नरेश केसी/कमल रायमाझी, लुम्बिनी – उमेरले ७३ औँ वसन्त पार गरे पनि जोस र जाँगरमा कुनै कमी छैन । हरेक विहान चार बजे उठेदेखि उनको दिनचर्या निकै सक्रिय हुन्छ रातको साढे ९ बजेसम्म ।

कुनैबेला रोगले थलिएर गलेका कपिलवस्तुका मेघराज ज्ञवालीले आफ्नो यो सक्रियताको भित्री रहस्य विपश्यना ध्यान हो भन्छन् । विसं २०२० देखि नेपाली राजनीतिमा लागेका ज्ञवालीलाई आफ्नो सक्रियता विपश्यनाका कारण सम्भव भएको लाग्दछ । ज्ञवाली भन्छन् –“पार्टीमा पनि खासै जिम्मेवारी नभएकोले मनको उपचारमै लागेको छु ।”


ADVERTISEMENT

# # #


विसं २०६४ मा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्यमा तत्कालीन नेकपा माओवादीबाट उम्मेदवार ज्ञवाली विसं २०५७ देखि माओवादी जनयुद्धमा होमिए। जनयुद्धको क्रममा भोकभोकै गाउँगाउँमा पुग्दा उनलाई रोगले च्याप्दै लगेको थियो । तर उनले यो अप्ठेरो पार्टीमा कहिल्यै देखाएनन् ।

उनी भन्छन्– “त्यतिबेला रोगभन्दा क्रान्ति ठूलो लाग्थ्यो । त्यसैले वास्तै गरिएन । तर पार्टीको चुनबाङ बैठकपछि पार्टीले बाटो बिराएजस्तो लाग्यो । क्रान्ति गलत दिशामा हिँड्न थालेको अनुभूति भएपछि म मनमनै कमजोर भएझैँ भएँ । रोगले च्यापेझैँ लाग्यो अनि प्रचन्ड कामरेडलाई जुम्लामा भेटेर उपचारका लागि भारत लागेँ ।”

त्यतिबेलादेखि बिरामी भएका ज्ञवालीलाई उपचारका लागि नेपाल र भारतका विभिन्न अस्पताल र ठाउँ चाहार्दा पनि निको भएन । त्यसपछि उनले लुम्बिनी आएर विपश्यना गर्न थालेको बताउँछन् । पहिलो पटक लुम्बिनीमा विपश्यना शिविरमा जाँदा जति दुःख भए पनि शिविर भने नछाडेको उनी बताउँछन् । त्यो बेलाको शिविरको स्मरण गर्दै उनी भन्छन्–“आठौँ दिनमा त अचम्मै भयो । अन्तरमनदेखि शक्ति आएझैँ भयो । त्यसपछि नवौँ र दसौँ दिन आनन्दले गरेँ । त्यसपछि नियमित आइरहेको छु ।” विपश्यना गर्दा शुरुमा निकै गाह्रो भएको अनुभव उनले यसरी सुनाए ।

जीवनको लामो समय माक्र्सवादी शिक्षाको व्याख्या, विश्लेषण र चिन्तन गरेका ज्ञवाली अहिलेसम्म ४५, ३०, २०, १० र नौ दिनका विपश्यना ध्यान शिविरमा बसेका छन् । कुनै बेला शरीर शिथिल भएर उठ्न बस्न समेत नसक्ने अवस्थामा पुगेको र कैयौँ पटक औषधी उपचार गर्दा पनि निको नभएको तर यहाँ आएपछि अहिले सबै समस्या हटेको उनी बताउँछन् ।

नवलपरासीका रामप्रसाद पाण्डे मानासिक रोगको गहिरो असरबाट मुक्ति विपश्यना ध्यानबाट पाएको बताउनुहुन्छ । उहाँमा कुनैबेला डिप्रेशनको ठूलो समस्या थियो । त्यससँगै धेरै ठाउँमा औषधी उपचार गर्दा पनि समस्या जहाँको त्यहीँ रहेपछि अन्ततः विपश्यनामा लागेको बताउँछन् । उनले भने–“ विपश्यनामा लागेपछि सबै रोगबाट मुक्त भएको महसुस भएको छ, अहिले पूर्ण स्वस्थ छु । कुनै औषधी सेवन गर्नुपरेको छैन ।”

निजी विद्यालयहरुको संस्था प्याब्सन प्रदेश नम्बर ५ का अध्यक्ष पाण्डेले अध्यात्मिक, मानासिक र शारीरिक लाभका लागि विपश्यना ध्यान सबैभन्दा उपयोगी भएको बताउँछन् । उनी भन्छन्, “विपश्यना ध्यानमा किशोर उमेर समूहका लागि राखियो भने त्यो अझै प्रभावकारी हुन्छ । किनकी उनिहरु सांसारिक मोहमा फसेका हुदैनन । पञ्चशील पालना गर्न सहज हुन्छ । यसले ध्यान अझै प्रभावकारी हुन्छ ।”

अर्घाखाँचीका प्रकाश पाण्डे पहिलोपटक विपश्यना ध्यानमा जादा जुन ज्ञान थियो यतिबेला दस दिने तीन वटा शिविरमा सहभागी हुँदा झन बढेर गएको बताउँछन् । उनी भन्छन्– “म अरुको अगाडि गएर आफ्ना कुरा राख्न पनि अप्ठेरो मान्थेँ, तर अहिले ढुक्कसँग तार्किक रुपमा कुरा राख्छु । मेरो व्यवहार परिवर्तन भएको छ । दैनिक जीवनमा आउने विभिन्न समस्यासँग जुध्न कुनै अफ्ठयारो लाग्दैन ।”

यही साउनको एक देखि १० गते सम्म सम्पन्न भएको शिविरमा सहभागी रुपन्देही नयाँमिलकी राधादेवी गौडेलले मन प्रफुल्ल भएको बताइन् । उनी पहिलो पटक पहिलो शिविरमा बस्दा नै अत्यधिक खुशीले मन हल्का भएको बताउँिछन्। गौडेलझैँ बुटवलको एभरेष्ट बोर्डिङ स्कुलमा कक्षा ११ मा अध्ययनरत साइमन क्षेत्रीले पनि दश दिने शिविर पूरा गरेका छन् । उनले आफ्नी दिदीले यसअघि शीविर बसेर गएपछि यहाँ पठाएको बताउए । “शुरुका केही दिन धेरै गाह्रो भयो तर, पछि दुःख नै भए पनि आँखा चिम्लेर दस दिनसम्म कसैसँग नबोली बसेँ”– उनले भने–“म धेरै चकचके मान्छे, मन चञ्चल भइरहन्थ्यो तर अहिले त मन स्थिर भएको अनुभुति भइरहेको छ ।”

जीवन मूल्यवान छ, दुर्लभ जीवनको मूल्य कसरी बोध गर्ने, दुर्लभता कसरी निकाल्ने भन्ने विषयमा तठस्थतामा (समथा) चित्त लगाइ राख्न विपश्यना ध्यान उपयोगी हुने लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राध्यापनरत भिक्षु सिरि वजिरले बताए । उनले भने, “चित्त शुद्धि गराउदै आफू पनि खुशी हुने र अरुलाई पनि खुशी बनाउने माध्ययम नै विपश्यान ध्यान हो ।”

लुम्बिनीस्थित धम्म जननीमा हालसम्म २ सय ९५ वटा शिविर सम्पन्न भएका छन् । उक्त शिविरमा १२ हजारभन्दा बढी व्यक्ति ध्यानमा सहभागी भएको धम्म जननीका व्यवस्थापक पिताम्बर सुवेदीले बताए । लुम्बिनी विकास कोषको परिषरभित्र रहेको धम्म जननीमा सञ्चालित विपश्यना शिविरमा सतिपठ्ठान शिविर, एक्ज्युकिटिभ शिविर पनि सञ्चालनमा छन् । उक्त ठाउँमा १० दिने, २० दिने, ३० दिने, ४५ दिने र विशेष १० दिने शीविर सञ्चालन हुदै आएका छन् ।

के हो विपश्यना ध्यान ?

आधुनिकताको विकाससँगै मानिसमा शारीरिक भन्दा मानासिक तनाव बढी हुन थाल्यो । मानव जगतमा भिन्न प्रकारका मानसिक विचलनहरु आउन थाले । मान्छेहरु प्राचीन कालमा पनि ध्यान तपस्या गरेर आत्मशुद्धि गर्ने गर्दथे तर, आधुनिकताले ती कुराहरुलाई निरुत्साहित गर्दै लग्यो । फलतः पछिल्लो समय पुनः विभिन्न व्यक्तिहरुले धर्म, सम्प्रदाय र बादका विभिन्न नाममा ध्यान, स्तुति, कार्यशाला तथा शिविरहरु सञ्चालन गरिरहेका छन् ।

लुम्बिनी विपश्यना सेन्टर धम्म जननीका सचिव नारायण अग्रवालका अनुसार आफ्नो स्वभाविक श्वासको निरीक्षणबाट आरम्भ गरेर आफ्नो शरीर र चित्तवृत्तिमा प्रतिक्षण हुने परिवर्तनशील घटनाहरुलाई तटस्थभावले निरीक्षण गर्दै चित्तशोधन र सद्गुण बुद्धिको अभ्यास विपश्यना ध्यानमा गरिन्छ ।
अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थाविरले विपश्यना ध्यानले मानिसको चित्तलाई दमन गरी मनलाई एकाग्रता बनाउने हुदा सांसरिक जिवनमा हुने राग, द्धेष, मोहबाट मुक्त गराउन विपश्यना महत्वपूर्ण साबित भएको बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा विपश्यना विषयका अध्यापक सुमन्तराज न्यौपानेले विपश्यनाले आफूलाई चिन्न, आफुलाई हेरेर अनित्यको बोधगर्न र बस्तुनिष्ट सत्यताको विकास गर्न सहयोग पुराउने बताए ।

विपश्यना आत्मशुद्धिको साधना–विधि भएको लुम्बिनी विपश्यना सेन्टर धम्म जननीका आचार्य योगेन्द्र तुलाधारले बताउनुभयो । तुलाधारले भन्नुभयो, “दैनिक जीवनको समस्या र तनावग्रस्त चित्तलाई ग्रन्थिमुक्त गर्ने एक सक्रिय अभ्यास हो ।” गृहस्थहरुले पञ्चशील र भिक्षु भिक्षुणीहरुले अष्ठशीलको पालना गरेर गरिने विपश्यना अभ्यास गरिदा साधकहरु परस्परिक द्वेष द्रोहको दुर्गुणबाट मुक्त हुने, साम्प्रदायिकता र जातीयताको अहम्भावको बन्धनबाट मुक्त हुने र अन्तमा सृजनात्मक जीवन विताउने कलामा निपूर्ण हुने उनी बताउँछन् ।

विपश्यनाले दिमागलाई स्थिर राख्ने र शरीरका गतिविधिहरु हेर्ने भएकाले अहिले यसको प्रयोग आवश्यक छ । कायानुपस्सना (शरीरका लागि), वेद्नानुपस्सना(भावकालागि), चित्तानुपस्सना (चित्तकालागि), धम्मानुपस्सना (धर्म तथा विशेष प्रकारले देख्नका लागि) विपश्यना साधना गरिन्छ । यसको प्रयोग विपश्यना शिविरहरुमा विशेष प्रकारले विपश्यना गुरुहरुको मार्गनिर्देशनमा गरिने भए पनि घरमा हुँदा एकान्त स्थानमा आँखा बन्द गरी पलेटी कसेर बस्ने र आनापाना (सास लिने र फाल्ने) विधिले गर्न सकिन्छ । साथै शरीरलाई शिरदेखी पाउसम्म र पाउदेखि शिरसम्म आफै हेर्नेगर्नु पर्दछ । जसले मनलाई शान्त पार्दछ ।

विपश्यना साधना विधि र तालिका

गौतम बुद्धले प्रयोगमा ल्याएको तर पछिल्लो समय हराएको विपश्यना ध्यानलाई सत्यनारायण गोयन्का (एसएन गोयन्का)ले पुनः अभ्यासमा लिएर मानव जगतलाई अमूल्य उपहार दिएका छन् । यो विधिमा सहभागी हुनेले सबैभन्दा पहिले १० दिने शिविरमा भाग लिनुपर्दछ । गुरु शिष्य परम्परामा सञ्चालित विपश्यना साधनाका संसारका विभिन्न ठाउँमा भएका विभिन्न केन्द्रहरुको नियम सबै ठाउँमा एकै हुन्छ । यो विधिको पहिलो सहभागिता १० दिने शिविर हो ।

उक्त शिविरमा भाग लिन चाहने व्यक्ति (साधक/साधिका)ले पहिलो चरणमा केन्द्रभित्र पञ्चशील र अष्ठशीलमा रहनुपर्दछ । पञ्चशीलमा हिंसा नगर्ने, चोरी नगर्ने, परस्त्री गमन नगर्ने, झुठो नबोल्ने र नशालु पदार्थ सेवन नगर्ने पर्दछ । यसैगरी अष्ठशील भन्नाले पञ्चशीलका अतिरिक्त दिउसो १२ बजेपछि भोजन नगर्ने, श्रृंगार नगर्ने र मनोरञ्जन नगर्ने । उच्च आरामदायी आसन प्रयोग नगर्ने पर्दछ ।

यसरी पञ्चशील र अष्ठशील पालना पश्चात तीन दिन श्वासको अभ्यास (आनापाना) गराइन्छ । उक्त अभ्यासमा नाकबाट श्वास भित्र गएको, बाहिर निस्केको, नाकको प्वालबाट श्वास भित्र बाहिर गर्दा भएकोे अनुभूतिलाई एकाग्र मनले हेर्न र अनुभूति गर्न सिकाइन्छ । तीन दिनको उक्त अभ्यास पश्चात चौथो दिन साधक साधिकाहरुलाई आचार्यले विपश्यना दिने गर्दछन् । समताभाव वा साक्षीभावले शरीरको शिरदेखि पाउसम्म हुने समवेदनालाई निरीक्षण गर्ने र अनुभूति गर्नेगरी बाँकी १० दिनसम्म सिकाइन्छ । समताभाव वा तटस्थता भावले शरीरको हरेक अङ्गमा हुने समवेदनाको निरीक्षण, अनुभव नै विपश्यना साधना विधि हो ।

तेस्रो चरणमा एकाग्र मनको माध्यमबाट आफ्नो सम्पूर्ण शरीर एवं अन्तर्मनको गहिराइमा साक्षी भावद्वारा निरीक्षण गरिन्छ । यसैलाई विपश्यना साधना पद्धति भनिन्छ ।

प्रतिकृया

प्रतिकृया