– डा. केपी शर्मा (न्यौपाने), चिफ म्यानेजमेन्ट कन्सल्टेन्ट, काठमाडौं मेडिकल कलेज (केएमसी)

काठमाडौँ मेडिकल कलेजमा  नयाँ स्वामित्व आएको छ । आगामी दिनमा सेवाको गुणस्तर वृद्धिका लागि अस्पतालले के कस्ता योजना अघि सारेको छ ?


ADVERTISEMENT


केएमसीलाई नेपालकै ठूलो अनुसन्धान केन्द्र बनाउने हाम्रो लक्ष्य हो । त्यसका लागि अस्पतालका विभिन्न विभागहरुमा विशेष सेवाहरु सुचारु हुन्छन् । जहाँ विभिन्न विधाका डाक्टरहरुले, टेक्निसियनहरुले तालिम लिन्छन् । त्यसकारण यो तालिम केन्द्रका रुपमा विकास हुन्छ ।


ADVERTISEMENT

# # #


अब केएमसी उपचार गर्ने अस्पताल मात्रै नभएर ज्ञानको खोजी गर्न, अनुसन्धानलाई अघि बढाउन नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्न चाहन्छ । यो नेपालीहरुको ज्ञानको भण्डार त बन्छ नै, दक्षिण एशियामा समेत यसले नयाँ आयाम थप्ने हामीले विश्वास लिएका छौँ ।

अर्को भनेको हामी यसलाई नेपालको सबैभन्दा ठूलो ‘रिफरर सेन्टर’का रुपमा विकास गर्ने योजनामा छौँ । त्यसको अर्थ के हो भने नेपालमा अहिले न्यूरोमा एउटा ‘भर्जिन ल्याण्ड’ तयार भएको छ । तर, जनशक्ति भएपनि त्यसका लागि आवश्यक स्वास्थ्य उपकरणहरु छैनन् । त्यसलाई पूरा गरेर हामी त्यस्ता बिरामीहरुलाई नेपालभन्दा बाहिर जानु नपर्ने वातावरण सिर्जना गर्छौँ । यस्तै मिर्गौला प्रत्यारोपणमा पनि हामी उत्कृष्ट केन्द्रको रुपमा आउने योजनामा छौँ । यस्तै मटुसम्बन्धि (कार्डियो) सेन्टर विकास गर्ने र त्यसका आवश्यक उपकरणहरु पनि हामी राख्दैछौँ । यस्ता विविध विषयमा हामी नयाँ तरिकाले आउँदैछौँ ।

अरु ?

काठमाडौँ विश्वविद्यालय अन्तर्गतका विद्यार्थीको पहिलो रोजाई काठमाडौँ मेडिकल कलेज हो । किनकी हाम्रो अनुसन्धानको सुविधा एकदम बलियो छ । बेसिक साइन्स एकदमै राम्रो छ । त्यसकारण हामीले धेरै कुराहरु थप्नुपर्ने भन्दा पनि यसको व्यवस्थापनतिर ध्यान दिनुपर्छ । क्लिनिकल क्षेत्रमा भने हामी आम रुपमा नै परिवर्तन गर्छौं । जनशक्तिलाई प्रभावकारी रुपमा परिचालन गर्नका लागि हामीले उहाँहरुलाई प्रेरित गर्ने, त्यही अनुसारको सेवा सुविधा प्रदान गर्दै राम्रो जनशक्तिलाई यहीँ काम गर्ने वातावरण बनाउँछौँ ।

तेस्रो कुरा, हामीले यसलाई जनताको अस्पताल बनाउन चाहन्छौँ । ‘नर्सिङ होमको सेवा, सरकारी अनुसारको मेवा’ भन्ने हाम्रो नारा छ । त्यो भनेको सस्तो शुल्क लिएर उत्कृष्ट सेवा प्रदान गर्ने भन्ने हो । हामी अस्पताललाई व्यापारीकरण गर्दैनौँ, सामाजिकरणमा लैजान्छौँ । आम रुपमा नेपाललीले यसलाई अपनत्व लिने गरी हामी अघि बढ्दै छौँ ।

अब हामी अस्पतालका सेवाहरुलाई चाँडै प्रविधिमैत्री बनाउँछौँ । जस्तो घरमै बसेर अनलाइन मार्फत ओपीडी दर्ता गर्न सकिन्छ । यस्तै घरमै बसेर तपाईले आफ्नो ल्याबको रिर्पोट लिन सक्नुहुनेछ । घरमै बसेर तपाईले डाक्टरसँग परामर्श लिने कुरा गर्न सक्नुहुनेछ । यी सेवाहरु हामी चाँडै ल्याउँदैछौँ ।

अहिले विश्व नै कोरोना भाइरसले प्रभावित बनेको छ । यस्तो बेला अस्पतालले कोरोना संक्रमितको पहिचान र उपचारका लागि के गरिरहेको छ ?

कोरोनाकै लागि दुवाकोटमा हाम्रो छुट्टै अस्पताल सञ्चालनमा छ । सामाजिक उत्तरदायित्व वहन गदै आमरुपमा हामीले नेपालमा नयाँ योजना ल्याएका छौँ । राज्यले पीसीआर टेस्ट गरेको ४४ सय लिँदा हामीले २५ सय ९९ रुपैयाँमा टेस्ट गरेका थियौं । त्यसले पनि हाम्रो एउटा सामाजिक पाटो झल्काउँछ । अहिले राज्यले समेत मूल्य घटाएपछि हामीले पनि १९९९ मा पीसीआर परीक्षण गर्ने निर्णय गरेका छौं ।

राज्यले तोकेको भन्दा करिब आधा रकममा पीसीआर परीक्षण गरेर देखाउनु भयो । यस्तो कसरी सम्भव हुने रहेछ ?

‘बिरामीको सेवा नै हाम्रो सेवा हो’ भन्ने हाम्रो मूल नारा हो । जनताको सेवा गर्छु भन्ने कुरा जब आत्माबाट आउँछ, तब तपाईं नाफामुखी बन्नुहुन्न, व्यापारी बन्नुहुन्न ।

अस्पताललाई नाफामुखी बनाउनु हुँदैन भन्ने उद्देश्यका साथ हामी लागेका छौँ ।

एमबीबीएस पढ्ने, नर्सिङ पढ्ने विद्यार्थीहरु पनि निम्न वा मध्य आय भएका परिवारबाट प्रतिनिधित्व गर्ने भएकाले मध्यस्तरमा शुल्क कायम गरेका छौँ । अर्को भनेको हामीले ओपीडी निःशुल्क गरिसकेका छौँ ।

अन्त्यमा के भन्नुहुन्छ ?

म आम नेपालीहरुलाई के भन्न चाहन्छु भने अब तपाईंहरुले उपचारका लागि नेपाल बाहिर जानु पर्दैन । अब गरिबीको कारणले उपचार नपाएर कोही पनि मर्नुपर्दैन । त्यस्ता व्यक्तिहरु हाम्रो च्यानल मार्फत आउन सक्नुहुन्छ । तेस्रो कुरा नेपाली जनताले धान्न सक्ने शुल्कमा उच्चतम गुणस्तरको सेवा केएमसीमा प्राप्त गर्नसक्नुहुन्छ ।