– राजु रायमाझी


ADVERTISEMENT


कलिलो दिमागले धेरै कुरा न बुझ्न सक्छ, न त धेरै सोच्न सक्छ । हाम्रो समाजले राम्रा र अब्बल विधार्थीले विज्ञान पढ्ने र कमजोर विधार्थीले व्यवस्थापन, मानविकी र शिक्षा संकाय पढ्ने भनेर सामाजिक वर्गिकरण गरेको छ । अझैं सानो उमेरदेखि बच्चा बच्चीलाई डाक्टर-इन्जिनियर बन्नुपर्छ बाबु नानी भनेर सिकाउने गरिन्छ । यसरी नै विकास भएको हुन्छ बाल मानसिकता । कुनै पनि व्यक्तिले आफनो नितान्त व्यक्तिगत क्षमता र अभिरुची बारे थाहा पाएकै हुँदैन । तर, उसको दिमागमा डाक्टर र इन्जिनियर बन्ने सपना लादिसकिएको हुन्छ ।


ADVERTISEMENT

# # #


सम्पूर्ण विषय तथा क्षेत्रको आ–आफ्नै विशेषता, फाइदा तथा बेफाइदा हुन्छन् । डाक्टर-इन्जिनियरको पेशामा गुणहरु मात्र र शिक्षक, कलाकारको पेशामा अवगुणहरु मात्र हुन्छन् भन्ने होइन । हाम्रै समाजमा सफल शिक्षक, कलाकार र खेलाडी धेरै छन् भने असफल डाक्टर-इन्जिनियर पनि धेरै । यसको मतलब डाक्टर इन्जिनियर बन्नु नराम्रो होइन । समाजमा सबै पेशा तथा क्षेत्रको आफ्नै महत्व र आवश्यकता छ ।

कोही पनि व्यक्ति आफ्नो रुचिलाई बुझेर इमान्दार र मिहेनेतका साथ अघि बढ्ने हो भने सफल अवश्य हुन्छ । कुनै पनि व्यक्तिले आफुलाई त्यतिबेला सफल महसुस गर्छ जब ऊ आफ्नो कामले आत्म सन्तुष्टी महसुस गर्दछ । कोही पनि मान्छेलाई उसको पद र पैसाले खुसी दिँदैन ।

भर्खर एसईई सकेर उच्च शिक्षा कुन विषय पढौँ भनेर अन्योलमा बसेका भाइ बहिनीले आफूले यति ग्रेड लिएर आएको छु मैले यो विषय पढ्नुपर्छ भन्नु भन्दा मलाई यो कुरामा बढी रुची भएर यो विषय पढ्छु भन्नु उपयुक्त हुन्छ । धनी र सम्पन्न हुनु भन्दा सुखी र खुसी हुन सिकौँ । मैँले समाजलाई के दिन सक्छु भन्ने कुराको आत्म मूल्याङकन गर्न जरुरी हुन्छ । जे सुके विषय लिएर पढौँ तर इमान्दारिता र मिहेनेतका साथ पढौँ । त्यसले नै सफलता प्रदान गर्दछ ।

धेरै विधार्थीले आपनो पढाई अधुरो छोड्नुको प्रमुख कारण गलत विषयको छनौट नै हो । कतिपय विद्यार्थीले यही कारणले आफ्नो उच्च शिक्षालाई पूर्णबिराम पनि लगाएका छन् । कतिपय नानी बाबुहरु आफ्नो साथी भाईको लहैलहैमा लागेर उनीहरुले जे पढ्यो त्यही पढ्ने ‘ट्रेन्ड’ पनि छ । त्यसले गर्दा पनि पछि पढाईमा बाधा पुग्दछ । आफ्नो रुचि तथा परिवारको आर्थिक अवस्थालाई बुझेर सही विषय र कलेज छनौट गर्नु पर्दछ । जसले गर्दा पछि पछुताउनु नपरोस् ।

हाम्रो सामु थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उदाहरणहरु छन् । जसले आपनो क्षेत्रमा दरिलो उपस्थिति देखाएका छन् । स्कूल कलेजमा औसत विद्यार्थी भएता पनि आफ्नो क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्वहरुमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सन्दीप लामिछाने, आर्थर गन लगायत धेरै उदाहरणहरु छन् । उनीहरु आफ्नो रुची र क्षमताको क्षेत्रमा इमान्दार र मिहेनेती भएका कारणले आज यो उचाईंमा पुगेका छन् ।

हामी हरेक मान्छेमा भगवानले फरक–फरक गुण र क्षमता दिएका छन् । हामीले उक्त कुरालाई बुझेर आफूलाई तिखार्दै लानु पर्दछ । आफ्नो रुचिको काम गर्दा कामलाई बोझ जस्तो महुसुस नभएर खेल खेलेको जस्तो अनुभव हुन्छ । यदि गलत क्षेत्रमा लागियो भने जिन्दगीभर पछुतो मान्नु पर्ने हुन सक्छ । हाम्रो समाजमा कामलाई ठूलो सानो भनेर वर्गीकरण गर्ने चलन छ तर जुनसुकै कामले पनि दाम र नाम दिन्छ यदि उक्त काममा आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने हो भने ।

अतः भाई बहिनीहरु अन्योलको महसुस भईरहेको होला । के विषय पढ्ने, के विषय पढ्दा भविष्यमा के हुन्छ भन्ने । त्यसैले आफ्ना अग्रजसँग छलफल गरेर सुझाव सल्लाह लिएर अनि आफुलाई राम्रोसंग बुझेर अघि बढ्दा राम्रो हुन्छ । समाजमा के कुराको बढी महत्व र ट्रेन्ड छ भन्दा पनि आफुलाई के कुरा सुहाउँदो छ केलाएर रोजौँ र त्यसमै आफूलाई समर्पित गरौँ । यसो गरेमा पक्कै सफलता प्राप्त गर्न सकिन्छ ।

(लेखक नेपाल राष्ट्र बैंकका सहायक निर्देशक हुन्)