नयाँदिल्ली — भारतीय पूर्वक्रिकेटर चेतन चौहानको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । जुलाई १९ मा कोरोना पुष्टि भएका ७३ वर्षीय चौहानको आइतबार उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  उनको स्वास्थ्य अवस्था जटिल भएपछि करिब ३६ घण्टादेखि भेन्टिलेटरमा राखिएको थियो ।


ADVERTISEMENT


सुरुमा लखनउस्थित अस्पतालमा भर्ना गरिए पनि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई गुरुग्रामस्थित मेदान्त अस्पतालमा भर्ना गरिएको थियो । उनको मिर्गौलामा पनि समस्या देखिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


चौहान उत्तर प्रदेश सरकारमा सैनिक कल्याण, होमगार्ड तथा नागरिक सुरक्षामन्त्री पनि थिए । उनी उत्तर प्रदेशको अमरोहा क्षेत्रबाट दुई पटक लोकसभा सदस्यमा समेत निर्वाचित भएका थिए । कोरोना संक्रमणबाट उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको पनि मृत्यु भएको थियो ।

सन् १९६९ देखि १९८१ सम्म भारतीय क्रिकेट टिमबाट चौहानले ४० वटा टेस्ट म्याच र ७ वटा एकदिवसीय खेल खेलेका छन् । उनले टेस्टमा १६ अर्धशतकसहित २ हजार ८४ रन बनाएका छन् । चौहानले दुई दशकसम्म महाराष्ट्र र दिल्ली गरी रणजी ट्रफी खेलेका थिए ।