काठमाडौँ – गत वर्ष भदौ २० गते वीरगन्ज महानगरपालिकामा विद्यालय जाँदै गर्दा एसिड प्रहारबाट घाईते बनेकी १५ वर्षीय  मुस्कान खातुनमाथि एसिड प्रहार गर्ने अभियुक्तलाई कारवाही हुन सकेको छैन । परिवारले एसीड आक्रमण गर्ने दुबै जनाको नक्कली जन्मदर्ता बनाएर छुटाएको र अहिले अभियुक्त खुल्लमखुल्ला हिँडिरहेको आरोप पिडीतको छ ।


ADVERTISEMENT


बीरगञ्ज – ३ छपकैयाबाट वीरगन्ज–६ मा रहेको त्रिभुवन हनुमान माध्यमिक विद्यालयमा पढ्न जाने क्रममा वीरगन्ज–४ विर्तास्थित गणेशमान चोकमा मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो । बाटो कुरेर बसेका सम्साद मिया र मजिद आलम एसिड आक्रमण गरी मुस्कानलाई घाइते बनाएका थिए । १५ वर्षीय मुस्कानलाई नातामा पर्ने मजिद आलमले मन पराएको र उनले चाहे बमोजिम मुस्कानले नमानेपछि समसाद मियाको सहयोगमा एसिड प्रहार गरेका थिए ।


ADVERTISEMENT

# # #


नारायणी अञ्चल अस्पतालले दुबै अभियुक्तको उमेर १८ देखि २० वर्षको भएको प्रमाणित गरेपनि परिवारले १२ वर्ष र १३ वर्ष उमेरको नक्कली जन्मदर्ता बनाएर अभियुक्तलाई छुटाएको आरोप खातुनको छ । ‘६ महीनादेखि अभियुक्त बाहिर छन्, परिवारले १ लाख घुस खुवाएर गाउँबाट १२ र १३ वर्षको नक्कली जन्मदर्ता बनाएर छुटाएको छ,’ खातुनले एक टेलिभिजन अन्तरवार्तामा भनिन् ।

मुस्कानमाथि एसिड आक्रमण गर्ने दुई जना अभियुक्तलाई बालसुधार गृह पठाइएको थियो । पर्सा जिल्ला अदालतको आदेशअनुसार मुस्कानमाथि एसिड प्रहार गर्ने अभियुक्तद्वयलाई बालसुधार गृह पठाइएको हो । अदालतमा पेश भएको मिसिलमा दुवै अभियुक्तको उमेर १८ वर्ष पुगेको प्रमाण नभएपछि कारागारमा नभई बालसुधार गृहमा राख्न आदेश अदालतले दिएको थियो । मुस्कानकाअनुसार ६ महीनामै दुबै अभियुक्त बालसुधार गृहबाट पनि बाहिर निस्किसकेका छन् ।

डाक्टर बन्ने सपना देखेकी उनी उक्त घटनापछि परिवार समेत अलपत्र परेको बताउँदै एसीड प्रहार गर्नेमाथिको कमजोर कानूनका कारण पीडितलाई झन पीडा दिने गरेको बताउँछिन् । एसीड विक्रीका लागि अनिवार्य लाइसेन्सको व्यवस्था हुनुपर्ने र एसीड प्रहार गर्नेलाई कडा कारवाही हुनुपर्ने उनको भनाइ छ । हालसम्म ४ वटा शल्यक्रिया गराइसकेकी उनी उपचाररत छिन् । ‘अहिलेसम्म २५ लाख भन्दा बढी उपचारमा खर्च भइसकेको छ,’ उनी भन्छिन्, ‘एसीड प्रहार गर्नेलाई जन्मकैद भएको हेर्न चाहन्छु ।’

नेपालमा एसीड प्रहारमाथि कडा कानून हुनुपर्ने उनी बताउँछिन् । अहिलेको नेपालको कानूनअनुसार एसीड प्रहार गर्नेलाई दिन र रात गरी ४ वर्ष कैद सजायमै उन्मुक्ति मिल्ने गरेको छ