काठमाडौँ – माछापुच्छ्रे बैंक स्थापनाको २० वर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश गरेको छ । २० औं वार्षिकोत्सव मनाउँदै गर्दा थप सबल बन्दै ग्राहकलाई स्तरीय डिजिटल सेवा प्रदान गर्न बैंकले आफूलाई स्मार्ट बैंकको रुपमा उभ्याएको छ ।


ADVERTISEMENT


ग्राहकहरुको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै स्थापनाकाल देखि नै समयानुकुल परिस्कृत र परिमार्जित सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंकले २० औ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहक लक्षित बिभिन्न नयाँ ६ वटा स्मार्ट सेवाहरु तथा योजनाहरु एकैसाथ संचालनमा ल्याएको छ ।


ADVERTISEMENT

# # #


बैंकले नेपालमा नै पहिलो पटक विच्याट वालेट वालेटको भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुले क्युआरकोड स्क्यान गरी आफ्नो खाताबाट नगद निकाल्न सक्ने गरी एमबिएल स्मार्ट काउण्टरको पनि सुरुवात गरेको छ ।

बैंकले आफ्नो नयाँ स्मार्ट वेवसाईट पनि आजैबाट सुरुवात गरेको छ । ग्राहक महानुभावहरुले स्मार्ट वेवसाईट मार्फत बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाईन आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ ।

यस्तै बैंकले ग्राहकहरुलाई लक्षित गरी विभिन्न २०–२० (ट्वेन्टी–ट्वेन्टी) अफरहरु संचालनमा ल्याएको छ । बैंकले दरबारमार्ग र लाजिम्पाटमा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ‘प्रायोरिटी काउन्टर’ पनि संचालनमा ल्याउन लागेको बैँकले जनाएको छ । त्यस्तै गरि बैंकले आफ्नो वार्षिकोत्सवको पूर्वसन्ध्यामा ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकामा आफ्नो १६० औँ शाखा कार्यालय समेत संचालनमा ल्याएको छ ।

स्थापनाको २१ वर्षमा आईपुग्दा बैंकले देशभर १६० वटा शाखाहरु, १३३ शाखा रहित बैकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन समेत गरी जम्मा २९८ स्थानबाट ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गरीरहेको छ । साथै, बैँकको देशभर १९९ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

बैँकले २० वर्षको गौरवमय यात्रामा साथ दिने सम्पूर्ण ग्राहक, शेयरधनी, नियमनकारी निकाय, कर्मचारी एवं शुभचिन्तकप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।