कोरोना भाइरस (कोभिड–१९)ले सिर्जना गरेको समस्या, मन्त्रालयका कामकारबाही, वर्तमान राजनीतिक परिदृश्य र भावी योजनाका बारेमा  उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड सँग हिमालय पोष्टले कुराकानी गरेको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश : 


ADVERTISEMENT


कोरोना महामारीकाबीच मन्त्रालयले कसरी कार्य सञ्चालन गरिरहेको छ ? आफ्नो कार्य अवधिलाई कसरी मूल्याङ्कन गरिरहनु भएको छ ?


ADVERTISEMENT

# # #


यो उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय भनेको मानवीय संवेदना र आर्थिक उन्नतीसँग, सरकारको कामकारबाहीसँग प्रत्यक्ष जोडिएको मन्त्रालय हो । मन्त्रीका रुपमा आएको झण्डै ९ महिना भयो । यो अवधिमा म सन्तुष्ट नै छु । हामीसँग काम गर्न आउने हाम्रा सेवाग्राहीहरु मुख्यगरी उद्योगी, व्यवसायीहरु, निजी क्षेत्रका व्यक्तिहरुले पनि पहिले यो मन्त्रालयबाट यो भन्दा सजिलो तरिकाले यति छिटो छरितो काम हुँदैनथ्यो भन्नुहुन्छ । हाम्रा कर्मचारीहरु सबै विज्ञ छन्, काम गर्न चाहन्छन् । तर, हामीले काम गर्ने शैली पहिलेको भन्दा अहिलेको फरक गर्न भनेका छौँ । उद्योगी व्यवसायीलाई पनि हामीले तपाईंहरु एउटै प्रणाली अनुसार आउनुहोस्, अनावश्यक कामका लागि मन्त्रालय नआउनुहोस् भनेका छौँ ।

अहिले मन्त्रालयले दिने सेवा सुविधामा अनावश्यक ढिलो हुने, बाधा अड्चन आउने कुरा भएको छैन । यसअघि हाम्रा केही संस्थान, विभागहरुमा केही गम्भीर समस्याहरु देखिएका थिए । जस्तै कम्पनी रजिस्टार्ड अलि बढी चर्चित विभाग थियो । गुणस्तर तथा नापतौल विभागमा पनि धेरै किसिमका विकृतिहरु देखिन्थे ।

अहिले उद्योग विभाग, वाणिज्य विभागमा पनि काम गर्ने शैलीमा धेरै परिवर्तन आएको छ । हामी खुसी छौँ कि हामी आएपछि हामी अन्तर्गतका जति पनि विभाग, कार्यालय, संस्थानहरु छन्, त्यहाँ काम गर्ने शैलीमा ठूलो परिवर्तन आएको छ र हाम्रा सेवाग्राहीहरु पनि सन्तुष्ट छन् । यसरी हाम्रो मन्त्रालयमा फरकपन ल्याउँदैछौँ ।

अहिलेको यो विषम परिस्थितिले गर्दा सवारीहरु पूर्णरुपमा चल्न सकिरहेका छैनन् । यस्तो अवस्थामा आपूर्ति व्यवस्थापन कसरी भइरहेको छ ?

कोरोनाका कारण मान्छेहरु घरमा बस्न बाध्य भएका छन् । यस्तो अवस्थामा उनीहरुलाई अत्यावश्यक वस्तुहरुको आपूर्ति गर्नु भनेको अत्यन्तै चुनौतिपूर्ण कुरा हो ।

यातायात छैन, हवाईजहाज चलिरहेको छैन, उद्योगधन्धा बन्द छन्, बाहिरबाट सामान आइरहेको छैन । यस्तो अवस्थामा पनि हामीले आजसम्म एक दिन पनि कुनै सामानको अभाव हुन दिएनौँ । यसलाई हामी एउटा उपलब्धीका रुपमा लिन्छौँ । यसअघिका संकटमा आपूर्ति सहज हुन्थेन ।

अहिले त्यो समस्या छैन भनेर हामीले सेवाग्राहीबाट नै प्रतिक्रिया पाइरहेका छौँ । अहिले मूल्य वृद्धि पनि भएको छैन । केहीले गलत मनसायबाट मूल्य वृद्धि गर्ने काम गरेका थिए । तर, तिनीहरुलाई हामीले तुरुन्तै कारबाही गर्‍यौँ । त्यसैले कालोबजारी पनि हाम्रो नियन्त्रणमा छ । देशभर संयम र गम्भीरतापूर्वक हामीले काम गरेकाले यसमा हामी सफल भएका छौँ । ‘भोको कोही बस्दैन, भोकले कोही मर्दैन’ भन्ने प्रधानमन्त्रीको अभियान अनुसार हाम्रै मन्त्रालयमार्फत राहत वितरणको काम देशभर नै व्यापक रुपमा गरेका छौँ । जुन अहिले पनि जारी छ ।

कोरोना महामारीको असर उद्योग, कलकारखाना क्षेत्रहरुमा अत्याधिक परेको छ । यसलाईं सम्बोधन गर्न मन्त्रालयबाट कस्ता योजनाहरु आउँदैछन् ?

अहिले हामी धेरै चुनौतिको अवस्थामा छौँ । कोरोना मात्रै होइन, अहिले राजनीतिक उतारचढाव, बाढी पहिरोजस्ता विपत्तिले पनि समस्या सिर्जना गरिरहेका छन् । चारैतिरबाट नेपाल अहिले संकटको अवस्थामा छ । हाम्रो अर्थतन्त्र पूर्ण गतिहीन बनेको छ । लाखौँ नेपालीहरु बेरोजगार भएर बसेका छन् । दैनिक गुजारा गरेर घर चलाउनेको अवस्था अत्यन्तै दयनीय छ । यो संटक पार गर्नका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्छ । हामीले स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गर्नुपर्नेछ । कोरोना महामारीका कारण वैदेशिक रोजगारीबाट स्वदेश आएका युवाहरु फेरि विदेश जाँदैनन् । उनीहरुलाई हामीले स्वदेशमै व्यवस्था गर्नुपर्छ । त्यसका लागि औद्योगिकरण तिर लागेका छौँ ।

औद्योगिकरणलाई प्राथमिकतामा राखेर नयाँ उद्योगहरु खोल्ने, सञ्चालनमा रहेका उद्योगहरुलाई आत्मनिर्भरता तर्फ लैजाने, रुग्ण उद्योगहरुलाई पुनः सञ्चालन गर्ने, कृषिमा आत्मनिर्भर हुने जस्ता काम कारबाहीहरु अघि बढाएका छौँ ।

हरेक स्थानीय तहमा हामीले औद्योगिक ग्रामको स्थापना गरेका छौँ । घरेलू तथा साना उद्योगीहरुलाई प्रोत्साहन गर्दै बजारको व्यवस्था गरिदिने, आवश्यक कच्चा पदार्थको व्यवस्था गरिदिने, आर्थिक व्यवस्था लगायतका काम हामीले अघि बढाएका छौँ । यसले उहाँहरुलाई प्रोत्साहन गरिरहेको छ । लकडाउनमा पनि निरन्तरहरुमा खटिएकाले अहिले हाम्रो मन्त्रालय अन्तर्गतका कामहरुमा कुनै पनि समस्या देखिएको छैन ।

उद्योग राज्यमन्त्रीका रुपमा तपाई आएपछि औद्योगिक क्षेत्र उत्साहित भएको थियो । विभिन्न समयमा बन्द भएका उद्योगहरुलाई तपाईंकै कार्यकालमा पुनः सञ्चालन गर्ने सम्भावना कत्तिको छ ?

म एउटा औद्योगिक पृष्ठभूमि भएको मान्छे भएकाले सबैलाई मेरो मान्छे आएको छ, अब हामीलाई काम गर्न गाह्रो हुँदै भन्ने लागेको छ । जबसम्म हामीले उद्योगी, व्यवसायीलाई समृद्ध बनाउँदैनौँ, उनीहरुको काम सजिलोसँग गरिदिँदैनौँ, तबसम्म देशमा औद्योगिकरण हुँदैन ।

मूलुृक औद्योगिकरणमा गएन भने समृद्ध देश कसरी हुन सक्छ ? मैँले बारम्बार भन्ने गरेको छु, निजी क्षेत्र भनेको हाम्रो ज्वाईं हो, रेड कार्पेट लगाएर स्वागत गर्नुपर्छ । यो मन्त्रालय मात्रै होइन, अन्य मन्त्रालयमा पनि उनीहरुको काम छ भने त्यसको समन्वय हामीले नै गरिदिनु पर्छ ।

विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, गोरखकाली रबर, सिमेन्ट, धागो, कपडा कारखाना लगायतका विभिन्न उद्योगहरु अहिले रुग्ण भएर बसेका छन् । ती सबैलाई  सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलमा चलाउन हामीले गृहकार्य सुरु गरेका छौँ । सरकार र निजी क्षेत्र मिलेर नै अब यी सबै उद्योगहरु चलाउने हो ।

कहिलेदेखि सञ्चालनमा आउँछन् ?

यसको लागि हाम्रो प्रक्रिया सुरु भइसकेको छ । हामीले एउटा विज्ञ टोली बनाएर अध्ययन गर्न लगाएका छौँ । आवश्यक प्रस्ताव लिइसकेका छौँ र धेरै प्रस्ताव पनि आइसकेको छ । पीपीपी मोडेलमा जाँदा के कस्ता कानुनी सुधारहरु आवश्यक हुन्छन्, त्यसबारे पनि हामी छलफल गर्दैछौँ । कानुन संशोधन गरेर भएपनि रुग्ण उद्योग सञ्चालन गर्छौं । त्यसले हजारौँ युवाले रोजगारी पाउँछन् ।

बन्द भएका खासगरी सरकारी उद्योग खुले भने सरकारले आफ्ना उद्योग चलाउन सक्छ भन्ने एउटा सकारात्मक सन्देश जान्छ । सरकारले आफ्नै उद्योग चलाउन सक्दैन, निजी उद्योग कसरी चलाउन सक्छ भन्ने किसिमको प्रश्नलाई यसले अन्त्य गर्छ ।

अब तपाईंले प्रतिनिधित्व गर्ने पार्टीको कुरा गरौँ । महिनौँदेखि नेकपा आन्तरिक कलहमा रुमल्लिरहेको छ । कहिले निको होला पार्टीको यो रोग ?

पार्टीमा कहीँ न कहीँ अविश्वासको वातावरण छ । यो नयाँ समस्या होइन । तर, यो गम्भीर विषय पनि होइन । नेकपा मात्रै होइन, हरेक पार्टीभित्र केही न केही समस्या भइरहन्छन् ।

नेकपाका बारेमा अहिले बजारमा पार्टी टुक्रिन्छ, यो पदको लडाईँ हो भनेर जुन किसिमका भ्रमहरु आइरहेका छन्, त्यस्तो होइन । यो विचार र सिद्धान्तको लडाईं हो ।

हरेक सरकारका पालामा हरेक पार्टीमा यस्ता समस्याहरु आउँछन् र ती समाधान पनि हुन्छन् । हाम्रो समस्याको पनि ‘सेफ ल्याण्डिङ’ हुन्छ ।

तर, नेकपाका कतिपय नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक छोड्नु पर्ने माग पनि राख्दै आएका छन् नि ?

जनताको मतले नै उहाँ (ओली) प्रधानमन्त्री बन्नु भएको हो । उहाँकै कारणले नेकपाले दुई तिहाइ बहुमत पाएको हो । यस्तै पार्टीका सबै कार्यकर्ताले नै उहाँलाई महाधिवेशनमार्फत पार्टी अध्यक्ष बनाएका हुन् । कमीकमजोरी सबै मिलेर सुधार्नुपर्छ ।

प्रधानमन्त्रीले यस्तो कुनै अपराध गर्नु भएको छैन कि पार्टीको अध्यक्ष वा प्रधानमन्त्री नै छोड्नु परोस् ! उहाँकै नेतृत्वमा देशका धेरै संकटहरु पार गर्नुपर्ने छ, धेरै योजनाहरु पूरा गर्नुपर्नेछ । उहाँकै कार्यकालमा मूलुक समृद्ध हुन्छ ।  

सरकारले कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा कार्यान्वयन गरेको छ । छुटेको भूमि फिर्ता ल्याउनका लागि काम गर्नुपर्नेछ । सीमित स्रोत साधानका बीच हामीले विश्व महामारी कोरोना भाइरसविरुद्ध लड्नुपर्नेछ । यस्तै अहिले प्राकृतिक विपत्तिको मौसम छ । यस्तो अवस्थालाई सबैले बुझिदिएर सरकारलाई साथ दिनुपर्छ । कमीकमजोरीहरुलाई छलफलका माध्यमबाट हल गर्नुपर्छ ।

उसो भए, नेकपाका कार्यकर्ताले आशंका गरेको पार्टी दुर्घटनाको अवस्था आउँदैन हैन त ?

त्यो सम्भव छैन । मैँले अघि पनि भनेँ, पार्टी फट्छ भन्ने भ्रामक कुराहरु धेरै भए । तर, पार्टीभित्र त्यस्तो अवस्था छैन । पार्टीभित्र मनभेद र मतभेद भइरहन्छ । विचार, सिद्धान्त, कामकारबाहीका तरिकाबारे मूल्याङ्कन गर्दै हामी सुधारको बाटोमा जानुपर्छ । पार्टी टुक्रिने, विभाजन हुने अवस्था म कहीँ पनि देख्दिनँ ।