– राजेन्द्र प्रसाद फुयाल


ADVERTISEMENT


जीवन अवसर र चुनौतिको पहेलीभित्र हुन्छ । सम्भावना, उत्सव र निराशाको खजनाभित्र चलिरहेको हुन्छ । अझ कुन्जीमा भन्नुपर्दा मन पर्ने र नपर्ने छनोट श्रृङ्खलाको प्रक्रिया नै अनन्त जीवनको वर्तमान निचोड मानिन्छ । तर मनुष्यले सुरा–सुन्दरी, धन–दौलत, जवानी–मस्तीमा सजिलै चुर्लुम्म डुबुल्की मार्छ वा प्रयासरत रहन्छ । खानपिनमा तामसी भोजन, दिनचर्या भद्रगोल हुनु स्वभाविक र सामान्य मान्दछ । धर्म संस्कृतिलाई पाखण्डी मान्दछ । ढाँट्नु, छक्याउनु, थर्काउनु, घुर्काउनु, नङग्याउनु र वङ्ग्याउनुलाई कला र चतुर्‍याइँको युग पुरुष ठान्दछ ।
महाभारतको वनपर्वमा यक्षले धर्मराज युधिष्ठिरलाई गरिएको १२५ प्रश्न मध्ये एक प्रश्न अत्यन्त मनन्योग्य छ ।


ADVERTISEMENT

# # #


यक्षः मानव जगतमा भइरहेको सबैभन्दा ठुलो आश्चर्य के हो ?

युधिष्ठिरः जगतको एक मात्र सत्य मृत्यु हो तर कहिल्यै मर्नुृ पर्दैन जस्तो गरेर गरिने मानवीय व्यवहार नै ठूलो आश्चर्य हो ।

ओशोले सयौँ प्रवचनमा उल्लेख गर्नुभएको छ,“हरेक मनुष्यको मृत्यु पूर्व (कम्तीमा ५ मिनेट अगाडि) विगतका दिनहरुको स्मरण सपनाको गतिमा दोहोरिन्छ । सपनाको गति भन्नाले, सपना देखेको ५–७ मिनेटभित्र जन्मदेखि विवाह सम्मका; छोराछोरी हुर्काएको, ठुलो हन्डर खाँदै मृत्युशय्यासम्मको क्षण बुझिन्छ । जब वितेका क्षणहरु अप्राकृतिक र पश्चात्तापपूर्ण देख्छ, करिब करिब ९९ प्रतिशत मानिस त अत्तालिएर मुर्छामा मृत्युलोक पुग्छन् ।” त्यसैले त महात्मा गान्धी भन्नु हुन्छ; “जब तिमीले जन्म लिएका थियौ, तिमी रोइरहेका थियौ तर तिम्रो वरिपरि सबै हाँसिरहेका थिए । यस्तो मरण प्राप्त गर, जब तिमी मृत्युशय्यामा हुनेछौ तिमी हाँसिरहेका हुन्छौ तर तिम्रो वरिपरि रोइरहेका हुन् ।” यो तब मात्र सम्भव हुन्छ; जे गरेँ सम्भव भएसम्म जीवनदायी—सर्वहिताय मै व्यतीत गरेँ । मृत्यु जीवनको अन्तिम सत्य हो । सत्यलाई हार्दिक रुपले स्वीकार्नु सफल मनुष्यको पहिचान हो भन्ने अवस्था सृजना गर्नु नै जीवनको पूर्णता हो । यस प्रकारको मृत्युलाई प्रज्ञावान् तथा सम्बृद्ध मृत्यु भनिन्छ ।

उपनिषद्का ऋषिहरु भन्नुहुन्छः सम्बुद्ध मृत्यु त प्रतिभावान् साधक जो औँलामा गन्न मिल्नेले मात्र प्राप्त गर्छन् । आधा उमेर छँदै होस आएपनि भगवानको कृपा मान्नु पर्छ । तर यस्तो नहोस, जब महसुस हुन्छ धेरै नै ढिला भइसकेको हुन्छ । न शारीरिक रुपमा स्वस्थ न मानसिक रुपमा, यद्धपि जीवनलाई प्राकृतिक साँचोमा थोरै मात्र ढाल्ने प्रयास गरेमा; जस्तो खानापिन, उठवस् , उत्कृष्ट जीवनदायी साहित्य रचनाको अध्ययन, राम्रो सत्संघ र कम्तीमा २४ घण्टामा मात्र १ घण्टा आफ्नो लागि, अन्तर्मनको यात्रालाई जोहो गर्नसके जीवनका धेरै पहेली आफैँआफ सुल्झिदै जान्छ ।

त्यसैगरी संसारमा सर्वाधिक बिक्री भएको किताब, भावनात्मक बुद्धिमत्ताका लेखक ‘ट्र्याभिस ब्राडबेरी’ भन्नुहुन्छ ; “मानिसबाट गल्ती हुनु स्वभाविक हो तर गल्तीबाट सिक्न नसक्नु, दोहोर्‍याउँदै गल्ती गर्नु , गल्ती गर्दै पछुताउनु मानव मनोविज्ञानको आश्चर्यभित्र पर्छ ।” यही पङ्क्तिलाई ओशोले सयौँ प्रवचनमा यसरी उल्लेख गर्नु भएको छ ; “मनुष्यबाट भूल हुनै पर्छ । किनभने भूलबाटै सिक्छ, भूलले नै धारिलो बनाउँछ, भूलले नै तेजस्वीता दिन्छ, भूल नै चुनौति हो । भूल गर, नयाँ–नयाँ भूल गर तर भूल नदाहोर्‍याऊ ! अन्यथा तिमी जडबुद्धिको हुनेछौ ।”

मनोविज्ञानले भन्छ, “गल्ती वा भूल गर्दै सिक्नु नै मानव विकासको कडी हो । मानवीय गल्ती सिकाइको श्रृङखला हो ।” अर्थात एउटा बच्चा जन्मेदेखि हजार गल्ती गर्दै थोमस एल्वा एडिसन जस्तो महान वैज्ञानिक बन्छ र त्यो वैज्ञानिकले पनि सयौं चोटी भूल गरेर अनेकौं यन्त्र तथा युक्तिहरुको आविष्कार गर्दछ । भनिन्छ थोमसले बिजुली बत्तिको आविष्कार गर्ने क्रममा ७०० पटक भन्दा बढी असफल भएका थिए तर उनी कहिल्यै पनि निराश भएनन् । अझ बढी उत्साहित भएर नयाँ–नयाँ प्रयोग, प्रयोगशालामा गरिरहे र विश्वलाई उज्यालो दिएरै छाडे । स्मरण गर्नुपर्ने आर्को कुरा भनेको उनी एक सफल व्यपारी पनि थिए ।

हामीले के सिक्ने त ? सबै थोमस बन्ने प्रयास गर्ने हो ? झन ठुलो भूल हुन्छ । उत्साहित हुने, सृजनात्मक कृयाशिलतालाई जीवन्त राख्ने । त्यो क्रियाशिलता किसानको सफल उत्पादकत्व, कलाकारको कलाकारिता, गृहणीको नयाँ स्वादमा स्वादिष्ट भोजन र एक आमाको असल संस्कार सहितको प्रज्ञावान्, कर्मपे्रमी सन्तानको जन्म र लालन–पोषणबाट हुन सक्छ । अर्थात, कर्मशिल हुने, पेशाप्रतिको निष्ठा सम्भव भएसम्म उत्कृष्ट जीवनदायी सर्वहिताय हुनुपर्छ । व्यक्तिले के काम गर्छ भन्दापनि कसरी गर्छ ? भन्नेले महत्त्व राख्छ ।

श्रीमद् भगवत्गीतामा भगवान कृष्णले भन्नुभएको छ ;
श्रेयान् स्वधर्माै विगुणः परधर्मात्स्वनुष्ठितात् ।
स्वभावनियतं कर्म कुर्वान्नात्नोति किल्बिषमे् ।।४७ ।। श्रीमद्भगवद् गीताः अध्याय १८

अर्थात राम्रो सँग सम्पन्न गरिएको अर्काको कर्म तथा व्यवसायलाई अपनाउनु भन्दा त्रुटिपूर्ण तरिकाले गरिएको भएपनि आफ्नै कर्ममा लाग्नु राम्रो हुन्छ । आफ्नो स्वभाव अनुसार निर्देशित कर्म कहिल्यै पनि पापबाट प्रभावित हुँदैन ।

यसलाई मनन् गरौं त ? स्वधर्म भन्नाले एक सचेत विवेकवान् व्यक्तित्त्वको निर्माण गर्नु हो । जसले अन्तर्मनमा निखार ल्याउन, हर प्रकारको कठिनाइ तथा चुनौतिको सामना गर्न, उत्साहित हुँदै अघि बढ्न भर्‍याङको कार्य गर्दछ । कठिनाई र चुनौतिले जीवनको जिउने कला सिकाउँछ । अरुको ज्ञानलाई सम्मान गर्दै अनुभवमा निखार्ने प्रयास गर्छ । तर यो मानव जातिको लागि फलामको चिउरा सावित भएको छ । सायद यही कारणले होला अधिकांश मानिस नक्कल उतार्ने (कपी–पेष्ट) मार्गमा हिडेको हुन्छ । आज कपी–पेष्ट एक समस्या भइरहेको छ । अर्थात् , बुझेर बुझ पचाउनु, नैतिकताको पाठ गर्दै अनैतिक कर्ममा उत्प्रेरित हुनु, सबै क्षेत्रको विज्ञ तथा सर्वज्ञ जस्तो बनेर सल्लाहकार बन्ने धृष्टता गर्नु र एक मिनेट पनि शान्त भएर म को हो ? स्वयम्लाई प्रति प्रश्न नगर्नु लाई कपी–पेष्टकै परिणाम हो भनिएको छ । यसले अहङ्कारी मात्र होइन, निराशा र पश्चात्तापको भूमरीमा पार्ने काम पनि गर्दछ ।

एक प्रसङ्ग छ; एक सिकारी अफ्रिकाको जङ्गल भ्रमण गर्ने तयारीका लागि सामान किन्न पसल गएछ । कतै जङ्गलमा नहराउँ भनेर दिशासूचक यन्त्र (कम्पास) पनि किनेछ । तर त्यो कम्पासको पछाडि ऐना पनि रहेछ । उसको दिमागमा ऐना किन ? भन्ने लागेछ । यो त एक प्रकारको श्रृङ्गारको बट्टा जस्तो देखिएको थियो । यो ऐना किन भनेर सोधेछ । पसलेले भनेछ । यो कम्पास जंगलमा हराउँदा, काम लाग्छ भने यो ऐना तिमी स्वयम् भड्किदाँ काम लाग्छ अर्थात् को हराएको हो ? को भड्किरहेको छ ? थाहा पाउन काम लाग्छ ।

प्रत्येक मनुष्यलाई गन्तव्यमा पुग्ने महत्वाकांक्षा हुँदो रहेछ तर गन्तव्य कहाँ हो ? तय गर्दो रहेनछ । आश्चर्य त के रहेछ भने, गन्तव्यमा पुगेपछि पनि दौडिरहँदो रहेछ किनकि यो उसको अचेतन मनको अनिवार्यता भइसकेको हुँदो रहेछ अथवा चुप हुन नसक्ने मनोरोगी भइसक्दो रहेछ । कति त पुग्नै नसकेर दुःखी भइरहँदा रहेछन् भने कति दौड प्रतियोगितामा भाग लिन डराउँदा रहेछन् । जब कि, दौड प्रतियोगितामा भाग लिनु लक्ष्य निर्धारण गर्नु हो । सफलताको पहिलो खुट्किलो मात्र होइन आधा कार्य सम्पन्न पनि हो ।

“जब तिमी कुनै कार्य गर्ने कुरा सोच्छौँ, सम्झ तिम्रो आधा काम सम्पन्न भयो ।” जैन धर्मका भगवान, महाविर
“तिम्रो मनमा जुन विचारहरु आएका थिए, जे सोचेका थियौँ, तिमी आज त्यही हौ ।” धम्मपद—भगवान बुद्ध

यी सबै मानिसभित्र रहेको अचेतन मनको शक्ति तथा आकर्षणको बारेमा युगौं युगदेखि भन्दै आएका तथ्यहरु हुन् । आज मनोविज्ञान तथा वैज्ञानिक शोधबाट प्रमाणित भइसकेको छ । जीवनको जिउने कला र विचार–शक्तिको सम्बन्धमा बजारमा अनगिन्ती किताबहरु लेखिएका छन् तर कम्तीमा महान आध्यात्मिक सन्त खप्तड बाबाको, नेपालीमा ‘विचार र विज्ञान’ र अंगे्रजीमा ‘द साइन्स अफ थट’, शिवपुरी बाबा जो पशुपतिनाथ मृगस्थलीमा १३५ वर्षको उमेरसम्म बाँच्नु भएको थियो । उहाँको ‘स्वधर्म’ र एक महान सद्गुरु ओशाको ‘द गोल्डेन फ्युचर’ एक पटक पढ्नुहोस् किनभने यी किताब शोध अनुसन्धानभन्दा पनि माथि आफ्नै जीवनको अनुभवबाट लेखिएका हुन् जसले मानव जीवन सार्थकताका लागि व्यवहारिक रुपमा दिशानिर्देश तथा उत्प्रेरित गरेका छन् ।

हामी गर्वका साथ भन्ने गरेका छौँ, आजको युग विज्ञान र प्रविधिको युग, अनुसन्धान र विवेचनाको युग तथा तर्क र सापेक्षताको युग तर यसलाई साँच्चिकै बुझेर, महसुस गरेर गहिरो अध्ययन गरेर अभिव्यक्ति दिने गरेका छौँ ? हाम्रो अभिव्यक्ति र वास्तविक जीवनमा एक रुपता छ ? कहिलेकाँही एकान्तमा सबै ताछाडमछाड, हापादापी अलग्गै राखेर मनन गरौँ त ! अन्यथा अरुलाई दोष थुपार्दा थुपार्दै औँ निस्सासिएको अवस्थामा त छैनौ ? यदि यस्तै रह्यो भने हाम्रो सन्ततिको अवस्था कस्तो रहला ? कतै हामी भौतिक सुखका लोभमा बहिर्मुखी मार्गद्वारा विवेक शून्य त भएनौ ? सोच्ने बेला भएको छ ।

जीवनको पहेली जटिलताभित्रको सरलतामा खोज्न सकिन्छ न कि सरलता भित्रको जटिलतामा । जापानका एक झेन साधुलाई, तपाइँ यति धेरै रहस्यदर्शी कसरी हुनु भयो ? उत्तरमा “मलाई जब भोक लाग्छ खान्छु, निद्रा लाग्छ सुत्छु, थकाई लाग्छ आराम गर्दछु ।” अर्थात् मनमोजी–विवेकवान् हुनु नै जीवनको सरलतम् दर्शन हो । श्रीमद्भगवद गीताको अध्याय ६ मा भनिएको छ;

नात्यश्नतस्तु योगोऽस्ति न चैकान्तमनश्नतः ।
न चातिस्वप्नशीलस्य जाग्रतो नैव चार्जुन ।।१६।।

युक्ताहारविहारस्य युक्तचेष्टस्य कर्मसु ।
युक्त स्वप्नावबोधस्य योगो भवति दुःखहा ।।१७।।

“जो अत्यन्त धेरै खान्छ वा खाँदै खाँदैन, जो अत्यन्त धेरै सुत्दछ वा रातभरि सुत्दै सुत्दैन त्यो योगी (कर्मठ र कर्तव्य परायण) हुन सक्दैन । अथवा जो खाने, सुत्ने, मनोरञ्जन गर्ने र काम गर्ने शैलीमा नियमित हुन्छ त्यही व्यक्तिले नै योगाभ्यासद्वारा सबै भौतिक पीडाबाट छुट्कारा पाउन सक्दछ ।”

अन्तमा, जीवनको दिनचर्यालाई सरल बनाउँ, अर्थात पाखण्डरहित दिनचर्या बनाउँने प्रयास गरौँ । पाखण्डरहित भन्नाले आचार्य हुनु हो । संस्कृतिमा आचार्य भन्नाले विद्धान, पण्डित वा शिक्षकलाई भनिन्छ । आचार्यमा हुनकोलागि हुनुपर्ने गुण, सोच, भनाई, गराई र व्यवहारमा एकरुपता हुनुपर्छ । जीवन सरल बनाउँन, जीवनमा त्यो काम गर्नुहोस जुन जरुरी छैन । अथवा जीवनमा ती कामहरुपनि गर्नुहोस जसलाई तपाईँ जरुरी मान्नु हुन्न । यो भनाई आर्ट अफ लिभिङका सम्बन्धमा अभिव्यक्ति दिदाँ सबै सद्गुरुहरूले भन्नु भएको छ । २० औँ शताब्दीका नोवेल पुरस्कारद्वारा सम्मानित दर्शनशास्त्री बर्टेण्ड रसेल भन्नुहुन्छ; “यदि तपाइँलाई मैले महत्त्वपूर्ण कार्य गरीराखेको छु भन्ने लाग्यो भने छुट्टीलिने समय भएछ भन्ने बुझ्नु ।”

युरोपमा छुट्टी भन्नले विदाको समय, मनोरञ्जनको समय बुझिन्छ । अर्थात जीवनलाई अतिशय मुल्यपनि नदिउँ ! अन्यथा अति गम्भीर भइन्छ । कम्तीमा २४ घण्टामा केहि घण्टा उत्सवको समय, सानातिनो कामकालागि जोहो गरौँ । साथसाथै एक तथ्यगत स्मरण गरिराखौँ । यो संसार, यो समाज, यो परिवार म नभए चल्छ वा चल्दैन ? म यस संसारमा जन्म लिनु पहिला वा मृत्युपछि यथावत रुपमा चल्छ वा चल्दैन? चलेको थियो वा थिएन ? केहीफरक पर्दैन ! जङ्गलमा एक वृक्ष मासिदैमा के फरक पर्ला ? आफुलाई मरुभूमिको एक बालुवाको कणको रुपमा लिउँ । कम्तीमा दिनमा ८–१० पटक याद गरौँ । एपहरु उपलब्ध छन्, डाउनलोड गर्नुहोस, इच्छा अनुसार विहान देखि वेलुका सम्म एक–एक घण्टा वा आधा–आधा घण्टामा सचेतन घण्टीको टाइमसेट गर्नुहोस र सचेत बन्नुहोस ।

(लेखक काठमाण्डौँको तारकेश्वर–४ स्थित सिर्जना ज्ञानसागर मा. वि. का प्रधानाध्यापक हुन् ।)