काठमाडौं । एनएमबि बैंकले विच्याट भुक्तानी प्रणाली नेपालमा सुरु गर्ने भएको छ । नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको बस्तु तथा सेवाको भुक्तानी गर्नसक्ने व्यवस्थाका लागि एनएमबी बैंकले चिनियाँ कम्पनी टेंन्सेन्ट होल्डिंग्स लिमिटेडसंग सम्झौता गरी विच्याट प्रणालीबाट ग्राहकहरुलाई सेवा दिन लागेको हो ।


ADVERTISEMENT


विच्याट भुक्तानी सेवा प्रदान गर्र्ने देशको पहिलो र एकमात्र बैंक एनएमबी भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । टेन्सेन्ट होल्डिंग्ससंगको यस साझेदारीबाट एनएमबि बैंक नेपालमा विच्याट भुक्तानी सेवा प्रदान गर्ने उक्त संस्थाको आधिकारीक साझेदार बन्नेछ ।


ADVERTISEMENT

# # #


“१ अर्ब १७ करोडभन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू रहेको संसारकै सबैभन्दा प्रभावकारी भुक्तानी प्रणाली सेवा मध्येको विच्याट भुक्तानी प्रणाली संचालनका लागि टेन्सेन्ट होल्डिंग्स लिमिटेडसंग प्रत्यक्ष साझेदारी गर्ने नेपालको पहिलो बैंक हुन पाउँदा अत्यन्त गौरवान्वित महसुस गरेका छौं” बैंकले भनेको छ ।

नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरूको योगदान उल्लेखनिय रहेको छ । संख्यात्मक हिसाबले समेत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या उल्लेखनिय रहेको छ । देशको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्नसक्ने चिनियाँ पर्यटकहरुलाई बैंकले उनीहरूले सबैभन्दा मन पराएको भुक्तानी प्रणाली विच्याटको सुविधा प्रदान गर्न सक्षम भएको बैंकले जनाएको छ ।

यसबाट पर्यटकहरुले सामना गरेको मुद्रा विनिमयको समस्यालाई सहज बनाउने विश्वास बैंकले लिएको छ । साथै, चिनियाँ पर्यटकहरुले नेपालमा बस्तु तथा सेवामा गर्ने खर्चलाई बढाउन र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या बृद्धि गर्न समेत मद्दत यो सम्झौताले टेवा पुग्ने विश्वास बैंकको छ । यसबाट देशको विदेशी मुद्राको संचिति बढाउँन समेत सहयोग पुग्नेछ । विच्याट भुक्तानी प्रणालीको नेपालमा सहज उपलब्धताले साना तथा मझौला व्यवसायीहरुलाई बिदेशी मुद्रा कारोवारको हिसाव मिलानको सहज व्यवस्थापन गर्न समेत मद्दत पुग्नेछ ।

एनएमबि बैंक र टेन्सेन्ट होल्डिंग्सका बीचमा भएको यस साझेदारीले नेपाल भ्रमण गर्ने पर्यटकहरूलाई भुक्तानीका सहज तथा सरल प्रणाली उपलब्ध गराउँन विविध विकल्पहरूको खोजी गर्न अरु ढोका खोल्ने बैंकको भनाई छ ।