– चण्डिराज ढकाल, पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ 

निर्वाचन नभएर नेपाल उद्योग वाणिज्य महासंघ एक किसिमले अवैधानिक ढंगले चलिरहेको अवस्थामा पदाधिकारीले कार्यसमितिको निर्णयमार्फत मंसिर ११–१२ गते काठमाडौँमै निर्वाचन गर्नुपर्छ भन्ने कुरा अघि बढाएको छ ।


ADVERTISEMENT


यो कुराले निचोड पाउन सकेमा, निजी क्षेत्रका व्यवसायीहरुको लागि उद्योग वाणिज्य महासंघ नउभिँदा निजी क्षेत्रमाथि जसरी प्रहार भएको थियो, त्यो प्रहारमा सायद मल्हम पट्टी लगाउने काम हुन्छ कि भन्ने धारणा उद्योग वाणिज्य महासंघका जिल्ला अध्यक्षहरुको रहेको छ ।


ADVERTISEMENT

# # #


तर पनि अन्योल कायमै छ । वर्तमान अध्यक्ष भवानी राणा पदमा दुई–तीन दिन भएपनि बढी बस्नुपर्छ भन्ने सोचाईमा भएकाले अझै पनि निर्वाचन हुनेमा द्विविधा नै छ । उहाँले हिजो भएका आफ्ना गल्ती कमीकमजोरी ढाकछोप गर्न लागिरहनु भएको छ । निर्वाचनमा हारिन्छ भन्ने मानसिकता भएको एउटा समूहसँग बसेर उहाले आफ्नो कार्यकाल लम्ब्याउँदै हिंडिरहनु भएको छ । यस्तो अवस्था रहिरह्यो भने महासंघमा दुर्घटना निम्तिन सक्ने आशंका साथीहरुले गर्नुभएको छ ।

निर्वाचनले महासंघलाई एउटा निर्देशित गन्तव्यमा लैजानका लागि आधार तयार पार्नसक्छ । निर्वाचित नेतृत्वलाई जिम्मेवारी दिएर कोभिडको प्रभावबीच निजी क्षेत्रका तमाम समस्याहरुको समाधान गर्न सकिन्छ ।

घरेलू, साना तथा मझौला र ठूला उद्योगहरुको व्यवस्थापनदेखि बन्द उद्योगहरुको पुनः सञ्चालन गर्ने कुरा, राज्यसँग दह्रोसँग निजी क्षेत्रका धारणा राख्ने एउटा बाटो बन्छ भन्ने धारणाहरु आइरहेका छन् ।

तर, अहिले निजी क्षेत्रको एउटा छाता संगठन भइरहेको महासंघ अप्ठ्यारो परेको बेला जहिले पनि अगाडि आउँछ भन्ने कुराहरुबाट विमुख भएको अवस्था छ । आर्थिक हिनामिनाका कुराहरु पनि आएका छन् । महासंघमा कर्मचारीहरु अनुशासनमा छैनन् भन्ने कुराहरु पनि आएका छन् । जसलाई जे मन लाग्यो त्यही अनुसार निर्णय गर्ने र त्यही अनुसार महासंघका गतिविधिलाई अगाडि बढाउने, समष्टिगत रुपमा निजी क्षेत्रको भन्दा पनि व्यक्तिगत फाइदाका विषयमा आफूलाई उपस्थित गराउने, व्यक्तिगत फाइल लिएर राज्य र सम्बन्धित निकायमा दौडिने अस्वभाविक र असान्दर्भिक प्रक्रिया महासंघमा बढेको छ ।

अहिले व्यक्तिगत चाहना र आकांक्षाभित्र महासंघ धर्मराएको छ । त्यो अवस्था नहोस् भन्ने हाम्रो चाहना रहेको छ । आशा गरौँ अब फेरि अर्को खेल हुनेछैन । महासंघको गिर्दो शाखलाई बचाउन निर्वाचन पनि एउटा वातावरण बन्न सक्छ भन्ने विश्वास छ । विगतका अग्रजहरुले महासंघलाई सशक्त, राज्यपछिको एउटा ठूलो सञ्जाल भएको संस्थाका रुपमा स्थापित गर्न गरेको मेहनत खेर जानुहुँदैन ।

(महासंघका पूर्वअध्यक्ष ढकालसंग गरिएको कुराकानीमा आधारित)