गण्डकी – विगतमा दशैँ र तिहारको समयमा रातो माटोसहित खोटो र कमेरोले घर रङ्गाउने प्रचलन हराउँदै गएको छ । विशेष गरी परम्परागत शैलीका ढुङ्गा, माटो तथा काठको प्रयोग गरी बनाइएका घरमा ती सामग्रीको प्रयोग हुने गर्दथ्यो । पछिल्लो समय आधुनिकतासँगै सिमेन्टको प्रयोग हुन थालेपछि ती वस्तुको प्रचलन हराउँदै गएको हो ।


ADVERTISEMENT


झण्डै दुई दशक अघिसम्म दशैँ अघि पोखरा महानगरपालिका–३३ स्थित बरभोटेनीमा घर रङ्गाउनका लागि यहाँका बरमाझथर, बरपौवा, बरधारापानीलगायत स्थानबाट ठूलै सङ्ख्यामा सर्वसाधारण माटो लिन जान्थे । पछिल्लो समयमा अधिकांश घरमा सिमेन्टको प्रयोग हुन थालेसँगै माटो ल्याउने प्रचलन हराउँदै गएको हो ।


ADVERTISEMENT

# # #


बरभोटेनीको माटोले लिपपोत गरेपछि विगतमा गाउँका घरहरू रातो देखिने र चिटिक्क पर्ने स्थानीयवासी सुनिता थापाले सुनाए । बरभोटेनीको माटोसँगै घर सजाउन यहाँका स्थानीयले सिलाङ्गे खोलाको कमेरो र पावनडाँडा छबीसेबाट ल्याइएको सालको लोप्रा पकाएर बनाइएको खोटो प्रयोग गर्ने गरेको उनले जानकारी दिए।

पछिल्ला समयमा सिमेन्टको प्रयोग बढ्न थालसँगै सर्वसाधारणले माटो, कमेरो र खोटोको विकल्पमा आधुनिक रङको प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

रातो माटोसँगै घरलाई सजाउन खोटो पकाएर झ्याल ढोकामा लगाउने तथा कमेरो लगाउने प्रचलन पनि हट्दै गएको उनले जानकारी दिए । विशेष गरी छिप्पिएको सालको लोप्रा ताछेर पानीमा पकाएर कालो रङको खोटो तयार गरिन्छ । सालको लोप्राबाट बनाइएको खोटो वर्षमा एक पटक झ्याल ढोकामा लगाए पछि धमिराले नखाने तथा धुल्याहा नलाग्ने बुढापाकाको अनुभव छ ।

“विगतमा घरमा रातो माटो, खोटो र कमेरोले लिपपोत गर्नु दशैँ तिहारसँगै जोएिको संस्कृतिको अर्को पाटो जस्तै बनेको थियो,” उनले भने, “आधुनिकतासँगै विगतका प्रचलन हराउँदै गएपछि अहिलेको पुस्तालाई भने ती कुरा इतिहास जस्तै बन्ने गरेका छन् ।”