नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संगठनका महामन्त्री कुन्दन काफ्लेसंग हिमालयपोष्टले गरेको कुराकाकानी:


ADVERTISEMENT


व्यस्तता के मा छ आजकाल ?
हामी लामो समयसम्म राजनीतिक आन्दोलनमा हिड्यौँ । लामो समयपछि नेपाल विद्यार्थी संघको अधिवेशन भयो । अहिले राज्य संघीय राज्यमा गएको छ । आन्तरिक संगठनको राजनैतिक निकास गरेर देशमा शैक्षिक तथा आर्थिक क्रान्ति गर्नेपर्ने अवस्था आएको छ । त्यस कारण नेविसंघ शैक्षिक क्रन्तिको आँधीबेरी सिजैना गर्नका लागि संगठित रुपले अगाडी बढिरहेको छ । त्यही काममा म व्यस्त छु ।


ADVERTISEMENT

# # #


अहिले तपाईहरुको सक्रियतामा नेविसंघमा के कस्ता कामहरु भइरहेका छन् ?
पहिलो कुरा हामीले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न सक्यौँ । त्यो आफैमा सुन्दर पक्ष हो । दास्रो कुरा हामीले आन्तरिक रुपमा समस्या रहेका ठाउँहरुमा त्यसको गाँठो फुकाउँदै गइरहेका छौँ । तर के हो भने हामी नेतृत्वमा आएको एक वर्ष भएसक्यो । जुन हिसाबमा हामीले शैक्षिक क्षेत्रमा क्रन्ति गर्नु पर्ने हो त्यो गर्न सकेनौँ । भर्खरै भएको तराई डुबानमा बाढीपीडितको घाउमा मल्हम लगाउन नेपाल विद्यार्थी संघ एक नम्बर देखिएको छ । त्यो सबैले बुझेको कुरा हो ।

अहिलेको अवस्थामा राजनीतिक मुद्दामा वा शैक्षिक विषयमा विद्यार्थी संगठनको भूमिका के कस्तो हुनुपर्छ ?

विद्यार्थी संगठन भनेको विद्यार्थीका हक हितका कुराहरु लिएर अगाडी बढ्ने संस्था हो । यसले वर्तमान शिक्षाको आवश्यकता, यसमा देखिएका समस्या र अहिले भएको राजनीतिकरणको अन्त्य गर्दै प्राज्ञिक क्षेत्रलाई मर्यादित बनाउने काम गर्छ । अहिले जुन रुपमा विश्व विद्यालयलाई राजनीतिक भागबन्डाको हिसाबमा हेरिन्छ । त्यस्ता विश्व विद्यालयबाट दक्ष जनशक्ति निक्लिँदैन । अहिले शिक्षा सम्बन्धी राज्यको दायित्वबाध छैन । एउटा गरीब व्यक्ति क्षमतावान भएपनि पढ्न पाउँदैन । तर भन्न त राज्यले निःशुल्क भनिदिन्छ । जुन कुरा संविधानले दिएको छ ते कार्यान्वयन भइरहेको छैन । त्रिभुवन विश्व विद्यालयमा चारवटा रिसर्च सेन्टर छ । त्यहाँ राजनीतिक नियुक्ति हुन्छ । त्यो विद्यार्थीको लागि उपयोगी भएन । मुलूकको सबैभन्दा पूरानो विश्व विद्यालय भएपनि अहिलेको आवश्यकता अनुसारको पढाई भइरहेको छैन । यस्ता वावद समस्याको उचित समाधान गर्नका लागि विद्यार्थी संगठनको आवश्यकता पर्दछ । अहिले विश्वविद्यालयभित्र छिर्दा युनिभर्सिटी छिरेको अनुभूती नै हुन्न । किनकी एउटा विश्व विद्यालयका लागि जती आवश्यक सामग्री, सेवा सुविधा हुनुपर्ने हो त्यो छैन । पूर्वाधारका हिसाबले पनि विश्वविद्यालय व्यवस्थित हुनु पर्छ ।

राज्यले अबको २० वर्षमा नेपाल कबस्तो बनाउने भनेर निक्र्योल गरी त्यही अनुसारको पाठ्क्रमको निर्धारण गर्नु पर्छ । शिक्षा क्षेत्रमा हाम्रो लक्ष्यविहीन हिँडाई छ । हामी गर्वसाथ भन्छौँ कि २००७ सालमा लड्यौँ, १७ सालमा लड्यौँ, ३६/४६ सालमा लड्यौँ । लोकतन्त्रको स्थापनाका लागि ६२/६३ सालमा लड्यौँ । अब अर्को लडाईँ लड्नका लागि तयारी हुनुपर्छ । त्यो लडाई शिक्षामा रहेको विभेदको अन्त्यका लागि, समान अवसरको लडाई हुनुपर्छ । राजनीतिक अस्थिरतालाई अन्त्य गर्दै देशको समृद्धिको लडाईँ हुनु पर्छ । अबको आन्दोलन भनेको शैक्षिक आन्दोलन हो । विद्यार्थी संगठनको भूमिका यसैमा जोडिएको छ ।

 जुन तपाईले माथि शैक्षिक समस्याहरु बताउनु भयो । यी समस्या कहिले समाधान हुन्छन् र कसले गर्नपर्छ ?

यी समस्या समाधान गर्ने त राज्यले हो । यसको कार्यान्वयनका लागि राज्यलाई खबरदारी हामीले गछौँ । मैले माथि नै भनेँ हामी राजनीतिक आन्दोलन भन्दा शैक्षिक आन्दालनका लागि कम लड्यौँ । हामीहरुले सबै एजेण्डाका निर्धारण गरेर अगाडी बढ्नु पर्छ । अर्को कुरा के हो भने हाम्रो नेतृत्वले राज्य तथा शिक्षा क्षेत्रका सरोकारवालाहरुको यसमा बोध गराउनुपर्ने हुन्छ । त्यो भएर हामी अहिले त्यो अभियानमा छौँ । शैक्षिक क्रान्तिको जग हामीले देशभरी रहेका तमाम विद्यार्थीहरुलाई अहिलेको शिक्षामा रहेको विभेद हटाउनु पर्ने बोध गराउने अवस्थामा हामी छौँ । त्यो भएर अब हामी त्यसलाई आन्दोलनका रुपमा अगाडी बढाउन लागिरहेका छौँ ।

एकातिर व्यावहारिक शिक्षाको पनि बहस छ । अर्कोतिर तमाम युवा जमात विदेशिएका छ । यो भयावह स्थितिको समाधान कसरी हुन्छ ?

यो त कस्तो हो भने हामीले ५ कक्षा पढ्छौँ के का लागि भन्दा ६ कक्षामा पुग्नका लागि । १२ कक्षा पढ्छौँ १३ पढ्नलाई । यस्तो शिक्षाको अन्त्य गर्नुपर्छ । अनिमात्र नेपाली विदेशिदैनन् । दोस्रो कुरा के हो भने श्रमलाई सम्मान गर्नु पर्छ । हाम्रो देशमा श्रमलाई सम्मान छैन । हाम्रो मानसिकता राणातन्त्र कै छ । म फलानोको छोरो, म ढिस्कानोको छोरो भनेर स्वदेशमा केही नगर्ने विदेशमा गएर भाडा माझ्नपनि तयार हुने प्रवृत्तिले पनि यो अवस्था सिर्जना भएको छ । १२ कक्षा पढिसकेपछि वा १५ पास गरिसकेपछि यसको क्षमता, योग्यता यतीहो भनेर राज्यले निर्धारण गरिदिनु पर्छ ।

त्यो भएर मैले भनेको लक्ष्य सहितको शिक्षा भयो भने यी तमाम समस्याको समाधान हुन्छ । शिक्षामा निश्चित वर्ग वा समुदायको आधारमा विभेद छ । त्यसको समाधान गर्नु पर्छ । नेविसंघको महामन्त्रीको हैसियतले के भन्छु भने वर्तमान शिक्षा नेपालको अहिलेको आवश्यकता शिक्षा होइन । रिसर्चै सेन्टर खोलेर वर्तमानको आवश्यकता के हो ? कस्तो जनशक्ति आवश्यक छ र कस्तो स्तरको जनशक्ति उत्पादन हुन्छ ? पूर्वाधार विकासको लागि आवश्यकता अनुसारको जनशक्ति कसरी उत्पादन गर्न सकिन्छ भनेर राज्यले एउटा निश्चित मापदण्ड तयार गरी त्यही अनुसारको पाठ्यक्रम राज्यले निर्धारण गर्नुपर्छ । अनिमात्र त्यो जनशक्ति काम आउँछ ।

त्यसकारण अब शैक्षिक क्रान्तिबिना यो मुलूक समृद्ध र समुन्नत हुन सक्दैन । नेविसंघले नेपालमा अब शैक्षिक क्रान्ति नै गर्छ र यसको विकल्प पनि हामीसंग छैन । योग्य र नेपाललाई माया गर्ने जनशक्ति उत्पादन गर्न पनि शैक्षिक क्रन्तिको आवश्यकता छ ।

नेविसंघकोे अहिलेको जुन नेतृत्व छ, त्यसलाई आगामी दिनमा वा यसको हस्तान्तरण गर्ने दिनसम्ममा शिक्षा क्षेत्रमा देखिएका यस्ता विविध समस्याको, राजनीतिक मुद्दाको स्थिति कहाँ पुर्याउनुहुन्छ ?

यो कस्तो हो भने २००७ साल भन्दा पहिलाको जयतु संस्कृतम्को आन्दोलनले २०६२ सालमा गणतन्त्रको रुप निर्धारण गर्यो । नेपालमा हामीले गणतन्त्रको कुरा गर्दा नेपालका अन्य राजनीतिक दलहरु संवैधानिक राजतन्त्रको कुरा गर्थे । माधव कुमार नेपालले दाम चढाएकै हो । केपी ओलीलाई बयलगाढा चढेर अमेरिका पुगिन्न भनेकै हो । आन्दोलनका नायक भनेर परिचय दिन चाहने प्रचण्डले गरिजा बाबुले वार्ता गर्दा म वार्ता मालिकसंग गर्छु कारिन्दासंग गर्दिँन भनेकै हो । तर सबैलाई बाध्यात्मक परिस्थिति आएर एजेण्डामा एक्ता भयो नि त । त्यसको लागि हाम्रो मानसिकताले, हाम्रो आवश्यकताले, हाम्रो देश अनुसारको भूगोलले यो गति लिनलाई थोरै समय लाग्ला तर नेपाल विद्यार्थी संगठनले देशभरिका विद्यार्थीलाई तुरुन्तै रक्तसञ्चार गर्छ भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु ।

एउटा युवा विद्यार्थी नेताको हिसाबले देशको राष्ट्रिय राजनीतिलाई कसरी नियाली राख्नुभएको छ ?

राजनीति के का लागि भन्दाखेरि समाजको सकारात्मक परिवर्तनका लागि हुन्छ । उदाहरण कै रुपमा अहिले देशको प्रधानमन्त्री हाम्रै पार्टीको सभापति शेर बहादुर देउवा हुनुहुन्छ । खुट्टामा चप्पल नभएको जनताले शेर बहादुर देउवा प्रधानमन्त्री भएकाले अब म खुट्टामा चप्पल लगाउन पाउँछु भन्ने खालको अनुभूति प्रधानमन्त्रीले गराउन सक्नुपर्छ । तर अहिलेसम्म जती आए कसैले गराउन सकेका छैनन् । राजनीति त्यो दिशामा गएको छैन । त्यो भएर म पनि दुःखित छु ।

अहिले जति दल वा संगठनले आर्थिक क्रान्तिको नारा दिइ रहेका छन् । त्यो शैक्षिक क्रान्ति नभएसम्म बकवास सावित हुन्छ । किनभने आर्थिक क्रान्ति गर्नका लागि त दक्ष जनशक्ति चाहियो नि । दक्ष जनशक्ति उत्पादन कसले गर्छ त भन्दा विश्वविद्यालयले गर्छ । त्यसैले कुनैपनि देशका आर्थिक क्रान्ति गर्नुभन्दा पहिले शैक्षिक क्रन्ति गर्न आवश्यक छ ।

अन्त्यमा, जुन तपाईले पटपटक शैक्षिक क्रान्ति भनिरहनु भएको छ । यसमा सबैलाई आह्वान गर्नका लागि के भन्न चाहनुहुन्छ ?

शैक्षिक आन्दोलन मुलूकको आवश्यकता हो । हामीले कांग्रेस, एमाले, माओवादी र मधेसवादी लगायतका विभिन्न दलहरु सबैको लक्ष्य भनेको समृद्धि हो । सम्पन्नता हो । यो संविधानको मुल जरो नमान्ने नेपालमा कुनैपनि संगठन छैन र त्यो मान्नु पनि पर्छ । मलूकको पहिलो कुरा भनेको सम्पन्नता हो । जसको प्राप्ती सही जनशक्तिबाट हुन्छ । ते कहाँबाट उत्पादन हुन्छ त भन्दा विश्वविद्यालयबाट हुन्छ । त्यो भएर पहिलो कुरा शैक्षिक संस्थालाई समय सुहाउँदो तरिकाले व्यवस्थित गर्न पर्ने आजको आवश्यकता छ ।

राज्यले आफ्नो लगानीमा उत्कृष्ट विद्यार्थीलाई पर्ढापश्चात नेपालमा नै काम गर्ने गरी देश बाहिरका ठूला विश्वविद्यालयमा पढ्न पठाउनु पर्छ । त्यसले धेरै मात्रामा सुधार गर्न सकिन्छ भने शिक्षामा समय सुहाउँदो पाठ्यक्रमको निर्माण गरेर देशको आर्थिक क्रन्ति गर्न सकिन्छ । पहिलो कुरा राम्रो जनशक्ति उत्पादन गर्नका लागि प्रोत्साहन गर्नु पर्छ । त्यसपछि त उसले राम्रो सेवा त दिइहाल्छ नि ! अर्को कुरा के भन्दा विद्यायलमा राजनीति भयो तर विद्यालयका लागि राजनीति भएन । राजनीति गर्नेले शिक्षाको गुणस्तरका लागि गर्नु पर्यो । अनिमात्र सुधार हुन्छ ।

एउटा स्कुल कलेजको पिउनको नियुक्तिका लागि राजनीतिक भागबण्डा हुन्छ तर शैक्षिक क्षेत्रको सुधारका लागि एमाले माओवादी कांग्रेसले कहिल्यै सोचेनन् । अन्तमा मेरो निचोड के हो भने विद्यायलमा राजनीति होइन विद्याका लागि राजनीति गर्नु पर्छ । त्यसबाट मुलूकले विकासको बाटोमा अग्रसर हुन्छ ।