काठमाडौँ– राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्य कार्यान्वयनका लागि करिव २ सय ११ खर्ब ६५ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरेको छ ।
आइतबार सिंहदरबारमा दिगो विकास लक्ष्य : आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति, २०८१ सार्वजनिक गदै आयोगले सन् २०२४ देखि २०३० सम्मका लागि दिगो विकास लक्ष्य कार्यान्वयन गर्न २ सय ११ खर्वभन्दा बढि लाग्ने जनाएको हो ।
दिगो विकास लक्ष्यमध्ये कुल लगानी आवश्यकताको सबैभन्दा ठूलो हिस्सा नवीन खोज र पूर्वाधार क्षेत्रसँग सम्बन्धित रहेको आयोगले जनाएको छ । दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि औसतमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ दशमलव ४ प्रतिशत लगानी आवश्यक हुने अनुमान गरिएको छ । उक्त अनुमान साविकको रणनीतिमा गरिएको औसत बार्षिक अनुमान भन्दा २ दशमलव ४ प्रतिशत अंकले कम रहेको छ ।
दिगो विकास लक्ष्य कार्यान्वयनका लागि लगानी आवश्यकता पूर्ति गर्न सार्वजनिक, निजी, सहकारी र घरपरिवार स्तरबाट वित्तीय स्रोत उपलब्ध हुने गरी रणनीति तयार पारिएको आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले जानकारी दिए । उनले यसअघि भन्दा लागत बढेपछि स्रोत समेत बढेको उल्लेख गरे । लक्ष्य प्राप्तिका लागि आवश्यकता पूर्ति गर्नका लागि आवश्यक स्रोतको पहिचान समेत गर्न खोजिएको उनले जनाए ।
आयोगले दिगो विकास लक्ष्य कार्यान्वयनका लागि सार्वजनिक क्षेत्रबाट सवैभन्दा बढि कुल ५७ दशमलव ५ प्रतिशत लगानी हुने अनुमान गरेको छ । निजी क्षेत्रबाट ३४ दशमल ३५ प्रतिशत, सहकारी तथा गैर सरकारी क्षेत्रबाट ४ दशमलव १८ प्रतिशत र घरपरिवार स्तरबाट तीन दशमलव ९५ प्रतिशत लगानी परिचालन हुने अनुमान गरिएको आयोगले जनाएको छ ।