चन्द्रकला भण्डारी, झापा – कन्काई नदीको बहाव २७ वर्षपछि गाउँतिर सोझिँदा शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकाका सात वटा गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । ‘बाढी आउँदा डुबाउला भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरुलाई सताउने गरेको छ ।


ADVERTISEMENT


स्थानीयवासी वषौंदेखि यो समस्यासँग जुध्दै आएका छन् । नदीजन्य पदार्थको अत्यधिक दोहनका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको बताउँछन् कन्काई नदीकै छेउमा घर र खेती भएका शिवसताक्षी नगरपालिका–७ का तेजबहादुर कुँवर । उनी भन्छन्, ‘‘नदी पूरै गाउँतिर सोझिएको छ, ढुक्कले निदाउन पनि सकिएको छैन ।’’


ADVERTISEMENT

# # #


इलामबाट आउने कन्काई नदी झापाको मध्यभागबाट बग्दछ । बर्खामा नदीले वर्षेनी धेरै मात्रामा जनधनको क्षति पुर्‍याउँदै आएको छ । बाढी आउँदा घरजग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रुपमा गर्दा कन्काईले हजारौंँ बासिन्दालाई घरबारविहीन बनाइसकेको छ ।

स्थानीयवासीका अनुसार यसपालि कन्काईको पूर्वीतटमा भइरहेको कटानले शिवसताक्षी र झापा गाउँपालिकामा धेरै क्षति पुर्‍याइरहेको छ । सत्ताइस वर्षपछि नदीको वहाब शिवसताक्षी–७ का रुदिला र लालपानी बस्तीतिर सोझिएको छ । तीन दिनदेखि भइरहेको तीव्र कटान रोकिएन भने अबको केही दिनमै रुदिला, लालपानी, पाङ्ग्रे, फुटानी, मदरगाछ र सिमलबाडीमा रहेका दशौं हजार बिघा उर्वर जमिन र सयौं घर रहेको बस्ती बगरमा परिणत हुनसक्ने त्रास उत्पन्न भएको छ ।

अहिले नै गङ्गाराम राई, शेरबहादुर इजम, राजेश सुब्बा, तारा भुजेलसहित एक दर्जन परिवारको धानखेत कटानले क्षति पुर्‍याइसकेको छ । उनीहरुको वर्षभरि खानका लागि अन्न फलाउने खेत बगर भएको छ । कटानले अरु दर्जनौँ किसानको खेतमा क्षति पुर्‍याउने क्रम रोकिएको छैन ।

कन्काईको पूर्वी तटमा करिब ८०० मिटर क्षेत्रमा कटान तीव्र बन्दै गएका कारण ६० घर तत्काल अन्यत्र सार्नुपर्ने अवस्था आइसकेको स्थानीयवासी बताउँछन् । खोला गाउँतिर कटान गर्दै सोझिएको जानकारी शिवसताक्षी नगरपालिकालाई गराइसकिएको स्थानीयवासी तेजबहादुर कुँवरले बताए । नगरपालिकाका वडा सदस्य चन्द्र सङ्ग्रौलाले मात्र कटान क्षेत्रको निरीक्षण गरेका छन् ।

नगरपालिकाका प्रवक्ता नवीन इजमले कटान कसरी रोक्ने भन्ने विषयमा नगरपालिका गम्भीर रहेको र यसका लागि जनताको तटबन्धन कार्यालयसँग समन्वय भइरहेको बताए । ‘‘तीन किलोमिटर दक्षिणमा कन्काईले बाँध फुटाएर ठूलो क्षति पुर्याएको हुँदा यहाँका बासिन्दा त्रसित हुनुभएको छ,’’ प्रवक्ता इजमले भने, ‘‘इञ्जिनीयरलाई लगेर केही दिनअघि कटानस्थल देखाएका थियौं, उहाँहरुले नदीको वहाब घटेपछि उपाय गर्ने बताउनुभएको छ ।’’ स्थानीयवासीले तत्काल नदी कटान रोक्ने उपायको माग स्थानीय सरकारसँग गरेका छन् ।