– सुजाता कोइराला,

केन्द्रीय सदस्य, नेपाली काँग्रेस 

नेपाली काँग्रेसको वर्तमान हालखबर के छ ?


ADVERTISEMENT


नेपाली काँग्रेसको वर्तमान अवस्था एकदमै कमजोर छ । काँग्रेसलाई खोज्नुपर्ने अवस्था आएको छ । मैले विभिन्न जिल्लामा पुगेर जिल्लाको समस्या बुझ्ने योजना बनाएको थिएँ । तर कोभिडले पनि जिल्लामा सम्पर्क हुन सकेको छैन । जिल्लाको समस्या बुझ्न पाएको छैन । चुनाव हारेकाले जिल्लाबाट हाम्रो प्रतिनिधि पनि कम छ । जसकारण राष्ट्रिय राजनीतिमा आवाज उठ्न सकेको छैन । हामीभित्र आन्तरिक कमजोरीहरु पनि छन् । नेतृत्व नागरिकसामु पुग्न सकेको छैन।


ADVERTISEMENT

# # #


पार्टीमा सभापति शेरबहादुर देउवाको भूमिकालाई के भन्नुहुन्छ ?

देउवाजी धेरै. ठाउँमा चुक्नुभो । उहाँले धेरै ठूलो अवसर पाउनुभएको थियो, जुन गुमाउनुभयो । जुन किसिमले पार्टीभित्र मेहनत गर्न सक्नुपथ्र्यो उहाँले सक्नुभएन । व्यापारी, पत्रकार, नागरिक समाजसम्म उहाँ पुग्न सक्नुभएन । छलफल र बहशमा उहाँ सहभागी हुन सक्नुभएन । गिरिजाबाबु प्रतिपक्षमा हुँदा मन्त्रालयका कर्मचारीसँग छलफल गर्नुहुन्थ्यो वा बुझ्न पठाउनुहुन्थ्यो र बाहिर ल्याउनुहुन्थ्यो त्यो देउवाजीको नेतृत्वमा हुन सकेन । समग्रमा भन्नुपर्दा देउवाजीले जति गर्न सक्नुहुन्थ्यो त्यो उहाँले गर्नुभएन, उहाँको नेतृत्व राम्रो देखिएन ।

देउवा अबको महाधिवेशनमा दोहोरिनुहुन्न भन्ने जिकिर हो ?

देउवाजी पनि दोहोरिनुहुन्न र रामचन्द्र पौडेल पनि दोहोरिनुहुन्न । विगत ३० वर्षदेखि उहाँहरुले नै नेतृत्वमा पार्टी नेतृत्व गरिराख्नु भएको छ । उहाँहरुलाई जनताले जाँचिसक्नुभयो । अबको नयाँ नेतृत्व ऊर्जाशील नयाँ युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्छ ।

पछिल्लोपटक देउवाले सांगठनिक रुपमा विस्तार गरेपछि पौडेल पक्षबाट असहमतिको धारणा आयो । तपाईले पनि त्यसमा हस्ताक्षर गर्नुभयो तर पछि विचार बदल्नुभयो । किन ?

सांगठिक विस्तार पछि पौडेल पक्षले पार्टी प्यालेसमा कार्यक्रम राख्नुभएको थियो । त्यहाँ कुनै एजेण्डामाथि छलफल भन्दा पनि देउवालाई कसरी आक्रमण गर्ने भन्ने छलफल हुन्थ्यो, समय किन बर्बाद गर्नु भनेर म गइन । पछि एक जना नेता रामचन्द्रजीको फाइल बोकेर आउनुभयो । नेता बन्न सक्ने क्षमता भएका कार्यकर्तालाई त्यस किसिमले हस्ताक्षर गराउँदै पठाएकोमा दुःख पनि लाग्यो । हस्ताक्षर गर्न मेरो आत्माले मानेको थिएन । तर हस्ताक्षर गरेको आधा घण्टामै मैले उहाँलाई फोन गरेर गल्ती भयो म त्यसमा सहमत छैन भनेँ । तर उहाँले हस्ताक्षर भइसक्यो भन्ने प्रकारको कुरा गर्नुभयो । मैले हस्ताक्षर फिर्ता भएन भने म मिडियामा जान्छु भनेँ र गएँ पनि ।

सांगठनिक विस्तारका क्रममा विभाग बनाउँदा देउवाजीबाट एउटा गल्ती भएको हो । त्यो हो विभाग ढिलो गठन भयो । पार्टीले हार व्यहोर्नु परेपछि जिल्लामा साथीहरु दुखी हुनुहुन्छ, माथिबाट नेतृत्व छैन, त्यस्तो अवस्थामा यसले पार्टीलाई फाइदा नै गर्छ भन्ने मेरो मत थियो । मैले साथीहरुलाई पनि पाएको विभागको जिम्मेवारी लिनुस् भनेको थिएँ ।

मिलेर जानुपर्छ भन्ने तपाईँको विचार हो ?

अहिले सबै मिलेर जानुपर्छ, भोलिको चुनावको सामना गर्नुछ हामीले । १४ औँ महाधिवेशनपछि चुनाव कसरी जित्ने भनेर छलफल गरेर कुन जिल्लामा को चर्चित छ ? कसलाई उठाउँदा चुनाव जितिन्छ त्यसको गृहकार्य गर्ने वेला हो यो ।

गिरिजाबाबुले कुन ठाउँमा कसलाई जिताउँदा राम्रो हुन्छ भन्ने योजना बनाएर मात्र काम गर्नुहुन्थ्यो । प्रतिपक्षमा हुँदा पनि उहाँ शक्तिमै हुनुहुन्थ्यो । प्रतिपक्षको त पावर हुन्छ नि, तर हामी अहिले लुरे प्रतिपक्ष भयौँ !

नेतृत्वको अभावका कारण यस्तो भएको हो । अहिले नेतृत्व गर्ने मान्छे नै छैन । मैले जिल्ला–जिल्ला पुगेर त्यहाँका समस्याको अध्ययन गर्ने सोच बनाएको थिएँ, तर कोरोनाका कारण त्यो पनि सम्भव भएन ।

कस्तो व्यक्ति सभापति हुनुपर्छ ?

जाँच भएर असफल भइसकेको व्यक्तिलाई म सभापति मान्दिनँ ।

अबको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने मेरो मान्यता हो । जनतामा भिज्न सक्ने, पीर मर्का बुझ्न सक्ने र पार्टी नेतृत्व पनि गर्न सक्ने व्यक्ति सभापति हुनुपर्छ ।

जथाभावी आएर पदको लोभ गरेर मात्रै हुँदैन । अहिले देउवाजीको विरोध गरेर सभापति बन्न आतुर देखिएकाहरुले पनि के गरेका छन् र ? विरोध गरेर मात्र पनि हुँदैन, काम गर्न सक्ने व्यक्ति सभापति हुनुपर्छ ।

तपाई पनि प्रभावशाली नेतृ हुनुहुन्छ ? सभापतिका लागि तपाईको दाबी के छ ?

अहिले सभापति बन्छु भन्दा पनि पार्टी बचाउँछु भनेर हामीले हिँड्ने बेला हो ।

अब चुनाव नै लड्नु पर्ने अवस्थामा चाहिँ म किन नलड्ने ? अरु लड्न हुने म लड्न नहुने के छ र ?

पुरानै प्रयोग भइसकेका अनुहारहरु आउने हो भने क्षमताको कुरा गर्दा उहाँहरु भन्दा ममा केही कमी छैन, ५१ प्रतिशत महिला छन् उनीहरु पनि उत्साहित हुन्छन् भन्ने लागेको छ । सभापतिका लागि म पनि बलियो उमेद्वार हो ।

नयाँ र दक्ष व्यक्ति आउनुपर्छ भन्ने मेरो मत हो ।

सभापतिका लागि दाबी गरिरहनुभएका नेताहरुलाई तपाईको के भन्नु छ ?

यस्तो वेलामा दाबी गर्नु राम्रो देखिएन । किनभने सभापति भएर पार्टी बचाउने वेला हो । दाबी गरेर हुने पनि हैन, कार्यकर्ताले चुन्ने हो । पार्टी बचाउन, संगठन बलियो बनाउन र जिल्लामा अहिले कार्यकर्तामा भएको उदासी अवस्थालाई कसरी हटाउन सकिन्छ भनेर छलफल गरेर अघि बढ्ने वेला हो ।

कोभिड पछि संसारभरी नै परिवर्तन आउँछ, नेपालमा पनि त्यो परिवर्तन देखिन्छ । त्यसवेला पार्टीलाई कसरी अगाडि बढाउने भनेर अध्ययन गर्ने वेला हो । तर हाम्रो संगठन शून्य भयो । देशको अवस्था बुझ्न को जान्छ ? हामी यतिवेला नराम्रोसँग चुकिरहेका छौँ ।

कोइराला परिवारको काँधमा पार्टी नेतृत्वको जिम्मेवारी फर्किनुपर्छ भन्नेहरुलाई के भन्नुहुन्छ ?

यसमा परिवारवाद नगरिदिए हुन्थ्यो भन्ने लाग्छ मलाई । कोइराला परिवारको मात्र पार्टी होइन यो, अथवा अन्य कुनै परिवारको मात्रको होईन ।

अहिले काम गरेर देखाउन सक्ने, क्षमता भएको, आम जनताले साथ दिएको मान्छे सभापति बन्नुपर्छ भन्ने मेरो एकमात्र धारणा हो । नेताको परिवारभित्रैबाट कोही आउँछ भनेपनि क्षमताले आउनुपर्यो ।

अहिले काँग्रेसलाई धेरै ठूलो चुनौती छ, त्यो चुनौतीसँग लडेर पार्टीलाई पहिलेकै अवस्थामा फर्काउन सक्ने क्षमता भएको मान्छे चाहिएको छ ।

भातृसंगठन कसरी चुस्त दुरुस्त बनाउने ?

गुट हुनुहुँदैन । गुटले गर्दा नै यतिवेला भातृसंगठनमा समस्या देखिएको छ । केही व्यक्तिबाट काँग्रेसको इतिहास तोड्ने किसिमका कामहरु भइरहेको भन्ने पनि सुनिन्छ यो एकदमै गलत हो । भातृ संगठन पनि नेतामुखी भएर नेताले जे भन्यो त्यही, सही वेठिकको चेतना विना काम गरिरहेका छन् । नेतृत्व गर्नै सकेनन्, नेताले जे भन्यो त्यही गर्ने प्रवृत्तिका कारण राम्रै मान्छे पनि बिग्रिएको देखिन्छ । यसो हुनुहुँदैन । सही वेठिक छुट्टाएर पार्टी हित र न्यायीक ढंगले अघि बढ्ने नेतृत्व चाहिन्छ । यसका लागि गुटको अन्त्य जरुरी छ ।

केपी ओली नेतृत्वको सरकारलाई कसरी हेर्नुभएको छ ?

उहाँ सफल अध्यक्ष र असफल प्रधानमन्त्री हुनुहुन्छ । महामारी जस्तो समस्याका वेलामा समाधानका लागि पहल भएको देखिदैन, भ्रष्टाचार मौलाएको छ, काम हुन सकेका छैन । यद्यपि, नेतृत्वका हिसाबले भने उहाँ सफल देखिनुहुन्छ । पार्टीभित्र त्यत्रो विवाद हुँदा पनि बलियो हस्तक्षेप छ । संगठन बलियो बनाउन कामहरु भइरहेका छन्, सबैसँग बुझेर हेर्दा पार्टीभित्र उत्साह देखिन्छ । जुन बाहिरबाट देखिदैन, तर भित्रबाट पार्टी बलियो बनाउने गरी काम भएका छन् । जसकारण त हो उहाँलाई हटाउन पार्टीभित्रबाटै त्यत्रो संघर्ष हुँदा पनि सफल भएन । किनभने कार्यकर्ताको ‘सर्पोट’ उहाँमाथि छ ।

प्रधानमन्त्रीका रुपमा सफल नभएपनि पार्टीलाई बलियो बनाउन भने केपी ओली सफल हुनुभएको छ ।

अन्तराष्ट्रिय सम्बन्धमा देशको अहिलेको अवस्था कस्तो छ ?

अन्तराष्ट्रिय सम्बन्धमा नेपालको हितका लागि भारत र चीन दुबै देशसँग राम्रो सम्बन्ध कायम हुनुपर्छ । अरु मुलुकसँग पनि सम्बन्ध छ, हुनुपर्छ । स्वभाबैले भारतसंगको सम्बन्ध अन्य देशहरुसंगको भन्दा निकट हुन्छ नै । दुई छिमेकी देश भएकाले सम्बन्ध राम्रो भएन भने यसको असर दीर्घकालीन रुपमा देखिन्छ । जसकारण छिमेकी देशसँग समस्याहरु छन् भने वार्ताबाट समाधान गरेर अगाडि बढ्नुपर्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

यतिबेला संसार नै परिबर्तन भएर गईरहेको छ । परम्परागत बिचार र राजनीतिक सिद्धान्त मात्रै भन्दा पनि समय अनुसार पार्टी चलाउने बिषयलाई समय अनुसार परिमार्जन गर्दै जानुपर्छ ।

पार्टी १४ औं महाधिबेशशनको संघारमा छ । यो बेला सबै भातृ संघठन कोमामा शिथिल अवस्थामा छन् । यो देख्दा दुख लाग्छ । ब्यक्तिलाई केन्द्रमा राखेर राजनीति अघि बढ्न सक्दैन । अहिले पार्टी गुटको महासंघ जस्तो भएको छ । क्रियाशिल सम्म पनि गुट हाबी भईरहेको छ ।

हाम्रो महाधिबेशन प्रणाली परम्परागत छ । पार्टीमा योगदान गरेकाहरु ईमान्दार नेताहरुले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था छ । यो प्रबृत्तिलाई निरुत्साहित गर्न छिटो छरितो र कम खर्चिलो हिसाबले महाधिबेशन गर्नु आवश्यक छ । केन्द्रीय अधिबेशन गर्न सबै काठमाडौं आउनुपर्ने हुन्छ, यस्ले अनावश्यक आर्थिक भार परिरहेको हुन्छ । कोभिडले पनि एकैठाउ भेला हुन नसक्ने अबस्था छ । यो अहिले ब्यवहारिक पनि छैन । बिकेन्द्रिकरणको मोडल अनुसार जिल्ला जिल्लाहरुबाटै नै निर्वाचन गर्ने गर्नुपर्छ । पर्चा पम्पलेट अनि अनावश्यक खर्च गरेर मात्रै होईन अब मितव्ययी तरिकाले महाधिबेशन सम्पन्न गर्नुपर्छ । त्यसैले अब डिजिटल सिस्टमबाट महाधिबेशन गर्ने वातावरण बनाउनुपर्छ । काँग्रेसले प्रतिपक्षमा बसेर पनि सकारात्मक कुराहरुको अगुवाई गर्नुपर्छ ।

आज सरकार दुई तिहाई हुँदा पनि विकासका काम भन्दा पनि झिना मसिना कुराहरुमा अल्मलिएको छ । नेकपाको आन्तरिक झमेला मात्रै सुन्नपरेको छ । के यस्कै लागि जनताले दुई तिहाई दिएको हो त ? यसरी आज देशमा दुई तीहाईको नाममा निरँकुशता, अराजकता र गैरजिम्मेवारीपन लाद्ने काम भयो ।

लोकतान्त्रिक मूलुकमा सरकारलाई सहि दिशामा अघि बढाउन प्रतिपक्षी दलको पनि सशक्त भूमिका हुन्छ कि हुँदैन ? तर के आज काँग्रेसले यो भूमिका निभाईरहेको छ त ? आज काँग्रेसले साना तिना कुराहरुमा सरकारसंग बार्गेलिङ गरेर मात्र बस्नु कत्तिको जायज हो त ? यो सबै बिषयमा पार्टी भित्र गम्भिर चिन्तन हुन आवश्यक छ ।

अब काँग्रेस सबै बिषयहरुमा बलियो गरी प्रस्तुत हुन काभिड पछिको समय उपयुक्त हुनसक्छ ।

पार्टी बलियो बनाउन हामीबीच एकता हुनैपर्छ । फरक गुटले समस्या निम्त्याउँछ । सबै गुटमा राम्रा नराम्रा व्यक्ति छन्, राम्रा नराम्रा पक्ष छन् तिनलाई मिलाएर अगाडि बढ्नुपर्छ । एकअर्कालाई हराउने, गाली गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । पार्टीका लागि पद छोड्न तयार पनि हुनुपर्छ, नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ । यतिवेला संगठनको अभाव छ । गिरिजाबाबुले जुन किसिमले संगठन विस्तार गर्नुहुन्थ्यो त्यो हुन सकेको देखिदैन । सबै पदकै लागि दौडियो भने कसरी संगठन बलियो हुन्छ ? त्यसैले यस्ता कमीकमजोरीहरु त्यागेर मिलेर अगाडि बढ्नुपर्छ ।