काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालकलाई धमाधम कारबाही गर्न थालेको छ । महाशाखाले आजमात्रै चर्को आवाजले डिष्टर्व गर्ने २० वटा मोटरसाईकलहरु कारवाही गरेको छ ।


ADVERTISEMENT


महाशाखाले मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानुनविपरित भएकोले कारवाही गरेको हो ।


ADVERTISEMENT

# # #


महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्बसाधरणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने भएकाले रोक लगाउन लागिएको जानकारी दिए ।

जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको महाशाखाले जनाएको छ ।

ठूलो आवाजका कारण ध्वनी प्रदुषण तथा दुर्घटना जस्ता समस्या आम सर्वसाधारणले व्यहोर्नुपरेकाले ती मोटरसाइकलहरुलाई कडाइ गर्नु परेको छ । ती बाइकहरु तिव्र गतिमा कुदाइने र त्यसमा ठुलो आवाज र ध्वनीका कारण कतिपय अपाङ्ग, असशक्त तथा बिरामीहरु, मुटुका बिरामी तथा कमजोर मुटु भएका मानिसहरु तर्सिने गरेका छन् ।

महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवअनुसार यस आ.ब. ०७७/७८ मात्रै ३४ वटा मोटरसाइकल कारबाही गरिसकेको छ । त्यसरी समातिएका मोटरसाइकलहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवाना स्वरुप १ हजार देखि १५ हजार रुपैयाँ सम्म जरिवाना गराईएको छ ।