प्रदेश नं. २ मा स्थानीय तह तेस्रो चरणको निर्वाचनको मिति नजिकिएसंगै त्यहाँ राजनीतिक सरगर्मी बढेको छ । सबै राजनीतिक दलहरुले आफ्नो पकट जमाउन सक्रियता निकै बढाएका छन् । सबै पार्टीहरुले मधेसमा आफ्नो निर्वाचन परिणाम राम्रो हुने बताइरहँदा २०७० को संविधान सभाको निर्वाचनमा पहिलो पार्टी बनेको नेपाली कांग्रेसले चुनावी रणनीति कसरी अगाडी बढाउँदैछ ? नेपाली कांग्रेसको भातृ संगठन भएकाले यसले आफ्नो पार्टीका उम्मेद्वारलाई जिताउनका लागि के कस्ता कार्ययोजना बनाउँदैछ ? केही समय पहिलेको बाढीपहिरोले प्रभावित बनेकाहरुको राहत तथा उद्दारका लागि नेविसंघ निकै खटिएको देखिन्थ्यो । यसमा नेविसंघको सहयोग कस्तो रहेको छ ? अमेरिकामा सम्पन्न संयुक्त राष्ट्रसंघको युवा सम्मेलनमा नेपाली युवाको प्रतिनिधित्व गर्दै नेविसंघका अध्यक्ष नैनसिंह महरले सभामा भाग लिएका थिए । त्यहाँ उनले के कस्ता माग र विचारहरु प्रस्तुत गरे ? लगायतका विषयमा नेपाल विद्यार्थी संगठनका अध्यक्ष नैनसिंह महरसंग हिमालय पोष्टले गरेको कुराकानी


ADVERTISEMENT


निर्वाचनको मिति नजिकिँदै गर्दा अहिले प्रदेश नं. २ मा माहोल तातिरहेको छ । कांग्रेसले निर्वाचनको तयारी र यसको रणनीति कसरी बनाउँदैछ ?


ADVERTISEMENT

# # #


नेपाली कांग्रेसको एक जुझारु र बलियो भातृ संगठन भएकाले हामी यो चुनावकै अभियानमा नेविसंघको संगठनको सुदृढीकरण पनि गर्छौ । र त्यो सुदृढिकरणको अभियान अन्तर्गत हामीले प्रदेश नं. २ का १३६ वटै स्थानीय तहहरु (गाउँपालिका, नगरपालिका, उप महानगरपालिका र महानगरपालिका) मा नेविसंघ केन्द्रिय समितिका तर्फबाट केन्द्रिय प्रतिनिधि रहने गरी आजदेखि १०३ औँ विपी जयन्ती मनाउँदै छौँ । त्यसकारण हाम्रो केन्द्रिय प्रतिनिधि उम्मेद्वारसंग बस्छ । उसले त्यहीँ खाना खान्छ र त्यहाको एजेण्डा, विषयवस्तु तथा पछिल्लो पटक जनता बाढीपीडित भएर जनता अभावमा छन् । विद्यार्थीहरु पिरमर्कामा छन् । तीनको उठान गरेर हाम्रो केन्द्रिय तहमा रिपोर्टिङ गर्छ । अन्य पार्टीलाई पनि झकभक्याएर यसलाई जनतालाई राहत दिने खालको पनि यसले काम गर्छ । त्यसकारण चुनाव अवधिभर हाम्रो केन्द्रिय प्रतिनिधि स्थानीय स्तरमै बस्छ । नेपाली कांग्रेसका राष्ट्रिय एजेण्डाहरु तथा नेपाली कांग्रेसलाई जनताले जिताउनु पर्ने कारणहरु र नेपाली कांग्रेसका भावी योजनाहरु हाम्रो प्रतिनिधिहरुले गाउँसम्म पर्याउँछ ।

सबै राजनीतिक दलहरुले २ नम्बर प्रदेशमा आफु पहिलो हुने दाबी गरिरहेका छन् । एकातिर मधेसको प्रतिनिधित्व गरेर राजनीति गरिरहेको राजपा यो प्रदेशमा बलियो मानिन्छ । नेपाली कांग्रेसको २ नम्बर प्रदेशको नतिजा कस्तो हुन्छ ?

पार्टीका नेता र हामी सबैले प्रदेश नं २ मा १०५ को हाराहारीमा नेपाली कांग्रेसले चुनाव जित्ने आँकलन छ । पछिल्लो पटकका हाम्रा सर्वेहरु पार्टीको सर्वे, हाम्रा अन्य सुभेच्छुकहरुको सर्वे, संघ संस्थाहरुको सर्वे र स्वयम् नेपाल विद्यार्थी संगठनले राहत वितरणका क्रममा पनि हामीले केही रिर्पोट तयार पारेका छौँ । त्यसकारण यी सबै आधारहरुलाई हेर्ने हो भने १ सयभन्दा बढी स्थानमा नेपाली कांग्रेसले प्रदेश नं २ मा आफुलाई विजयी गराउन सफल हुन्छ भन्ने आँकलन हाम्रो छ ।

यति स्थान जित्नका लागि तपाईसंग के कस्ता एजेण्डा छन् ? नेपाली कांग्रेसलाई जनताले भोट दिने आधार के ?

हामीसंग थुप्रै एजेण्डा छन् । अन्धराष्ट्रवादका नाममा पहाड र मधेसका जनतालाई फटाएर विखण्डनमा पुर्याउने एमालेदेखि निहीत स्वार्थ र अत्यन्तै कर्मकाण्डी भावनाले मधेसका जनतालाई पहाडबाट टुटाएर आफ्नो राजनीतिक अभीष्ट पूर्ति गर्ने मधेस केन्द्रित दल जो सच्चा मधेसी जनताका पक्षमा छैनन् । तिनीहरुबीचको लडाईँले देश आज यत्रो द्वन्द्वमा फस्यो । मधेस आन्दोलनका नाममा पहाडी आन्दोलनका नाममा खाक्रो राष्ट्रवादका नाममा नेपाली समाजलाई विभाजनतिर लिइँदैछ ।

संविधानमा केही मधेसका, महिलाका, जनजातीका असन्तुष्टि छन् । त्यसकारण यी सबैको समाधानका लागि नेपाली कांग्रेस अनुदार छैन । संविधान संशोधनका माध्यामबाट समस्याको समाधान गर्न सकिन्छ भनेर आफ्ना कुराहरु संसद्मा टेबुल गराएमा राजपा लगायतका पार्टीहरु स्थानीय तहको निर्वाचनमा सरिक हुनुपर्छ भन्ने हाम्रो एजेण्डालाई संसद्मा प्रवेश नै गराउनु हुँदैन, संविधान संशोधनको मुद्दा हामी बहिष्कार गर्छौँ । तोडफोड गछौँ भन्ने उग्र राष्ट्रवादमा एमाले अल्झिएको थियो । तरपनि नेपाली कांग्रेसले संविधान संशोधन संसद्मा पेस गरेर भोटिङ्ग पनि भयो । भलै एमालेका कारण पास हुन सकेन । अब जनताले बुझिसकेका छन् कि एमाले देशमा उब्जिएका समस्याको समाधान गर्न चाहदैन भनेर ।

अस्ति बाढी पहिरोको बेला पनि हामीले देख्यौँ । आफुलाई मधेसकन्द्रित भनेर राजनीति गर्नेहरुले मधेसका प्रभावित जनताको पक्षमा सिन्को भाच्ने सम्मको काम गरेनन् । आजसम्म पनि जो पछाडी पारिएको वर्ग छ । त्यसलाई माथि उठाउने र त्यसलाई पनि आफुजस्तै(उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो) हैसियतमा पुर्याउने सपना उनीहरुले देखाएका छैनन् । उनीहरु आफु सत्तामा पुग्नका लागि मात्रै मधेसको मुद्दा उठाएका छन् । यी सबै कुरा मधेसका जनताले बुझेका छन् । त्यस कारण नेपाली कांग्रसको एजेण्टा विजयी भएको छ । आन्दोलनलाई थाती राखेर देश अहिले चुनावमय भएको छ । यो नेपाली कांग्रेसको जीत हो । नेपाली कांग्रेसको नेतृत्वमा जसरी संविधान बनेको थियो त्यसको कार्यान्वयनको सम्पूर्ण पाटो पनि कांग्रेसकै नेतृत्वमा भइरहेको छ । मधेसी जनताको साच्चिकै उत्थानका लागि एकमात्र शक्ति भनेको कांग्रेस हो । मधेसको जनजीवनसंग कांग्रेस गाँसिएको छ । मधेसंग नेपाली कांग्रेसको रगतको साइनो छ । त्यस कारण मधेस कांग्रेसको पक्षमा रहन्छ भन्ने हाम्रो विश्वास छ ।

तपाई विद्यार्थी संगठनको नेतृत्वको हैसियतमा शिक्षा क्षेत्रको कुरा गरौँ । भर्खरै शिक्षामन्त्रीको अध्यक्षतामा उच्च स्तरीय शिक्षा आयोग गठन भएको छ । बताइदिनुस् न अब के हुँदैछ ?

हामी नेपाली विद्यार्थीको माग, नेविसंघको लामो समयदेखिको माग जुन किसिमले उच्च शिक्षाले गती लिनु पर्ने हो । जुन किसिमको गुणस्तरीय तथा अनुसन्धात्मक किसिमको शिक्षा हुनु पर्ने हो त्यो नबनेको अवस्थामा उच्च स्तरीय शिक्षा आयोगका माध्यामबाट हामीले परिवर्तन गर्नुपर्छ भन्ने कुरा उठान गरेका थियौँ । ढिलै भएपनि मन्त्रीको अध्यक्षतामा उच्च स्तरीय शिक्षा आयोग गठन भएको छ । यसलाई आमीले स्वागत गरेका छौँ । हामीले पहिले ज्ञापनपत्र पनि बुभाएका थियौँ । सरोकारवाला विद्यार्थी संगठनका तर्फबाट पनि उच्च शिक्षा आयोगमा विद्यार्थीको प्रतिनिधित्व गराइनु पर्छ भन्ने हामीले माग राखेका छौँ । यो पनि सरकारले बुझेजस्तो मलाई लाग्छ ।

अर्को सवालमा चाही उच्च शिक्षा आयोगले नेपालको गुणस्तरीय शिक्षाका विषयमा, यसको बजारको विषयमा तथा सबै किसिमको पेसाबाट पनि जीवनयापन गर्न सकिने गरी नैतिकतामा आधारित मानवतावादी शिक्षा लागू गर्ने किसिमको आयोगले खाका कोर्नेछ जस्तो मलाई लाग्छ ।

भखैरै मुलूकमा प्राकृतिक प्रकोप सिर्जना भयो । बाढी पहिरोले जनता प्रभावित भए । विशेष गरी तराई क्षेत्रमा कयौँ परिवारको घरवास टुटेको छ । यो अवधिमा नेविंघ पनि ती क्षेत्रमा गएको देखियो । यसका बारेमा बताइदिनुस् न ।

हामीलाई विदेश र स्वदेशमा हाम्रो आग्रहमा धेरैले सहयाग गर्नुभयो । हामीले नगद लिएको १/२ लाख मात्रै हो । अन्य सबै जिन्सी सामानहरु पठाइदिने सम्पूर्ण हाम्रा साथी भाई तथा शुभ चिन्तकहरुलाई सर्वप्रथम त म हार्दिक धन्यवाद दिन चाहन्छु । बाढी पहिरो आएको दिन म संयुक्त राष्ट्र संघको युवा महासभामा भाग लिने क्रममा न्युयोर्कमा थिएँ । त्यसको भोलिपल्ट मैले सभामा नेपालको विषयवस्तु र यहाँको बाढीपहिरो र खासगरी विद्यार्थीको अवस्थाका बारेमा जानकारी गराएको थिएँ । संयुक्त राष्ट्र संघले सहयोग गर्नु पर्छ भन्ने हाम्रो आग्रहलाई राष्ट्रसंघले पनि केही सुनिदिएको छ ।

त्यसपछि हामीले अमेरिकामा नै नेपाली साथीहरुसंग सहयोगको अपील गर्यौँ । देशमा पनि त्यसैको भोलिपल्ट देखि नै राहत तथा उद्दारका लागि नेविसंघका लाखौँ नेता कार्यकर्ता मैदानमा खटिए । जनताका साथमा बसेर राहत कार्यलाई प्रभावकारी बनाए । अहिलेसम्म हामीले ६३ लाख बराबरको राहत सामग्री प्रभावित समुदायलाई वितरण गरिसकेका छौँ । भर्खरै महोत्तरीको मुसहर बस्ती जसको जनजीवन अत्यन्तै दयनीय छ त्यो समुदायलाई हरेकको झुप्रोमा पुगेर करीब सयको हाराहारीमा रहेका झुप्राहरु जहाँ खानाको अभाव थियो । जहाँका बाहिरको वातावरण पनि अत्यन्तै जीर्ण थियो त्यो ठाउँमा गएर हामीले राहत वितरण कार्यक्रम गर्योँ । उनीहका बालबालिकाहरुका लागि हामीले शैक्षिक सामग्री वितरण गर्यौँ ।

हामीले त्यहीँबाट शैक्षिक अभियान सुरु गरेका छौँ । जसमा एउटा झोला र त्यसभित्र १ १ वटा कापी, कलम, टुथपेष्ट ब्रस र सकिएको खण्डमा एकजोर लुगा हुनेगरी राहत प्याकेजको प्रबन्ध सके सरकारले नभए हामी आफैले भएपनि गर्नु पर्छ भनेर अभियान चलाएका छौँ । यसमा पनि सहयोग गर्ने तमाम सहयागी हातहरु अगाडी बढिरहेका छन् । यस्तो अवस्थामा सरकार कानमा तेल हालेर सुत्न मिल्दैन । त्यसको व्यवस्थापनका लागि सरकारसंग हामीले यथाशिघ्र राहत प्याकेजको घोषणा गरेर तिनको घाउमा मल्हम लगाउनका लागि अनुरोध गरिरहेका छौँ । सरकारले पनि पाठ्पुस्तक निःशुल्क वितरण गर्ने भन्ने निर्णयको हामीले स्वागत गरेका छौँ । विद्यार्थीका लागि आवश्यकका शैक्षिक तथा अन्य सामानहरु सरकारले तुरुन्त पुर्याउनु पर्छ ।

अन्त्यमा, नेविसंघको सांगठनिक गतिविधिहरु के कसरी अगाडी बढीरहेको छन् ?

संगठनका गतिविधिमा हामीले पूरानो १०/१२ वर्षदेखि सँधै विवाद हुने जिल्लाहरुको अधिवेशनका लागि केन्द्रिय प्रतितिधिहरु पठाएका छौँ । उपत्यकाभित्रका क्याम्पसहरुमा अधिवेशनको प्रक्रिया अगाडी बढिराखेको छ । लगत्तै प्रदेश र संघीय चुनावका लागि हामीले ७५ वटै जिल्ला र क्याम्पसमा केन्द्रबाटै प्रतिनिधि पठाउने बन्दोवस्त गर्दैछौँ । ७४४ वटै स्थानीय तहमा पनि हामी केन्द्रिय प्रतिनिधि पठाउँछौँ । जसले त्यहाँको सांगठनिक संसचनालाई तथा चुनाव प्रचारप्रसार अभियानलाई त्यसले शसक्तता दिन्छ । यती मात्र होइन कि सात वटै प्रदेशमा हामी प्रशिक्षण कार्यक्रम लिएर जाँदैछौँ । प्रशिक्षित भावना लिएर हामी जाँदैछौँ ।

फेरि मैले जोड्न चाहेँ । प्रदेश नं २ का १३६ वटै स्थानीय तहमा केन्द्रिय समितिमार्फत चुनाव अवधिभर त्यहाँ रहेर सांगठन पनि हेर्ने र चुनावमा पनि नेपाली कांग्रेसलाई विजी गराउने हिसाबले यो अभियान सुरु गर्दैछौँ । त्यसकारण सम्पूर्ण नेविसंघको स्थिति अहिले बलियो छ । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा हामी सबैभन्दा ठूलो विद्यार्थी संगठन भइसकेपछि बाँकी रहेका स्ववियु चुनाव फागुनभित्रै गराउनु पर्छ भनेर नेविसंघले माग गरेको छ । त्यो कुरा पनि हामीले सम्बन्धित कलेज र विश्वविद्याललाई अनुरोध गरिसकेका छौँ ।

अरु थुप्रै विषयवस्तुहरु जस्तै स्ववियु काउन्सिल, स्ववियु परिषद्को गठन र निर्माणका लागि पनि हामी लागेका कारणले अहिले नेविसंघको संगठनले विशेष गरी विद्यार्थीको चौतर्फी हितमा र प्राकृतिक प्रकोपका बेला प्रभावितको उद्दार र राहतमा लाग्ने गरी एउटा क्याम्पियनका रुपमा विकास गर्न हामी उत्साहित भएका छौँ । हामीलाई सहयोग गर्ने हातहरुलाई पनि हामी धन्यवाद दिएका छौँ । यसले मात्र पुगेको छैन् । सरकार जिम्मेवार भएर अगाडी बढ्नुपर्छ भनेर भनिरहेका छौँ ।