वैजयन्ती शर्मा, काठमाडौँ – कोरोना महामारी अघिसम्म असनमा भारी बोकेर जीविकोपार्जन गरिरहेका शिव बहादुर कार्की रत्नपार्कको पेटीमा टुसुक्क बसिरहेका छन् । उनको हातमा नाम्लो छ । तर, नाम्लोले भारी नपाएको थुप्रै दिन भयो, नाम्लोले भारी नपाएको जति दिन भयो त्यति नै भयो उनको पेटमा एक छाक मात्र अन्न परेको । उनले थुप्रैपटक त्यही नाम्लोमा पासो लगाउने नसोचेका होइनन् । तर जब जब उनी यस्तो सोच्थे, उनका घाँटीमा स्वास्नी बालबच्चा आएर अड्किन्थे र मर्न समेत सकेनन् उनी । बाँच्न, जुन यो सहरले दिएको छैन ।


ADVERTISEMENT


उनी घरी बाटोमा झोला बोकेर हिँडिरहेको कुनै मान्छेलाई आशालाग्दो आँखाले हेर्छन् र घरी आफ्नो हातको नाम्लो हेर्छन् । भन्छन्, ‘यहाँ केही दयालु मान्छेहरुले खाना खुवाइरहेका छन् रे तर त्यसरी खान आत्माले दिँदैन । असनमा सय रुपैयाँमा सादा खाना खुवाउँछ । घरमा छोरालाई पठाउन जम्मा गरेको ६ हजार जति बचेको पैसा थियो । त्यसैले खाना खाइरहेको थिएँ ।’ उनीसँग त्यो पैसा सकिएको छ । अब कहाँ गएर के खाने ? यसको जवाफ उनीसँग छैन ।


ADVERTISEMENT

# # #


उनका १४ वर्षका छोरा र ९ वर्षकी छोरी छिन् । श्रीमती छोराछोरीसहित माइत गएको थुप्रै भयो । कोरोना संक्रमण शुरु भएर काठमाडौँमा लकडाउन हुने भएपछि चैतमा उनी रातारात आफ्नो गृहजिल्ला भोजपुर हानिए । तर, लकडाउन खुकुलो भएपछि उनी फेरि काठमाडौँ आए । काठमाडौँ भित्रिन मनाही थियो, बसले धादिङ नौबिसेमा झार्दियो । त्यहाँबाट चोरबाटो हुँदै असारमा काठमाडौँ छिरे उनी । बिस्तारै सामान्य भारी बोक्ने काम पाइरहेका थिए, काठमाडौँमा फेरि निशेधाज्ञा भयो । ‘रोग आयो भन्छ, केही नगरौँ के गरि खानु ? चैतदेखि भाडा समेत तिरेको छैन घरबेटीले निस्की भन्छ,’ उनले बताए । अब उनी फेरि घर फर्किन चाहन्छन् । घर पुगेपछि काठमाडौँ नफर्किने उनी बताउँछन् ।

यस्तै ब्यथा छ सुर्खेतका कविराज अधिकारीको । ‘भारी बोक्ने काम गर्थेँ, रोगले काम खोस्यो,’ उनी भन्छन्, ‘शुरुमा बसपार्कको एक होटेलमा काम गर्थेँ, पछि होटेल बन्द भयो अहिले जहाँ खालि ठाउँ भेट्यो त्यहीँ पल्टिन्छु ।’ अघिल्लो बिहान उनी गौशाला पुगेर खाना खाएका थिए । ‘टुँडिखेलमा खाना खुवाउँथ्यो, आज खाना बोक्ने गाडी पल्टियो रे,’ अघिल्लो साँझदेखि पानीसम्म नपिएका उनले बताए । घरमा बूढी छोराछोरी छन्, घरको जिम्मेवारी उनको काँधमा छ । पहिले दैनिक २ हजारसम्म भारी बोकेर कमाउने उनको आयस्रोतको बाटो बन्द छ । शरीरमा झुण्डाएको पुरानो फोहोर कमिज ठाउँ ठाउँमा च्यात्तिएको छ उनको । कसैले घरसम्म पुर्‍याइदिए घर फर्किन चाहन्छन् उनी ।

उनी भन्छन्, ‘रोगबाट बाँचेर घर जान सकियो भने घर जान्छु, त्यसपछि काठमाडौँ आउँदिन बरु देश (भारत) झर्छु।’ उनी गुनाशो गर्छन्, ‘अहिले जो सत्तामा पुगेका छन्, उनीहरुलाई मैँले जनयुद्धमा भात खुवाएको छु।’ तर आज उनी महीनौँदेखि भोकै भड्किरहेका छन् । काठमाडौँका गल्लीमा भोकै खुला आकाशमुनि पल्टिरेहका श्रमिकहरुलाई यस्तो महामारीमा पनि सरकारले भात नखुवाएको भन्दै उनी असन्तुष्टि व्यक्त गर्छन् । तर पनि उनले प्रधानमन्त्रीको भाषण सुनेका छन्, ‘अब भोकै कोही मर्दैन, भातै मात्र खाने हो भने सरकारले ओछ्यानसम्मै पुर्‍याइदिन्छ ।’

जनकपुरका मुकेश झा घरमा पेन्टिङ गर्ने काम गर्थे । ७ महीना पहिले पेन्टिङ गर्दै गर्दा दिल्लीबजारको ४ तले घरबाट खसेर उनी घाइते भए । त्यसको ३ महीना अस्पताल भर्ना भएपछि उनी बबरमहल आफ्नो डेरामा फर्किए । घाइते झालाई घरबेटीले घरभाडा तिर्न नसकेपछि निकालिदिए र उनी अहिले २ महीनादेखि सडकमा छन् । ‘कहिले मन्दिरमा गएर पल्टिन्छु, कहिले पेटीमै सुत्छु,’ उनले भने । कसैले खाना खुवाइरहेको थाहा पाए उनी त्यहीँ पुग्छन् र खाना खान्छन्, नत्र भोकै सुत्छन् । उनी भन्छन्, ‘६५ वर्षकी आमा फोन गर्छिन्, घर आइजो भन्छिन् ।’ तर उनीसँग घर फर्किनका लागि न त पैसा छ न त गाडी नै चलेको छ ।

काभ्रेका बिजु मर्हजन पनि टुँडिखेलमा खानाको पर्खाइमा छन्। मुखभरी घाउ छ उनको । ‘अलिकति पैसा थियो, अस्ति राति केही केटाहरु आएर कुटेर लिएर गए,’ उनी भन्छन् ।

टुँडीखेलमा यस्तै व्यथा बोकेका सयौँ मान्छे भौतारिरहेका छन् । ‘खाना आयो’ भन्ने आवाज जता सुनिन्छ, भीड त्यतै मोडिन्छ । ह्वान्ड्रेड ग्रुप र सिर्जनशील आमा समूहले र व्यक्तिगत रुपमा इन्दिरा राणामगरले दैनिक एक हजार जनालाई टुँडिखेलमा खाना खुवाइरहेका छन् ।

टुँडिखेलमा लस्करै बसेकाहरु सबैको यस्तै व्यथा छ । जहाँ रोगले भन्दा भोकले मर्ने त्रासमा श्रमिकहरु खाना कुरेर बसेका छन् । काठमाडौँभित्रको मुख्य सहरबीचमै अनागरिक बनेका छन् उनीहरु । ‘सरकारले हाम्रो मृत्यु भयो भने कोरोनाको संख्यामा गन्छ कि गन्दैन थाहा छैन, तर हामी मर्‍यौँ भने रोगले होइन भोकले मछौँ,’ काभ्रेका बिजु मर्हजनले बताए । सरकारले के गर्नुपर्छ भन्ने प्रश्नमा उनले गुनाशो गर्दै भने, ‘को सरकाररु मजदूरहरुको पनि सरकार हुन्छ र ?’