काठमाडौँ – आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना अन्य शैक्षिक परीक्षा सञ्चालन गर्न पाइने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
मन्त्री खतिवडाका अनुसार सुरक्षित किसिमले प्रविधिको प्रयोग गरेर भर्ना लिन र परीक्षाको नतिजा निकाल्न सकिनेछ । मंगलबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सुरक्षित ढंगले भर्ना लिने, अर्को विद्यालयमा जाने, खासगरी कक्षा १० पछिको विद्यालय फेर्नुपर्ने अवस्थामा सुरक्षित ढंगले प्रविधिको प्रयोग गरेर भर्नाको प्रक्रिया अघि बढाउन सकिने, परीक्षाहरुको नतिजा निकाल्न सकिने व्यवस्था हुन्छ ।’
सम्बन्धित समाचार
आज रातीदेखि लकडाउन हट्दै, यी सेवा भने अझै बन्द हुनेछन्
भर्ना र परीक्षा लिए पनि शैक्षिक संस्था, ट्यूसन सेन्टर भने बन्द नै रहने छन् । सरकारले कोरोनाको जोखिमको मूल्याङ्कन दैनिक रुपमा गरिराखेको भन्दै उनले थप संक्रमण नबढेमा भदौ १ गते अघिको मन्त्रिपरिषद्को बैठक मार्फत पठन पाठनसम्बन्धि निर्णय गर्न सक्ने बताए ।
शैक्षिकशत्र बिग्रिन नदिनका अनलाइन लगायतका अन्य वैकल्पिक विधिबाट गरिने पढाईलाई पनि प्राथमिकता दिइएकाले शिक्षा मन्त्रालयले यससम्बन्धी थप गृहकार्य गर्नसक्नेछ ।