पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकेर्युता ।
प्रसादं तनुने महं चन्द्रघण्टेति विश्रुता ।।
नवरात्रिको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा आराधना गरेर मनाइँदै छ । नवरात्र अवधिमा नौ देवी पुजिने परम्पराअनुसार आज चन्द्रघण्टाको पूजा–आराधना गर्न लागिएको हो ।
चन्द्रघण्टायो देवीको निधारमा घण्टी आकारको आधा चन्द्रमा छ । देवीको यो स्वरूप परम शान्तिदायक र कल्याणकारी हुने धार्मिक वचन छ । उनकाे ध्यान गरेमा पृथ्वीलोक र परलोक दुवैको लागि कल्याणकारी र सदगति प्राप्त हुने विश्वास छ । त्यसैले उनको पवित्र बिग्रहलाई ध्यान दिएर साधना गर्ने गरिएकाे छ ।
यी देवीको शरीरको रंग सुनजस्तै चम्किलो हुन्छ । दश हात छन् र ती हातहरू खड्ग र अन्य शस्त्र–अस्त्रहरुले विभूषित छन् । सिंहमा सवार यी देवीको मुद्रा युद्धको लागि उद्दत हुने किसिमको छ । उनको घण्टको भयानक ध्वनिले अत्याचारी दानव–दैत्य र राक्षस काम्न थाल्छन् ।
नवरात्रिको तेस्रो दिन यी देवीको पूजा–पाठको छुट्टै महत्त्व छ । यी देवीको कृपाले साधकलाई अलौकिक वस्तुहरुको दर्शन मिल्ने विश्वास छ । दिव्य सुगन्धिहरुको अनुभव हुने र धेरै प्रकारका ध्वनिहरु सुनिन थाल्ने धार्मिक ग्रन्थहरूमा उल्लेख छ । यी देवीको आराधनाले साधकमा वीरता र निर्भयताको साथमा सौम्यता र विनम्रताको विकास हुने विश्वास पनि छ ।
त्यसैले हामीले मन,वचन र कर्मका साथै कायालाई विहित विधि–विधान अनुसार परिशुद्ध–पवित्र गरेर चंद्रघन्टाको शरणमा परेर उनको उपासना– आराधना गर्नु आवश्यक छ । यसो गर्दा सम्पूर्ण कष्टहरुबाट मुक्त भएर सजिलै परम पदको अधिकारी बन्न सक्नु हुन्छ । यी देवी कल्याणकारी छिन् ।