काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष क्रिकेट खेलाडीलाई तलब प्रदान गरेको छ । बिहीबार एक विज्ञप्ती जारी गर्दै क्यानले २२ जना राष्ट्रिय क्रिकेटरको खातामा तलब जम्मा गरेको जानकारी दिएको हो ।


ADVERTISEMENT


यसअघि क्यानले भदौ पहिलो साता पारिश्रमिक निकासाका लागि क्रिकेट खेलाडीको नाम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई पठाएको थियो । आइसीसीको अनुमोदनपश्चात क्यानले २२ जना खेलाडीलाई यसअघिको सम्झौतामा १० हजार वृद्धि गरी पारिश्रमिक प्रदान गरेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


श्रेणी ‘ए’का खेलाडीले मासिक ४५ हजार पाउने छन् भने श्रेणी ‘बी’का खेलाडीले ३५ हजार र ‘सी’ श्रेणीले २५ हजार मासिक तलब पाएका हुन् । जस अनुसार ‘ए’ श्रेणीका खेलाडीले एक वर्षको पारिश्रमिक स्वरुप एकमुस्ट पाँच लाख ४० हजार, ‘बी’ श्रेणीका खेलाडीले रु ४ लाख २० हजार तथा ‘सी’ श्रेणीका खेलाडीले रु ३ लाख पाएका छन्

यस्तै नेपाली क्रिकेट टिमका भिडियो एनालिस्ट रमन शिवाकोटीले पनि एक वर्षको पारिश्रमिक पाएका छन् । उनले ‘सी’ श्रेणीका खेलाडी बराबरको रकम पाएका हुन् । यसअघि क्यान निलम्बन भएको बेला आईसीसीले सन् २०१८ मा दुई वर्षको पारिश्रमिक राष्ट्रिय खेलकूद परिषद् (राखेप)मार्फत पठाएको थियो । त्यसयता क्रिकेट खेलाडीले पारिश्रमिक पाउन सकेका थिएनन् ।

सचिव प्याकुरेलका अनुसार अद्यावधिक ‘ए’ श्रेणीमा तीन वटा परिवर्तन गरिएको छ । जसअनुसार भेट्रान बलर वसन्त रेग्मी ‘बी’ श्रेणीमा घटुवा भएका छन् भने यसअघि ‘बी’ श्रेणीमा रहेका विनोद भण्डारी र करण केसी ‘ए’ श्रेणीमा बढुवा भएका छन् ।

बी’ श्रेणीमा भने व्यापक परिवर्तन भएको छ । सन्यास लिएका शक्ति गौचन, ललितसिंह भण्डारी र अनिल कुमार शाह बाहिरिँदा कुनै पनि श्रेणीमा नरहेका अभिनास बोहरा, पवन सर्राफ र सन्दीप जोरा एकैपटक ‘बी’मा अटाएका छन् । यस्तै ‘सी’ श्रेणीमा भने अधिकांश नयाँ खेलाडी छन् ।

यस्तो छ नयाँ श्रेणी : 

श्रेणी ‘ए’
कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, शरद भेषवाकर र सोमपाल कामी छन् ।

श्रेणी ‘बी’
अभिनाश बोहरा, आरिफ शेख, वसन्त रेग्मी, ललित नारायण राजवंशी, पवन सर्राफ, रोहित पौडेल, सन्दीप जोरा र सुसन भारी रहेका छन् ।

श्रेणी ‘सी’
इशान पाण्डे, कुशल भुर्तेल, कुशल मल्ल, प्रदीप ऐरी, राजु रिजाल र राशिद खान रहेका छन् ।