काठमाडौँ – देशभर कोरोना संक्रमण भयावह रूपमा बढ्दै जाँदा सूचकहरू पनि खराब हुँदै गएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो समय संक्रमित र मृत्युदर बढेको छ भने संक्रमित निको हुने दर घट्दो छ । सरकारले परीक्षण भने बढाएको छ ।


ADVERTISEMENT


गत १५ साउनमा संक्रमणबाट मुक्त हुने अर्थात् उपचारपछि निको हुने दर ७२.९ प्रतिशत थियो । त्यस दिन पिसिआर परीक्षण गरिएकामा संक्रमण देखिने दर ५.१ प्रतिशत थियो । त्यस्तै, संक्रमितमध्ये मृत्यु ०.३ प्रतिशत मात्र थियो । प्रतिदश लाख संक्रमितमा मृत्युदर १.८ मात्रै थियो ।


ADVERTISEMENT

# # #


१५ साउनमा तीन हजार ६ सय चार नमुना परीक्षण गरिएका थिए । त्यसमध्ये दुई सय ७४ जनामा संक्रमण देखिएको थियो । त्यस दिन दुई सय २७ संक्रमित निको भएर घर फर्किएका थिए भने तीनजनाको मृत्यु भएको थियो ।

तर, अहिले ती सबै सूचक ओरालो लागेका छन् । मंगलबारसम्म देशभर देखिएका २८ हजार दुई सय ५७ संक्रमितमध्ये १७ हजार पाँच सय ८० निको भएका छन् । यो दर ६२.२ प्रतिशत हो । जुन, १५ साउनको भन्दा ११ प्रतिशतले कम हो । त्यस्तै, मंगलबारसम्म मृतकको संख्या एक सय १४ पुगेको छ, यो ०.४ प्रतिशत हो । मृत्युदर प्रतिदश लाखमा ३.९ पुगेको छ । जब कि १५ साउनमा यो दर १.८ मात्रै थियो । त्यस्तै, संक्रमण दर ५.२ प्रतिशत पुगेको छ । सक्रिय केसको संख्या १० हजार पाँच सय ६३ अर्थात् ३७.४ प्रतिशत छ ।

मंगलबारसम्म देखिएका १० हजार पाँच सय ६३ सक्रिय संक्रमितमध्ये दुई हजार आठ सय ८७ जना अस्पतालमा बेड नपाएपछि घरमै बसेका छन् । आइसियूमा बस्नेको संख्या एक सय २६ पुगेको छ । तीमध्ये आठजना भेन्टिलेटरमा छन् । सोमबारसम्म आइसियूमा उपचाररत संक्रमितको संख्या एक सय एक मात्रै थियो, भेन्टिलेटरमा ६ जना मात्रै थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन् ।