जनकपुर —लगातारको झरीले प्रदेश २ का ठूला नदीमा पानीको बहाव बढेको छ । पहाडी क्षेत्रमा पनि वर्षा नरोकिएकाले प्रदेश २ का आठै जिल्ला डुबानमा परेका छन् । सम्भावित जोखिमलाई मध्यनजर गर्दै मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायका प्रमुखलाई शुक्रबार उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् ।


ADVERTISEMENT


रौतहट, सर्लाही, महोत्तरी र सप्तरी बाढीको उच्च जोखिममा छन् । सशस्त्र प्रहरीका प्रदेश २ प्रमुख डीआईजी राजु अर्यालका अनुसार जोखिम क्षेत्रमा सतर्कता अपनाउन उद्धारसहितको छुट्टै टिम पनि परिचालन गरिएको छ । ‘बढी जोखिम क्षेत्र नजिकका पोस्टलाई अलर्टमा राखिएको छ,’ उनले भने, ‘पोहोर जहाँ बढी क्षति पुर्‍यायो, त्यहाँ बढी फोकस गरेर रणनीति बनाइएको छ ।’ गत वर्ष असारको अन्तिम साताको वर्षाले प्रदेश २ का सबै जिल्ला प्रभावित बनेका थिए । तटबन्ध भत्काउँदै बाढी बस्तीमा छिरेपछि जनधनको ठूलो क्षति भएको थियो । प्रदेशका ठूला नदी कमला, वाग्मती, बकैया, रातु, खाँडो र लखनदेहीमा पानीको बहाव तीव्र बनेको छ । प्रदेश १ र २ को सीमाबाट बग्ने कोसी नदी पनि पानीको बहाव बढेको छ  ।


ADVERTISEMENT

# # #