– मोती दुगड

राज्यमन्त्री : उद्योग, वाणिज्य तथा आपूर्ति

बन्दाबन्दी खुलेपछी अर्थतन्त्र चलायमान बनाउन के कस्ता प्रयासहरु भइरहेका छन् ?


ADVERTISEMENT


अहिलेसम्म कोरोनाको जोखिम कायम छ । संक्रमण बढ्दो क्रममा छ । समुदायमा, उद्योग करखानामा पनि बढ्दै गएको छ । यद्यपि, सँधै लडकाउन गरेर बस्न सकिदैन । अर्थतन्त्र चलायमान बनाउनुपर्छ । यस्तो महामारीको वेला अर्थतन्त्र कसरी चलायमान बनाउने भन्ने चुनौती सरकारलाई छ ।


ADVERTISEMENT

# # #


उद्योग खुल्न थालेका छन् । तर उद्योग खुलेपछि उद्योगलाई कच्चा पदार्थको आवश्यकता पर्छ, बजारको आवश्यकता पर्छ । सरकारले त्यो सहजीकरण गरिरहेको छ । बजार खुलेपछि कालोबजारी नहोस्, सामानको अभाव नहोस् भनेर उद्योग वाणिज्य क्षेत्र चलायमान बनाउने कामहरु गरिरहेका छौँ । स्वास्थ्य, उद्योग, पर्यटन, बजार लगायत सबै क्षेत्रमा अनुगमन पनि बढाएका छौँ । उद्योगमा कामदारको अभाव नहोस् भनेर श्रमिक व्यवस्थापन, कच्चा पदार्थको जिम्मेवारी पनि सरकारले लिएको छ ।

आर्थिक राहत प्याकेजहरु ल्याएका छौँ । बैंकको व्याज घटाउने, कर्जा सिमा बढाउने, सरकारलाई तिर्नुपर्ने करको समयसीमा बढाउने, बिजुली महशुलमा छूट दिने लगायतका विभिन्न राहतका प्याकेजहरु सरकारले ल्याएको छ । बेरोजगारी हटाउन र उद्योगलाई आत्मनिर्भर बनाउन विशेष किसिमका राहतका प्याकेजहरु ल्याएका छौँ । प्रधानमन्त्रीको कसैले पनि भोको बस्नुपर्दैन भन्ने अभिव्यक्तिअनुसार सरकारले काम गरिरहेको छ ।

उद्योगको संरक्षण प्रवद्र्धन र गति दिन के कस्ता योजनाहरु बनाउनुभएको छ ?

हामीले कोरोनाको अवधिमा अर्थतन्त्र धरासयी भएपछि माथि भने जस्तै छोटो समयका लागि केही योजना बनायौँ । तर हामी दीर्घकालीन योजना बनाएर काम गरिरहेका छौँ । अहिले लाखौँ युवा बेरोजगार छन्, विदेशबाट पनि काम गुमाएर फर्किएकाको संख्या ठूलो छ । हामी देशभित्रै कोहीपनि बेरोजगार बस्ननपर्ने गरी योजना बनाएर काम गरिरहेका छौँ ।

अहिले हामीलाई आवश्यक खाद्य सामाग्रीको ४० प्रतिशत मात्र उत्पादन देशभित्र हुन्छ । कृषिमा आत्मनिर्भर हुनका लागि हामीले काम गरिरहेका छौँ ।

रुघ्ण उद्योग सञ्चालन, नयाँ उद्योग स्थापनाका लागि काम भइरहेका छन्, निजी क्षेत्रलाई प्रोत्साहन गर्नेगरी सरकारले काम गरिरहेको छ ।

विस्तारै नेपालले प्रविधिमा पनि फड्को मार्न थालेको छ । नेपालमै कम्प्युटर, रोबर्ट बनाउने जस्ता काम पनि भएका छन् । हामी देशभित्र प्रविधिको विकाश गर्ने गरी काम गर्ने योजनामा छौँ । यो सरकार बनेपछि देशमा धेरै काम गर्न सकिने वतावरण बनेको छ । आगामी दिनमा यी विषयमा अझ गम्भीर ढंगले हामी अघि बढ्छौँ ।

सरकारले विकास र समृद्धि एजेन्डा बोकेको छ, ५ वर्ष सम्ममा यसको महशुस हुने गरी काम हुन्छ त ?

विकाश र समृद्धिको नारा अनुसार नै काम अघि बढिरहेको थियो । औधोगिक विकाश, निर्माणको काम, रोजगारी सिर्जना लगायतका विभिन्न काम भएका थिए । अर्थतन्त्र सुरक्षित स्थानमा आइसकेको थियो । जनताहरु पनि खुशी र सन्तुष्ट थिए । तर कोरोना आएपछि यो महामारीको केही प्रभाव भने परेको छ । योजनाहरुलाई भताभुङ्ग बनाएको छ । यद्यपि, हामी चुप लागेर बस्दैनौँ ।

हामी सक्षम छौँ, कोरोनासँग सँगै अर्थतन्त्र चलायमान राख्न काम गरिरहेका छौँ । लकडाउनको वेला पनि एक दिन पनि लकडाउन नगरेर मन्त्रालयहरुले काम गरे, गरिरहेकै छन् ।

नेकपा भित्रको विवाद अब टुँगिएको हो ?

पार्टीभित्र फरक विचारहरु आउनु सामान्य हो । यस्ता समस्या आइरहन्छन् । विचारमा मतभिन्नता हुनु ठूलो समस्या होइन । हाम्रा नेताहरु ठूलो त्याग र तपस्याबाट यहाँसम्म आएकाले पार्टीमा समस्या नहुने गरी उहाँहरुले काम गरिरहनुभएको छ, समस्या समाधान भइसकेको छ ।

आन्तरिक कुरालाई लिएर बाहिरी तत्वले केही भ्रम छर्ने र चलखेल गर्ने भने हुनसक्छ । तर यी कुरामा पार्टी विचलित हुँदैन ।

अन्त्यमा के भन्नुहुन्छ ?

कोरोना महामारीले विश्वलाई नै इतिहासको जटिल मोडमा पूर्याएको छ । तर यो भन्दैमा हामी कसैले पनि मनोबल गिराउनुहुँदैन, आत्मबल बढाएर यो रोगसँग लड्न सकिन्छ । यस्ता समस्याहरु आइरहन्छन् । नेपालीहरु अनुशासित र संयमित छन्।

अनुशासन र संयम कायम गरेर स्वास्थ्य मापदण्ड अपनाएर दैनिक जीवन सामान्य बनाउने गरी सरकारले काम गरिरहेको छ र जनताले पनि यसलाई मध्यनजर गर्नुपर्छ ।

रेमिट्यान्सले देश चल्दैन । आन्तरिक औधोगिक विकाश नभई देश अगाडि बढ्दैन । त्यसैले नेपालमै काम गरौँ, व्यवसाय गरौँ, उद्योग धन्दा चलाऔँ, सरकारले व्यवसायीहरुलाई प्रोत्साहित गर्छ ।