काठमाडौँ – सउदी अरबले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणमा राख्न इस्लाम धर्मावलम्बीहरूको महान धार्मिक यात्रा ‘हज’का लागि अन्तर्राष्ट्रिय श्रद्धालुको प्रवेशमा रोक लगाएको छ । सउदी अरबको सरकारी मिडियाले सोमबार सरकारी अधिकारीलाई उद्धृत गर्दै निर्णय सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


सउदी अरबमा रहेका सीमित श्रद्धालुलाई मात्रै हजका लागि मक्का पुग्न दिइनेछन् । हज पूर्णरुपमा नै रद्द हुनसक्ने आँकलनबीच सउदी सरकारले यसप्रकारको निर्णय गरेको हो । वार्षिक धार्मिक उत्सवमा सहभागी हुन करिब २० लाखभन्दा बढी श्रद्धालु पवित्र शहर मक्का र मदिना पुग्ने अनुमान गरिएको थियो ।


ADVERTISEMENT

# # #


विश्वका इस्लाम धर्मावलम्बीले जीवन अवधिमा कम्तीमा एकपटक इस्लाम समुदायको पवित्र शहर सउदी अरबको मक्का र मदिना पुग्ने इच्छाएका हुन्छन् । तर सउदी सरकारले जुनसुकै देशका नागरिक भए पनि सउदीमा उपस्थित हुने श्रद्धालुलाई मात्रै मक्का र मदिनाको प्रवेश दिइने निर्णय गरेको छ ।

सउदी अधिकारीहरूले भने उपस्थित श्रद्धालुलाई पनि सामाजिक दूरी कायम गर्न विशेष व्यवस्था गरिने जनाएका छन् । सउदी अरबमा एक लाख ६१ हजार पाँच जना कोरोनाका सङ्क्रमित छन् । एक हजार ३०७ जनाको मृत्यु भएको छ । गत साता मात्रै देशव्यापी लकडाउन खुला गरिएको छ ।