एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि विशेष विमान ‘एयर इण्डिया वान’ खरिद गरिएको छ । भारतीय सरकारले विशेष किसिमले डिजाइन गरिएका २ वटा वाइडवडी बोइङ ७७७–३०० ईआर विमान अर्डर गरेको हो । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार विमान आगामी हप्ता नै भारतमा आइपुग्नेछन् । जसमध्ये एउटा मोदीका लागि र अर्को भारतीय राष्ट्रपति रामनाथ कोविन्दका लागि लागि प्रयोग हुनेछ ।
बिमानमा अत्याधुनिक र सुरक्षित संचार प्रणाली जडान गरिएको छ । बिमानले एक प्रकारको हवाई नियन्त्रण केन्द्रकै रुपमा काम गर्नेछ जसको अडियो–भिडियो सञ्चारलाई ट्यापिङ र ह्याक गर्न सकिनेछैन । ८ हजार ४ सय ५८ करोड (८४.५८ अर्ब ) भारतीय मूल्य अर्थात १ खर्ब ३६ अर्ब नेपाली मूल्य बराबरका उक्त बिमानहरुमा आफ्नै मिसाईल डिफेन्स सिस्टम, दुश्मन देशको रडार फ्रिक्वेन्सीलाई नै जाम गर्न सक्ने सेल्फ प्रोटेक्सन सुट समेत रहनेछ ।
बिमान भित्र एउटा कन्फिरेन्स रुम, भीभीआईपी यात्रुका लागि एउटा केबिन, एउटा मेडिकल सेन्टर लगायत बिशिष्ठ ब्यक्तिहरुका लागि सिटहरु रहेका छन् । बिमानमा एअर ईन्डिया वानको छुट्टै साईरन संकेत रहने जनाईएको छ । उक्त संकेतले राष्ट्रपति, प्रधानमन्त्री सवार बिमान भन्ने बुझाउनेछ ।
बिमानमा अशोक चक्रका साथै भारत र ईन्डिया समेत लेखिने बताईएको छ । एक पटक ईन्धन भरेपछि १७ घण्टा सम्म बिमान लगातार उड्नेछ । अहिले सम्म १० घण्टा मात्र उड्ने क्षमताका जहाजहरु रहेका छन् । अमेरिकी राष्ट्रपतिले प्रयोग गर्ने एयर फोर्स वान बिमान जस्तै उक्त बिमानहरु तयार पारिएको बताईएको छ ।
उक्त बिमानहरुलाई भारत ल्याएपछि एयर ईन्डिया वीवीआईपी बडिको २५ बर्ष पुरानो ७४७ बोईङ हटाईने जनाईएको छ । दुबै बिमानलाई भारतीय बायुसेनाका पाईलटहरुले चलाउनेछन् । एयर ईन्डिया, ईन्डियन एयरफोर्स, भारतीय सरकारी अधिकारीहरुका साथ सुरक्षाकर्मीहरुको एउटा टोली वीवीआईपी एयरक्राफ्ट एअर इंडिया वानलाई ल्याउन अमेरिका पुगिसकेका छन् ।