भक्तपुर– अट्ठाइस वर्षपछि शुरु भएको चार दिन लामो महाकाली नाच आजदेखि सकिएको छ । मध्यपुरथिमि नगरपालिका–५ र ६ का युवा मिलन केन्द्र आबद्ध युवाको सक्रियतामा महाकाली नाच संरक्षण समिति गठन गरेर यस वर्षदेखि यो नाच सञ्चालन गरिएको हो ।


ADVERTISEMENT


गत २१ गते राति मध्यपुरथिमि–५ भुँलाखेलस्थित नित्यनाथको पूजा गरी शुरु भएको यो नाच प्रत्येक दिन टोलटोलमा गएर नचाइएको समितिका अध्यक्ष सूर्यमान श्रेष्ठले बताए । नाच दथुटोल, दिगुटोल, गँंगछिपा टोल, चपाचो, पोवु टोल, भुँलाखेल, वाःननी हुँदै थिमिको विभिन्न टोल र चोकचोकमा नचाइएको थियो ।


ADVERTISEMENT

# # #


नाचका गुरु हरिबहादुर कैती श्रेष्ठले आदिमकालदेखि नै देवासुर सङ्ग्राममा आधारित रहेर असुरलाई पराजित गरेपछिको विजयोत्सवका रुपमा यो नाच सातदेखि नौ तालमा नाचिने बताए । नाचमा देवी एक, महालक्ष्मी एक, वेता चार, भूत भैरव दुई, सिंह एक, कवां दुई, ख्याः दुई, माकः दुई गरी १५ जना टोली हुन्छ ।

नाच सञ्चालनका लागि मध्यपुरथिमि नगरपालिका, कलाकार, समिति आबद्ध व्यक्ति, स्थानीय बासिन्दा र सङ्घसंस्थाहरुबाट रकम संकलन गरेर नाच सञ्चालन गरिएको हो । अध्यक्ष श्रेष्ठका अनुसार यो नाचलाई अब हरेक वर्ष सञ्चालन गरिने छ ।