काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब(एसिड) प्रहार गर्नेमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने बताएका छन् । एसिड आक्रमणमा परेका १२ जना पीडितहरूसँगको एक कार्यक्रममा प्रधानमन्त्री ओलीलले उक्त घोषणा गरेका हुन् ।


ADVERTISEMENT


पीडितहरुको माग अनुसार १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उनले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । उनका अनुसार प्रधानमन्त्री ओलीले अपराधीको सम्पत्ती रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्‍याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने बताएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै प्रधानमन्त्री ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको पीडितहरुको उपचारको प्रबन्ध मिलाउने र उपचारका साथै नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले गर्ने घोषणा गरेका छन् ।

आक्रमणकापछि पढ्न चाहनेहरूका लागि निःशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने प्रधानमन्त्री ओलीले बताए । साथै, उचित तालीम, रोजगारी, व्यवसाय र जिविकाको प्रबन्ध सरकारले मिलाउने, सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित गरिने समेत उनले कार्यक्रममा जानकारी गराए ।

हरेक वर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरूद्धको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न समेत उनले सबैलाई आह्वान गरेका छन् ।

नेपालमा एसिड आक्रमणका विभिन्न १७ वटा घटनामा परी १९ जना एसिड पीडितहरू रहेको बताइएको छ।