उमा केसी, रोल्पा – अघिल्लो वर्ष वैशाख महिनमा ८३ वर्षीया आमाको मृत्युपछि आमाको सम्मान र सम्झनामा रोल्पा सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले घर नजिक चौतारी बनाए । आमाको मृत्यु भएको तिथिमा हरेक वर्ष उनी सोही चौतारीमा पुगेर आमाप्रति श्रद्धाञ्जलि दिन्छन् र आमाको सम्झना मनमा बोकेर घर फर्किन्छन्।


ADVERTISEMENT


तीन वर्षको उमेरमा बुबा गुमाएका रोल्पाका पत्रकार खेम बुढालाई बुबाको अनुहार नै याद आउँदैन । उनले आफू सानो छँदा बुबाको मृत्यु भएको कुरा आमाको मुखबाट सुनेका हुन् । बुढालाई बुबाको सम्झना बढी नै आयो भने घर नजिकै रहेको बिसौनी पुग्छन् र धित नमरुञ्जेल बुबाको नाममा बनाइएको बिसौनीमा टोलाएर हेरिरहन्छन् । बुबा मात्र होइन पुस्तौँसम्मका पितृको लहरै बनेको चौतारी बुढालाई पितृको स्मरण गर्ने एक भावनात्मक माध्यम बनेको छ ।


ADVERTISEMENT

# # #


सुनछहरी गाउँपालिकाका अध्यक्ष पुन र पत्रकार बुढाजस्तै रोल्पाका आदिवासी जनजाति मृतक आफन्तको सम्झनामा चौतारी बनाउने गर्छन् । यसैलाई ‘चिनो चौतारी’ भनिन्छ र नै यहाँका मगर समुदायको संस्कृतिका रुपमा मानिन्छ । यो यहाँको सदियौँ पुरानो चलन हो र यसलाई यहाँको पछिल्लो पुस्ताले पनि पछ्याइरहेको छ । अहिले पनि यहाँ यो एक प्रकारको जीवन्त संस्कृतिका रुपमा मानिएको छ ।

चिनो चौतारी जनजाति समुदायभित्र मगरहरुले धुमधामका साथ बनाउने गर्दछन् । चिनो चौतारी आफन्त मरेको १३औँ दिनदेखि छ महिनाको बीचमा बनाउने चलन छ । कसैले मृतकको तेह्रौँ दिनको शुद्धकार्यका दिन निर्माण गर्छन् भने कसैले तीन वा छ महिनाभित्र गर्ने गरेको मगर संस्कृतिका जानकार स्थानीयवासी खेमबहादुर बुढामगरले बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका केन्द्रीय सल्लाहकारसमेत रहेका बुढाका अनुसार आफन्त टाढा रहेकाहरुले केही समय ढिला गरेर चिनो चौतारी निर्माण गर्ने गर्दछन् । हरेक परिवारको फरक–फरक चौतारी हुने गर्छ । थपिएका नयाँ मृतककोसमेत सोही लहरमा शिलालेखसहितको चौतारी बनाइन्छ । ढुङ्गामा लेखिएको व्यहोरा सबैले सुन्नेगरी वाचन गरिन्छ । चौतारीमा राखिएको त्यस शिलालाई मृतकको प्रतिकको रुपमा हरेक वर्षको तिथिमा पूजा गर्ने गरिन्छ । यसलाई मगरहरु पितृलाई श्वास बुझाउने भन्छन् ।

मगरहरुको मृत्यु संस्कारको रुपमा वृक्षी जाने चलन पनि छ । चोप निस्कने रुखमा मृतक श्रीमान्को नाममा श्रीमतीले र बुबाको नाममा छोराहरुले आफूले लगाएका कपडा र टोपी रुखमा छोडेर घर फर्कने चलन छ । पुराना कपडा रुखमा झुण्ड्याएसँगै उनीहरुलाई माइती र मावली पक्षले दिएका नयाँ कपडा लगाएर घर फर्कने चलन रहेको छ ।

शिलासहित बनेको चौतारीमा बिरुवा रोप्ने चलन छ । शिलापत्र तयार गर्ने र बिरुवा रोप्ने आफ्नै विधि र मान्यता रहेको हुन्छ । शिलापत्रमा मृतकको सामान्य परिचय खुलाइएको हुन्छ । मृतकको तीन पुस्ते विवरण खुलाएर लेखिने सो शिलापत्रमा चिना चौतारी बनाइदिनेहरुको पनि नाम उल्लेख गरिएको हुन्छ । तीन वा पाँच कन्या राखेर जैसीले विधिपूर्वक शिलाको अनावरण गर्दछन् । चौतारीमा बर पिपल, लाँकुरी, पाखरीजस्ता छहारी दिने बिरुवा लगाउने चलन भए पनि आजभोलि आँप, अम्बाजस्ता फलफूल रोप्ने चलन बढ्दै गएको नेपाल मगर सङ्घ रोल्पाका अध्यक्ष कुमबहादुर पुनको भनाइ छ ।

चौतारीमा रोप्ने बिरुवा भने ईष्टले ल्याउनुपर्छ । मृतकका बहिनी र छोरीका श्रीमान् (ज्वाइँ) ले ल्याएको बिरुवा चौतारीमा रोपिन्छ । धेरै ईष्ट हुनेहरुमा त कसले रोपेको बिरुवा राम्रो हुने भनेर प्रतिस्पर्धा नै हुन्छ अध्यक्ष पुनले भने । रोपेको बिरुवा हुर्काउने जिम्मेवारी पनि ईष्टकै हुन्छ ।

हरेक वर्ष साउन र माघमा मृतकको तिथि पारेर चिनो चौतारीको पूजा गर्दछन् । “उधौली र उभौली भनेर दुई पटक पितृको सम्झना गरिन्छ । मगरहरु बिहीबारलाई सेउरेबार मान्ने हुनाले उधौली उभौलीमा बिहीबार मात्रै चिना चौतारीको पूजा गर्ने गरिन्छ पुनले” अध्यक्ष पुनले भने। पितृ पूजामा धेरै परिकार जुटाउनुपर्ने भएकाले त्यस्ता परिकार माघे सङ्क्रान्तिमा जुट्ने हुँदा सो दिन पनि चिनो चौतारीको पूजागर्ने चलन छ । माघे सङ्क्रान्तिको दिन भने बार हेरिँदैन उनले भने ।

आमा बुबाको चिनो चौतारी वनाउने जिम्मेवारी छोराछोरीको हुन्छ । बुबाआमाको मृत्युपश्चात नातीनातिनाले भने मृतक वाजेवज्यैलाई विदाई गर्ने चलन छ । “बुबाआमाको पूजा गर्दा त्यसअघिका पितृलाई कुलको रुपमा पूजा गर्ने गरिन्छ” समाजसेवी कृष्णबहादुर घर्ती मगरले भने। चिनो चौतारी पूजा गर्दा हरेक वर्षको तिथिमा भाले काटेर रगतका साथै रक्सी र अन्य परिकार चढाउने चलन छ । मृतक महिलाको औँशीमा र पुरुषको पूर्णिमामा यस्ता चौतारी बनाउने चलन छ । कसैकसैले मृत्युपूर्व नै आफ्नो चिनो चौतारी बनाउने पनि गरेका छन् ।

परम्परा जोगाउन मुस्किल

मृतक आत्माको सम्झना र सम्मानका लागि गरिने यो परम्परा अथारमगरात क्षेत्रमा जीवन्त रहे पनि पछिल्ला दिनमा हुँदै गएको यातायातको विकासले यसको मूलमर्म परिवर्तन हुने अवस्था आएको पनि देखिएको छ । पहिले गह्रौँ भारी बोकेर घन्टौँ तथा दिनहुँ हिँड्नुपर्ने बटुवालाई लक्षित गरेर यस्ता चिनो चौतारी बनाउने गरिएको थियो । चर्को घाममा ठूलो भारी बोकेर हिँड्ने भरिया र अन्य बटुवाहरु यस्ता चौतारीमा बसेर थकाई मार्ने चलन थियो । भारी बोक्दा सास फेर्न गाह्रो हुने गरेकाले शीतल तथा बढी अक्सिजन दिने खालका बर पिपललगायतका बिरुवा लगाउने प्रचलन थियो । तर देशका धेरैजसो ठाउँमा सडकको विस्तार हुँदै गएपछि ती बर पिपलको छहारीसहितका चौतारी पनि हराउन पुगेका छन् । त्यसैले पनि यो संस्कृतिको सामाजिक महत्वसमेत घट्न थालेको देखिएको छ ।

पछिल्ला दिनमा सडक विस्तारसँगै प्रतिक्षालय बनाउने कामको थालनी हुन थालेको छ । घरनजिक सामान्य खालको चिनो बनाउने र बस बिसौनीमा चौतारी तथा प्रतिक्षालय बनाउन थालिएको नेपाल मगर सङ्घ रोल्पाका अध्यक्ष कुमबहादुर पुनले बताए। परम्परागत संस्कृति बनेको चिनो चौतारी बनाउने काम पछिल्लो पुस्ताले पनि अनुशरण त गरेको छ तर समाजमा विकासको गतिसँगै केही परम्परामा परिवर्तन पनि हुँदै गएको छ । यातायात क्षेत्रमा आएको परिवर्तनले हाम्रा कतिपय यस्ता सांस्कृतिक आयाम पनि परिवर्तन ल्याएको स्पष्ट देख्न सकिने स्थानीय अगुवाहरु बताउँछन् ।

अथार मगरात क्षेत्रमा नै मृत्यु संस्कारमा एकरुपता छैन । तेह्रौँ दिनको पुण्य तिथिमा गरिने अन्तिम संस्कार पछिल्ला दिनमा परिवर्तन भएको छ । मगरात क्षेत्रका कतिपय ठाउँमा अझैपनि १३ दिनसम्म मृत्युकर्म गरिन्छ भने कतिपय ठाउँमा ७ दिनमा पनि झारिएको छ । कतिपय ठाउँमा त मरेको भोलिपल्ट नै शुद्धकार्य गर्ने प्रचलन थालिएको छ । “संस्कारमा रहेको विविधतालाई एकरुपता दिने प्रयास गरिरहेका छौ, संस्कार परिवर्तन चुनौतीपूर्ण छ” अध्यक्ष पुनले भने । संस्कार एकैपटक परिवर्तन गर्न निकै गाह्रो विषय भएकाले यसलाई विस्तारै परिमार्जन र परिवर्तन गर्दै लगिने पुनको भनाइ छ । मृत्यु भएकोे भोलिपल्टै शुद्धकार्य गर्ने र राँगा, बोकाको बलि दिने चलन विस्तारै हट्दै जान थालेको उनले बताए ।

विगतमा चिनो चौतारी बनाउने काम धुमधामका साथ गरिन्थ्यो । बाजागाजासहित छोरीचेली र आफन्तहरुको उपस्थितिमा बनाउने चलनमा केही परिवर्तन हुँदै गएको छ । तर पनि हाल भने बिसौनी बनाउनुपर्छ भन्ने भावना पछिल्लो पुस्तामा पनि कायम रहेको मगर संस्कृतिका जानकार श्रीकुमारी रोकामगरको भनाइ छ । “आर्थिक अवस्थाअनुसार कसैले अझै पनि भव्य कार्यक्रमसहित लाखौँ रुपैयाँ खर्चेर चिनो चौतारी बनाउछन् भने कसैले सामान्य औपचारिकता निर्वाह गर्ने मात्र पनि गर्दछन्” रोकामगरले भने । मगरका साथै गुरुङ समुदायमा पनि यो चलन रहेको छ । सबै जनजातिको यस्तो चलन भए पनि जातीय समुदायअनुसार चलन पनि फरक–फरक रहेको छ । सामाजिक मूल्यमान्यता र परम्परालाई जीवन्त राख्न नयाँ पुस्ता पनि जागरुक देखिन्छ ।

विसं २०६८ को जनगणनाअनुसार रोल्पाको कूल जनसङ्ख्याको ४४ प्रतिशत मगरको छ । यस जिल्लामा मगरको जनसङ्ख्या दुई लाख २४ हजार ५०६ रहेको छ । घर्ती, बुढा, पुन, बाँठा, रोका, थापालगायतका मगरहरुको बस्ती रोल्पामा छ । मगरपछि गुरुङको पनि जिल्लामा बसोबास रहेको छ । जिल्लाका प्रायःसबै स्थानीय तहमा मगरहरुको बसोबास रहेपनि थवाङ, सुनछहरी, माडी, लुङ्ग्री, परिवर्तन र त्रिवेणी गाउँपालिका र रोल्पा नगरपालिकामा मगरको बाहुल्यता रहेको छ । जिल्लामा ३३ प्रतिशत क्षेत्री, १५ प्रतिशत दलित, दुई प्रतिशत सन्यासी, १ प्रतिशत बाहुन र ५ प्रतिशत अन्य जाती रहेक छन् । रासस