काठमाडौँ, फागुन २४ । सप्तरीको राजविराजमा सोमबार भएको झडपमा आफूले नभइ सशस्त्र प्रहरीले गोली चलाएको प्रारम्भीक जानकारी नेपाल प्रहरीले प्रधानमन्त्रीलाई गराएको छ। बालुवाटार स्रोतका अनुसार राजविराजमा तीन जनाको ज्यान जाने गरी भएको प्रहरी फायरिङ आफ्नो संगठनले नखोलेको र त्यसको थप अध्ययन भइरहेको नेपाल प्रहरीले जानकारी गराएको हो।


ADVERTISEMENT


प्रहरी प्रधान कार्यालय स्रोतले पनि फायरिङ नेपाल प्रहरीले नभई सशस्त्र प्रहरीले खोलेको रिपोर्टिङ फिल्डबाट आएको बताएको छ।‘फिल्डको विस्तृत घटना प्रतिवेदन आज साँझसम्ममा आइपुग्छ। त्यसपछि घटना के कसरी भएको हो हामी यकिनका साथ भन्न सक्छौ,’ नेपाल प्रहरी स्रोतले भन्यो।
राजविराज घटनाबारे छलफल गर्न प्रधानमन्त्रीले गृहमन्त्रीसहित सप्तरीका सिडियो र एसपीलाई बोलाइसकेका छन्।
झडपपछि बोल्दै सप्तरी सिडिओ उद्धवराज तिमल्सिनाले स्थिती नियन्त्रण बाहिर गएपछि गोली चलाउनु परेको बताएका थिए।


ADVERTISEMENT

# # #


‘प्रहरीले बारम्बार सम्झाउँदा समेत नमानेपछि अश्रुग्यास प्रहार गरेको थियो। अश्रुग्यासले पनि नमानेपछि हवाइ फायरिङ गरेको थियो। हवाइ फायरिङ गरेलगत्तै मोर्चाका कार्यकर्ताले पेट्रोल बम हानेपछि बाध्य भएर रक्षाका लागि प्रहरीले गोली चलाएको हो,’ तिमल्सिनाले भने, ‘सुरक्षा निकायले निकै संयमता अपनाउँदा समेत समेत मोर्चाका कार्यकर्ता नियन्त्रण बाहिर जान थालेपछि नहुनु पर्ने घटना घट्यो।’
गोली चलाउनुपर्‍यो भने त्यसको आदेश गृहमन्त्रालयसँग सिडियोले नै माग्छन् र फिल्डमा गोली चलाउने आदेश सिडियोले दिने हो।

सोमबार पनि सिडिओ तिम्सिनाले कैलालीमा रहेका गृहमन्त्री बिमलेन्द्र निधिलाई फोन गरेर स्थिति नियन्त्रणबाहिर जान लागेकोले गोली चलाउने आदेश मागेका थिए। गृहमन्त्री निधिले भरसक अन्य उपाय अपनाउने र अन्तिममा चलाउनै पर्‍यो भने घुँडा मुनी मात्र गोली हान्ने आदेश दिएको गृह स्रोतले जनायो।