काठमाडौँ– राष्ट्रिय जनता पार्टीले स्थानीय तहको चुनावका लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


बिहीबार पार्टी कार्यालय बबरमहलमा अध्यक्ष मण्डलका नेताहरुले संयुक्त रुपमा घोषणा पत्र सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा अन्य पार्टीबारे राजपा नेपालको दृष्टिकोण पनि समावेश छ, जसमा एमाले भन्दा माओवादीप्रति बढी आक्रामक देखिएको छ । माओवादी केन्द्रले लोकतान्त्रिक प्रणालीमाथि विश्वास नगर्ने र शक्तिको बलमा सत्ता कब्जा गर्ने नीति लिएको भन्दै राजपा नेपालले भनेको छ, ‘अधिनायकवाद र सर्वसत्तावादमा विश्वास राख्ने हुनानले माओवादीको मूल चरित्र संघीयता विरोधी हो ।’


ADVERTISEMENT

# # #


मुलुकमा व्याप्त भ्रष्टाचार, असुरक्षा र अराजकता मुख्यरुपमा माओवादीकै कारण भएको उसको आरोप छ । रमेश महतोका साथै ५२ जनाको मधेसीको हत्यामा माओवादी कैन्द्र नै मुख्य जिम्मेवार भएको समेत राजपा नेपालको घोषणापत्रमा उल्लेख छ । राजपाको मुख्य शत्रु माओवादी केन्द्र हो भन्ने प्रश्नमा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, कसैलाई पनि मुख्य शत्रु भनेका छैनौं । हिजो तीन दलले मिलेर संविधान बनाएकै हुन् । तर, दुई दल संशोधनको पक्षमा आए र हामीले धन्यवाद भनेका छौं ।’

संविधान संशोधनको विपक्षमा उभिएका दलहरु भने मधेस विरोधी भएको उनले बताए । घोषणापत्रमा एमाले ढुलमुले चरित्र बोकेको पार्टी भएको र उसको नेतृत्व मधेस विरोधी भएको उल्लेख छ ।

साथै कांग्रेस भने संघीयता र समावेशी लोकतन्त्रप्रति प्रतिबद्ध नभएको उसले बताएको छ । राजपाले आफ्नो घोषणापत्रमा मधेस केन्द्रित दुई दल संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकमा व्यक्तिगत स्वार्थ हावी भएको र उनीहरुका कारण मधेस र मधेसीको बेइज्जत हुनुका साथै मधेस मुद्दा ओझेलमा परेको दाबी गरेको छ ।

एमाले अनुदार पार्टी

राजपाले नेकपा एमालेलाई संघीयता र समावेशीकरणको विरोधमा रहेको तथा मधेसप्रति एक अनुदार पार्टी भएको आरोप लगाएको छ । उसले घोषणा पत्रमा भनेको छ, “नेकपा एमाले संघीयता र समावेशीकरणका विरोधमा रहेको ढुलमुले चरित्र बोकेको मधेसप्रति अनुदार पार्टी हो । यसको नेतृत्व तहको संरचना हेर्ने हो भने यहाँ मात्रै शासक वर्गहरुको वर्चश्व भेटिन्छ । जो प्रखर मधेस विरोधी पनि छन् । यो पार्टी संघीयता विरोधी त हो नै, उत्पीडित बहिस्कृत समुदायको हक–अधिकारका लागि रत्तिभर संवेदनशीलता नभएको पार्टीका रुपमा पनि देखिने गरेको छ ।”

त्यसैगरी राजपाले हरेक क्षेत्रमा यी तीनै दलका चाटुकार हावी भएको बताएको छ ।

“हरेक ठाउँ र निकायमा यिनै तीन दलका अयोग्य, अक्षम, अनुभवहीन, चाटुकार भरौटेहरु भएकाले राज्यका यावत संयन्त्रहरु यिनकै स्वार्थपूर्तिका साधनमा सीमित भएका छन्,” घोषणापत्रमा भनिएको छ, “न त जनतालाई केही लाभ भएको छ, न त देशको कुनै क्षेत्रमा प्रगति हुन सकेको छ ।”

त्यसैगरी राजपाले संघीय समाजवादी फोरम नेपाल र फोरम लोकतान्त्रिक लगायतका पार्टीहरुका विगतका व्यक्तिगत निहीत स्वार्थले प्रेरित क्रियाकलापहरुबाट मधेस तथा मधेसीको बेइज्जत भएको घोषणापत्रमा उल्लेख छ ।