विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण गत चैतदेखि बन्द रहेको हवाई सेवा सरकारले भदौ १ गतेदेखि खुलाउने निर्णय गरेको थियो । त्यही अनुसार विभिन्न आन्तरिक हवाई सेवा कम्पनीहरुले सुरक्षित उडानका लागि पूर्वअभ्यास समेत गरे । कतिपयले टिकट काट्न समेत सुरु गरेका थिए । तर, देशमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले १६ गतेसम्मलाई हवाई सेवा स्थगित गरेको छ ।  थपिँदो निषेधाज्ञाले हवाई सेवा खुल्ने बिषय पनि अनिश्चित जस्तै बनाईदिएको छ । अब हवाई सेवा कहिले खुल्छ ? यो बीचमा नेपालको आन्तरिक हवाई क्षेत्रमा के कस्तो प्रभाव परेको छ ? निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक  संस्था यति एयरलाइन्सले उडानका लागि के कस्ता योजना बनाएको छ ? लगायतका विविध विषयमा  यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ ) अनोज रिमाल सँग हिमालय पोष्टले  गरेको कुराकानी  : 


ADVERTISEMENT


कोरोना भाइरसका कारण विगत पाँच महिनादेखि आन्तरिक हवाई सेवा ठप्प हुन पुग्यो । कस्तो छ अहिलेको अवस्था ? 


ADVERTISEMENT

# # #


अहिले हवाई सेवा उद्योगको अवस्था साह्रै दयनीय र भयावह छ । किनभने हामी विगत ५ महिनादेखि बन्दको अवस्थामा छौं । हवाइ सेवा आफैंमा सबैभन्दा बढी खर्च हुने क्षेत्र हो । किनभने यसमा लगानी पनि धेरै नै हुन्छ । ऋण पनि धेरै हुन्छ । सञ्चालनका लागि पनि धेरै कर्मचारीहरु राख्नुपर्ने, प्राविधिक जनशक्तिहरु धेरै चाहिने भएकाले यो क्षेत्रलाई जोगाउनका लागि सबै एयरलाइन्स कम्पनीहरुलाई अहिले धौ धौ छ । यो अझै लम्बिँदै जाने हो भने हवाई सेवामा संकट आउँछ ।

कोरोनाले नेपालको हवाई क्षेत्रलाई केकस्तो प्रभाव पारेको छ ?  

पहिलो कुरा त उडान नै भएन । त्यो भएकाले कमाई शून्य नै भयो । तर, एयरलाइन्समा गर्नै पर्ने खर्चहरु हुन्छ । जस्तो, कर्मचारीलाई दिने तलब बाहेक इन्स्योरेन्सलाई दिने प्रिमियम जहाज नउडे पनि तिर्नै पर्छ । त्यो पैसा पनि धेरै नै हुन्छ । अर्को, जहाजहरु यत्तिकै राखिराख्न मिल्दैन । समय समयमा हेरविचार गर्नुपर्छ, पाटपूर्जाहरु चेकजाँच गर्नुपर्ने हुन्छ । नत्र भने त्यसले ठूलो समस्या सिर्जना गर्छ । त्यस्तै पाइलटहरुको गर्नैपर्ने ट्रेनिङहरु पनि जहाजमा गर्नुपर्छ ।

यसमा यति धेरै लगानी छ कि अहिले धान्न सक्ने अवस्था नै छैन । अहिलेसम्म जेनतेन चलिरहेको छ । तर, तत्काल सुचारु नहुने हो भने नेपालका सबै हवाई सेवाहरु धरासयी हुने अवस्था आउँदैछ । 

भदौ १ गतेदेखि सुचारु हुने भन्ने थियो । त्यसपछि १६ गतेसम्म सारिएको छ । देशमा कोरोना संक्रमितको संख्या बढिरहेकाले अब तोकिएको मितिमै सेवा सुरु हुनेमा अन्योलता बढेको छ । सेवा सञ्चालनका लागि सरकारी निकायसँग कसरी समन्वय भइरहेको छ ? 

कोभिड–१९ को जोखिम त छ । तर, यस्तो बेला पनि निषेधाज्ञा जारी गरिएका बाहेक अन्य ठाउँमा यात्रुहरु आउजाउ गरिरहनुभएकै छ । कोही प्राइभेट गाडीमा, कोही एम्बुलेन्समा, माईक्रोबसमा पनि बुक गरेर आवत जावत गर्नुभएको छ । यसले एकातिर जोखिम बढाएको छ भने अर्कोतिर महंगो शुल्क तिर्नुपरेको छ ।

त्यत्रो संक्रमण फैलिँदा पनि अमेरिकामा एयरलाइन्सहरु बन्द भएनन् । तर, हाम्रो देशमा सबैभन्दा प्रभावित एयरलाइन्स नै भए । त्यसकारण हामीले सम्बन्धित मन्त्रालयलाई, सरकारलाई बारम्बार अनुरोध गरिरहेका छौँ कि अब हवाई सेवा बन्द नगरौँ ।

कोभिड सँगसँगै आवश्यक सुरक्षा सावधानी अपनाएर सेवा सुचारु गरौँ भनिरहेका छौँ । नेपालमा सबैभन्दा लामो फ्लाइट भनेको एक घण्टाको मात्रै हो । त्यसकारण यात्रा गर्दा सबैभन्दा कम जोखिम भनेकै हवाई सेवा हो ।

यसले बढी पैसा लिएर यात्रु ठग्ने विकृति पनि अन्त्य हुन्छ । त्यसकारण चाँडोभन्दा चाँडो सञ्चालन गर्नका लागि सरकारलाई दबाब दिइरहेका छौँ ।

अन्य भन्दा हवाईसेवा कत्तिको सुरक्षित छ ?  

यस्तो अवस्थामा सबैभन्दा सुरक्षित एयरलाइन्स नै हो । किनभने जहाजभित्र पस्नुअघि धेरै किसिमका सुरक्षाका मापदण्ड पालना गर्नुपर्छ । चढिसकेपछि नउत्रिँदासम्म त्यो कायमै रहन्छ । हवाई यात्रा गर्नुअघि आफू कोरोना संक्रमित नभएको यकिन गर्नुपर्छ । यस्तै नेपाल नागरिक उड्डयन प्रधिकरण, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन र इन्टरनेसनल सिभिल एभियसन एशोसिएसन (आइकाओ)ले तोकेको मापदण्ड पनि पूरा गर्नुपर्छ । यस हिसाबले संसारभरि नै एयरलान्स सुरक्षित हुन्छ ।

यात्रु र कर्मचारीहरुको सुरक्षाका लागि के कस्ता सावधानी अपनाउँदै हुनुहुन्छ ?

सर्वप्रथम त कर्मचारीहरुलाई संक्रमण नहोस् भनेर क्याबिन क्रुहरुलाई पीपीईको व्यवस्था छ । यस्तै अग्रपंत्तिमा खटिने कर्मचारीहरुलाई पनि पीपीईको व्यवस्था गरिएको छ । यात्रुहरुको लागि हामीले सुरुमै तापक्रम नाप्ने, सेनिटाइज गर्ने, मास्क र फेस सिल्ड लगाउन दिने, जहाजसम्म लैजाँदा संक्रमणरहित बस प्रयोग गर्ने भएकाले यात्रु सुरक्षित नै हुन्छन् । तयारी पूर्ण रुपमा भइसकेको छ ।

हामीले महिनौँदेखि पूर्वाभ्यास पनि गरेका छौँ । सरकारले खोलेको खण्डमा हामी जुनसुकै बेला उडान भर्न सक्छौँ ।

यो बीचमा हवाई सेवामा कति घाटा भयो ? यसका लागि सरकारी तर्फबाट कस्तो राहत पाईएको छ ? 

यस सम्बन्धि विभिन्न तथ्याङ्कहरु आइरहेका छन् ।

मेरो अनुमानमा सम्पूर्ण हवाई क्षेत्रमा ६ अर्ब माथिको घाटा भएको छ । यो अझै बढ्दो छ ।

किनभने बैँकको ब्याज अहिले नभए पनि पछि तिर्नु परिहाल्यो, कर्मचारीलाई तलब दिनु परिहाल्यो । भाडादेखि लिएर अन्य खर्चहरु पनि छन् । राहतको कुरा गर्दा मौद्रिक नीतिमा अलिअलि सम्बोधन भएको देखिन्छ । तत्काल तिर्नुपर्ने सावा र ब्याजलाई १ वर्षसम्म सारिएको छ । त्यो राम्रै कुरा हो । ५ प्रतिशत ब्याजमा सञ्चालन खर्चको लागि ‘वर्किङ क्यापिटल’ दिने भन्ने कुराको कार्यान्वयन राम्रोसँग भइसकेको छैन ।

यस्तै पार्किङमा ७५ प्रतिशत छुट दिईएको छ । त्यो सराहनीय नै हो । एयरपोर्टको भाडामा अलिअलि छुट दिईएको छ । त्यो बाहेक दिनुपर्ने कतिपय क्षेत्रमा राहत दिन सकेको छैन ।

एक दुई वर्ष हवाई सेवा मुनाफामा जाने अवस्था छैन । त्यसकारण राष्ट्र बैँकले मैद्रिक नीति पूर्ण कार्यान्वयन गर्नुपर्छ । कर, भन्सारमा छुट दिनुपर्ने हाम्रो माग थियो । त्यसमा कुनै सम्बोधन हुन सकेको छैन । सबैभन्दा महत्वपूर्ण कुरा भनेको हवाई इन्धनको हो । नेपालमा यो एकदमै महंगो छ । यसमा सरकारले धेरै छुट दिन सक्थ्यो !

किनभने यसमा अन्तर्राष्ट्रिय बजारको तुलनामा मुनाफा ४०–४५ प्रतिशत छ । इन्धनको मूल्य घट्यो भने भाडादर पनि घट्छ । सरकारले यी कुरा हेर्नुपर्छ जस्तो लाग्छ ।

अब तपाईं सम्वद्ध यति र तारा एयरको कुरा गरौँ । अहिले यति समूहसँग विमानको संख्या कति छ ? कहाँ कहाँ उडान हुन्छ ?

हामीसँग अहिले ५ वटा जेटस्ट्रिम र ५ वटा एटीआर गरेर १० वटा विमान छन् । तारा एयरका ४ वटा ट्वीन अटर छन् । जसमध्ये तारा एयरले हुम्ला, जुम्ला, बाजुरा, मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा लगायतका दुर्गम ठाउँहरुमा उडान गर्छ । यतिले काठमाडौँबाट भद्रपुर, विराटनगर, जनकपुर, भरतपुर, पोखरा लगायतका सहरी क्षेत्रमा उडान गर्छ । लगभग ८ सयजति कर्मचारीहरुहरुको हाम्रो यति परिबार रहेको छ ।

कोभिड–१९ को कहरकै बीच सीईओका रुपमा आउनु भएको छ । यति एयरलाइन्सलाई कस्तो बनाउछु भन्ने योजनाहरु छन् ?

यो वर्ष त कसरी जोगिने भन्ने नै  हो । त्यसका लागि हामीले योजना बनाइ नै रहेका छौँ । हाम्रो तर्फबाट, ‘प्रमोटर’का तर्फबाट प्रयास र सहयोग भएपनि सरकारका तर्फबाट हुन सकेको छैन । त्यसकारण कठिनाईहरु धेरै नै छन् । सबै जहाजहरु उड्नसक्ने तयारीमा छन् । त्यसका लागि जनशक्ति पनि तयार छ ।

यो एक वर्ष धराशयी हुनबाट हामी बच्यौँ भने पर्यटन पूरानो लयमा फर्किँदा हाम्रो अवस्था राम्रो हुन्छ । त्यसको लागि हामी योजना बनाइरहेका छौँ । हाम्रो दीर्घकालीन लक्ष्य के छ भन्दा भाडादरमा प्रतिस्पर्धा गर्ने भन्दा पनि राम्रो भन्दा राम्रो सेवा दिएर यात्रुलाई सुरक्षित तरिकाले गन्तव्यमा पुर्‍याउने हो ।

फ्लाइट र गन्तव्यहरु थप्ने योजना छ कि छैन ?

कोरोनाको त्रास कम भयो भने पर्यटक पनि आउलान् । त्यो भयो भने हामी जहाज पनि थप्ने, गन्तव्यहरु पनि थप्ने योजना बनाएका छौं ।

नेपालको आन्तरिक हवाई क्षेत्रको बजार कस्तो छ ?

हवाई सेवामा आपूर्तिको तुलनामा माग कम छ । त्यसले गर्दा भाडादर घटेको छ । बजार सानो भए पनि एकदमै प्रतिस्पर्धात्मक अवस्था छ ।

आम यात्रुहरुलाई जहाजमार्फत यात्रा गर्न कसरी प्रोत्साहित गर्न सकिन्छ ? 

तपाईं जहाजमार्फत १७–१८ सयमा नै काठमाडौँबाट पोखरा जानसक्नुहुन्छ । जबकी एउटा राम्रो बसमा जाँदा पनि १२–१३ सय पर्छ । फेरि बीच बाटोमा खाना, खाजा खानुपर्‍यो, बाटोमा बाढी पहिरोको डर हुन्छ । समय धेरै जान्छ । विराटनगर जाँदा पनि त्यस्तै हो । त्यसको तुलनामा प्लेनको भाडादर धेरै सस्तो छ । ५–७ सय बढी तिर्नेबित्तिकै तपाईं २० मिनेटमै गन्तव्यमा पुग्नुहुन्छ ।

गाडी भन्दा जहाज यात्राका दृष्टिकोणले सहज र सुरक्षित पनि हुन्छ । समयको बचत हुन्छ । पहिलेको तुलनामा जहाजको भाडा धेरै घटेको छ । अझै सरकारले इन्धनको मूल्य घटाइदिने हो भने यात्रुका लागि पनि धेरै राहत हुन्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

सरकरसँग मेरो त्यही अनुरोध छ कि कोभिडको सुरक्षालाई दृष्टिगत गरेर चाँडो भन्दा चाँडो हवाई सेवा खोल्नुपर्छ । त्यसको लागि सुरक्षाका कामहरु एयरलाइन्सहरुले आफै गरिहाल्छन् । यात्रुहरुले पनि यस्तो अवस्थामा एक ठाउँबाट अर्को ठाउँसम्म जानका लागि हवाई सेवा नै सुरक्षित र सहज माध्यम हो । त्यसकारण अहिले जहाज मार्फत यात्रा गर्नु भनेको सुरक्षाका हिसाबले ढुक्क हुनु हो । अब हवाई सेवा बन्द गरेर होईन खोलेर जनजीवन सहज बनाउनुपर्छ ।