ललितपुर – कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मत्स्येन्द्रनाथको रथ यात्राको साइत नमिलेको भन्दै ज्योतिषीहरुले आपत्ति जनाएका छ्न । साइत हेर्दा तिथि र नक्षत्रको शुद्धाशुद्धिमा ध्यान दिइनुपर्नेमा आइतबार चतुर्थी तिथिका दिनको साइत दिइनु गलत भएको तोयनाथ पन्तको पात्रो (पञ्चाङ्ग) का सम्पादक सूर्यनाथ पन्तले बताए । आइतबार नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भएअनुसार रिक्ता समूहमा पर्ने चौथी तिथि परेको छ ।


ADVERTISEMENT


यसैगरी अश्विनी नक्षत्र पनि परेकाले पनि शुभ कामका लागि साइत दिन नहुने उनको भनाइ छ । रिक्ता तिथि र अश्विनी नक्षत्रलाई सूर्यले भेद गरेकाले पनि यस्तो साइत दिनु ठिक नभएको ज्योतिषीहरुको भनाइ छ । ‘पितृपक्ष समेत परेका बेलामा कसरी साइत दिन मिल्छ ? कोरोनाको त्रास फैलिरहेका बेला उपत्यकामा चैत्र शुक्ल पक्षमा मनाइने सेतो मत्स्यन्द्रनाथ, भक्तपुरमा वैशाख १ गतेका दिन मनाइने बिस्केट जात्रा र भाद्र शुक्ल पक्षदेखि आश्विन कृष्ण पक्षसम्म मनाइने इन्द्रजात्रा समेत रोकिएका बेला रातो मत्स्येन्द्रनाथको जात्रा मनाउनै पर्ने कारण के हो ?’ पञ्चाङ्गकार पन्तले भने ।


ADVERTISEMENT

# # #


ज्योतिषविद् एवं वास्तुशास्त्री शिव पोखरेल इन्द्रजात्राको साइतका विषयमा ज्योतिष शास्त्रका बृहत्संहिता लगायत ग्रन्थमा उल्लेख भए पनि रातो मत्स्येन्द्रनाथ साइतका विषयमा उल्लेख भएको ग्रन्थ आफूले नभेटेको बताउँछन् । रातो मत्स्येन्द्रनाथको विषयमा साइत निकाल्ने फरक तरिका उल्लेख भएको ग्रन्थ नभए पनि सामान्यरूपमा साइत दिन नहुने समयकै साइत आइतबार दिइएको पाइएको उनले बताए ।

भदौ २६ गते मत्स्येन्द्रनाथको रथ बुङ्मती लैजाने साइत पनि उस्तै दिइनु गलत भएको ज्योतिष शास्त्रीहरु बताउँछन् । किन आइतबारकै साइत रथ तान्न र भदौ २६ गतेको साइत मत्स्येन्द्रनाथलाई बुङ्मतीमा भित्र्याउन दिइएको भन्ने सम्बन्धमा प्रतिक्रिया लिन जात्रा चलाउने गुठी संस्थान ललितपुरका प्रमुख राजन भुजु र साइत निकाल्ने समूहका ज्योतिषी कीर्तिमदन जोशीसँग पटकपटक सम्पर्क गर्दा पनि उनीहरुसँग सम्पर्क हुन सकेन ।

प्रायःजसो जेठ महिनामै रथयात्रा गरी भोटो जात्रा गरिने मत्स्येन्द्रनाथको कार्यक्रम यस वर्ष कोरोना भाइरस फैलने डरले स्थगित गरिँदै आएको थियो । कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बीच गत हप्ता स्थानीयवासी जात्रा गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएपछि रथ तान्न दबाब परेको थियो । रासस