बेँसी र चुरे क्षेत्रका किसानलाई यतिबेला अलैँचीको चटारोले छोपेको छ । अलैँचीको सिजन शुरु भएकाले टिप्ने र छोडाउने कामको चटारो परेको हो । मौसम नबिग्रिएको (पानी नपरेका) ले अहिले अलैँची टिप्न उपयुक्त भएको किसानको भनाइ छ । गएका वर्षामा यो सिजनमा पानी परेकाले अलैँची कुहियो । तर, यो वर्ष घाम लागेकाले समस्या छैन । किसानका अनुसार यो वर्ष उपयुक्त मौसम भएकाले अलैँचीमा उल्लेखीय फल देखिएको छ ।


ADVERTISEMENT


 

रोग नदेखिएको र अलैँची राम्रो पाकेकाले उत्पादन दोब्बर हुने अनुमान रहेको माइजोगमाईस्थित मलुमझुवाका किसान राम आचार्य बताउँछन् । आचार्यका अनुसार यो वर्ष वैशाखदेखि असारसम्म अलैँचीलाई आवश्यक पर्ने पानी परेकाले उत्पादन बढेको हो ।


ADVERTISEMENT

# # #


 

विगतका वर्षमा रोगले शिथिल बनाए पनि यस वर्ष अलैँचीमा रोग देखिएको छैन । ‘टिप्ने र छोडाउने काम एकैचोटी चलेको छ, उत्पादन बढेको छ,’ आचार्यले बताए। गत वर्ष साढे दुई क्विन्टल भएकामा यस वर्ष ६ क्विन्टल अलैँची उत्पादन हुने अनुमान छ । उत्पादन बढे पनि अलैँचीको भाउ नआएकाले किसान निराश छन् । खेती प्रविधिमा सुधार गरेर किसानले अलैँचीको उत्पादन बढाए पनि विगतका वर्षमा भन्दा यस वर्ष भाउ खुम्चिएको छ ।

 

कोरोनाले समस्यामा पारेकाले अलैँचीको प्रतिमन रु ३० हजार पुग्न सकेको छैन । खेतबारीको अधिकांश भागमा अलैँचीखेती नै लगाएकाले बजार मूल्यमा नै बेच्न बाध्य हुनुपरेको माइजोगमाई–१ नयाँबजारका किसान धर्म भट्टराई बताउँछन् । अलैँचीको तालिमपछि आफूले खेतीमा सुधार ल्याए पनि कम मूल्यमा अलैँची तौलिनुपरेको भट्टराईको दुखेसो छ ।

 

भट्टराईको यस वर्ष मात्रै १५ मन अलैँची उत्पादन हुने अनुमान छ । तर भाउ २० हजारकै अुनपातमा भएकाले आम्दानी धेरै नहुने उनी बताउँछन् । विगतका वर्षमा अलैँची कम उत्पादन हुँदा अलैँचीको भाउ प्रतिमन एक लाखसम्म पुगेको थियो ।

 

सीमामा सकस

कोरोनाले नेपालका सीमावर्ती क्षेत्रमा सिल भएपछि अलैँची निर्यातमा समस्या छ । पूर्वी क्षेत्रको मुख्य भन्सार मेची भन्सार काँकडभिट्टा क्षेत्रमा सिल भएकाले अलैँची निर्यातमा सकस परेको व्यवसायीको भनाइ छ । महामारीले भारतीय बजार छिटपुट मात्रै खुला छन् । सदाजस्तो खुला नभएकाले थोरै परिमाणमा मात्र अलैँची निर्यात भइरहेको अलैँची व्यवसायी सङ्घका सचिव मातृका घिमिरे बताउँछन् ।

 

नेपालबाट जाने अलैँची भारत भएर नै तेस्रो मुलुक जान्छ । केही समयअघि भारतले अघोषित नाकाबन्दी गरेकाले १४ दिनसम्म अलैँचीलगायत कृषिजन्य पदार्थ नेपालतर्फ थन्कियो । यस्ता समस्या वर्षैपिच्छे आउँदा ठूलो रकम चुना लाग्ने गरेको व्यवसायीको भनाइ छ । व्यवसायी घिमिरेका अनुसार भारतले नेपाली अलैँचीको गुणस्तर घटाउन अनेक तिकडम लाउने गरेको छ । नेपाल सरकारको पहल उचित नहुँदा नेपाली अलैँचीको गुणस्तर विश्व बजारमा पु¥याउन नसकिएको उनको भनाइ छ ।

 

नेपाली अलैँचीको गुणस्तर अन्य ठाउँको भन्दा राम्रो हुँदा पनि कम मूल्यमा बेच्नुपरेकाले राष्ट्रलाई आम्दानीमा घाटा परेको घिमिरेको भनाइ छ । आव २०७६-७७ मा ५० लाख १२ हजार ६९४ किलो अलैँची नेपालबाट निकासी भएको वैदेशिक रोजगार तथा प्रवद्र्धन केन्द्रको तथ्याङ्क छ । रासस