काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता असाधारण रहेको दाबी दोहोर्‍याएका छन् ।


ADVERTISEMENT


बिहीबार राष्ट्रियसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले रोग प्रतिरोधात्माक क्षमता उच्च भएकै कारण कोरोनाबाट धेरैको ज्यान नगएको जिकिर गरे ।


ADVERTISEMENT

# # #


नेपालीमा रोग प्रतिरोधात्मक क्षमता धेरै राम्रो रहेको कुरा कारणसहित बताएको भन्दै उनले एकाध कमजोर मान्छेलाई मात्रै कोरोनाबाट खतरा हुने सम्भावना हुने बताए । ‘मैँले भन्दै आएको छु, नेपालीहरुमा असाधारण इम्यून सिस्टम (रोग प्रतिरोधात्मक क्षमता) छ ।’ उनले भने, ‘एकाध उस्तै कमजोर मान्छे, इम्यून कम भएका मान्छेहरुलाई मात्रै खतरा हुन सक्छ । नत्र भने साधारणतया नेपालीहरुमा जुन इम्यून सिस्टम छ, त्यसले लागिहाल्यो भने (कोरोना) लगिहाल्ने अवस्था छैन ।’

७ हजार बढी संक्रमित हुँदा २० जनाको मात्रै ज्यान गएको तथ्याङक पेश गर्दै उनले त्यसमा पनि अन्य रोगका कारण उनीहरुको ज्यान गएको दाबी गरे । ११६७ जना निको पारेर घर फकाईसकेको भन्दै उनले कोरोना लागे पनि निको हुन्छ भन्ने पुष्टि भएको बताए । ‘८१ वर्षको जेष्ठ नागरिक महिला निको भएर घर जानु भो । ६४ वर्षका उच्च रक्तचाप भएका बिरामीहरु दमका बिरामीहरु, अन्य विविध बिरामीहरु जसलाई गाह्रो पर्न सक्छ भनिएका बिरामीहरु पनि नेपालमा निको भएर आएँ भनिरहनु भएको भेटि राखेका छौँ ।’ प्रधानमन्त्री ओलीले फेरि दोहोर्‍याउँदै भने, ‘त्यसकारण नेपालीमा इम्यून सिस्टम धेरै बलियो छ ।’

‘बाढीको सामना गर्नुपर्‍यो’

प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढिरहेको भए पनि समुदायमा सङ्क्रमण नदेखिएको बताए । उनले क्षमता र तयारी भन्दा विदेशबाट आउनेको सङ्ख्या ठूलो हुँदा क्वारेन्टिनको व्यवस्थापन र परीक्षणमा अलमल देखिएको बताए । “हामीले देशभित्र वा बाहिरको फाट्टफुट्ट आगमनको सामना गर्नुपर्ने अवस्था रहेन, बाढीको जस्तो सामना गर्नुपर्‍यो”, प्रधानमन्त्रीले भने, “अरू देशमा बाहिरबाट आउने र समुदायमा फैलाउने समस्या देखियो भने हाम्रोमा बाहिरबाट आउने सङ्ख्या ठूलो भयो, तर समुदायमा त्यति धेरै सङ्क्रमण फैलन पाएन ।”

गत चैतदेखि जेठसम्म मुलुकभित्र झण्डै पौने तीन लाख नागरिक भित्रिएको जानकारी दिँदै उनले भारतबाट एकैचोटी ठूलो सङ्ख्या भित्रँदा व्यवस्थापनमा समस्या भएको बताए । “भारतबाट गत चैतमा १२ हजार ६५७, वैशाखमा ११ हजार ७४९ र जेठमा दुई लाख ४१ हजार ८६२ जना नेपाल भित्रिएका छन्”, उनले भने, “असारमा सो सङ्ख्या केही घटेको छ । १ गते एक हजार ४१०, २ गते चार हजार ८० र ३ गते दुई हजार १२ जनाको आवागमन भएको छ । बुधबारसम्म सात हजार ५०२ जना भारतबाट आएका छन् ।”

प्रधानमन्त्री ओलीले विदेशबाट आउनेको सङ्ख्या बढेसँगै सरकारले कोभिड–१९ परीक्षणको दायरालाई बढाउँदै लगेको जानकारी दिँदै परीक्षणलाई अनुकूल स्थितिमा क्षमता अभिवृद्धि गरिने बताए । “हामीले अधिकतम सात हजारसम्म परीक्षण गर्न सकेका छौँ, नत्र चार हजारदेखि चार हजार ५०० सम्म परीक्षण भइरहेको छ”, उनले भने, “परीक्षणमा लामो समय प्रतीक्षा गर्नु नपरोस् भन्नेमा ध्यान दिएका छौँ ।”

क्वारेन्टिनमा बस्नेको सुरक्षा, खानपिन र बस्ने तथा परीक्षणको प्रबन्ध मिलाउनु चुनौतीपूर्ण रहेको बताउँदै उहाँले यसको प्रबन्ध मिलाउने स्थानीय तहका पदाधिकारीलाई धन्यवाद दिए । “बाहिरबाट भन्नलाई धेरै सजिलो छ, तर ती चिजको व्यवस्था स्थानीय तहमा गर्न सजिलो छैन । हामी अनुमान गर्न सक्छौँ, जेठमा झण्डै अढाइ लाख प्रवेश गरे भने कसरी व्यवस्थापन गर्‍यौँ होला ?”, उनले भने ।

विश्वको कुनै पनि मुलुक कोभिड–१९ को प्रतिक्षा गरेर नबसेको, पछिल्ला छ महिनामा भयानक ढङ्गले आएको र लाखौँ मान्छेलाई मृत्युवरण गर्न बाध्य बनाएको प्रधानमन्त्रीको भनाइ थियो । “कोरोनाबाट लड्ने तयारीका साथ कोही बसेको थिएन, सङ्क्रमणले विश्वव्यापी रुप लिएसँगै हामीले राम्रो तयारी गरेका थियौँ, त्यसैले हाम्रोमा अरू कुनै कारणले होइन, हाम्रै कारणले सङ्क्रमितको सङ्ख्या कम छ ।”