अभाव भएको र अस्वस्थ भएपछि परिवारको सम्पर्कमा आएको मीनबहादुरको भनाइ छ ।

लकडाउन खुलेर सहज वातावरण निर्माण भएपछि गाउँघर आउने उनले बताए । विवाह गरी बालबच्चासमेत भएका बस्नेत यो भन्दा अगाडि कहाँ कसरी बसेका थिए भन्नेबारे केही पनि खुलाउन चाहेनन् ।