काठमाडौँ, फागुन २४ । मधेशी मोर्चा आवद्ध दलका कार्यकर्ताले सिरहाको लहानस्थित एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।


ADVERTISEMENT


लहानको मुख्य चोकमा रहेको एमाले सिरहा क्षेत्र नं. १ को क्षेत्रीय समिति र लहान नगर समितिको संयुक्त कार्यालयमा मोर्चा कार्यकर्ताले आगजनी गरेका हुन् । विहान ११ बजेतिर मोर्चाका कार्यकर्ताहरुले पार्टी कार्यालयबाट कागजपत्र, फर्निचर लगायत सामान सडकमा निकालेर आगजनी गरेको हाम्रा सहकर्मीले जनाएका छन् । आगजनीबाट कागजपत्र, फर्निचर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


यसैबीच, प्रदर्शनकारीले सप्तरीको राजविराजमा राष्ट्रिय मानवअधिकार आयोग जनकपुर क्षेत्रिय कार्यालयको गाडीमाथि तोडफोड गरेका छन् । सप्तरीमा तीन जनाको ज्यान जाने गरी हिजो भएको घटनाको अनुगमनका लागि राजविराज पुगेको आयोग पदाधिकारी सवार गाडीमा तोडफोड भएको हो । जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि बा ७ प ७४७३ नम्बरको आयोगको गाडी माथि उनीहरुले घटनाको निश्पक्ष अनुगमन नगरेको भन्दै ढुंगा प्रहार गरेका थिए ।

ढुंगा लागेर गाडीको सिसा फुटेको छ । टोली सदस्यहरु चिरञ्जिवी कोईराला, पवन भण्डारी, नवल किशोर सिंह र चालक श्रीराम कार्कीलाई भने प्रहरीले जिल्ला अदालत परिषरमा राखेको छ ।

आक्रोसित भिडले राजविराज नगरपालिकाको कार्यालय र नेपाल टेलिकमको कार्यालयमा समेत ढुङामुढा गरेका छन् ।