काठमाडौँ –दसैंको पाँचौँ दिन आज नवदुर्गाका नौरूपमध्ये स्कन्दमाता देवीको पूजाआराधना तथा दर्शन गरेर मनाइँदै छ। आश्विन शुक्ल चतुर्थी तिथिका दिन शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी स्कन्दमाताको पूजा आराधना गरिन्छ ।


ADVERTISEMENT


आज दियो, कलश र गणेशको पूजा गरी ‘स्कन्दमाता’स्वरूपा दुर्गा भवानीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ।


ADVERTISEMENT

# # #


शिव तथा पार्वतीका पुत्र कुमार या कार्तिकेयको अर्को नाम स्कन्द हो । पौराणिक कथा अनुसार देवासुर संग्राममा देवताहरूको सेनापति स्कन्द थिए र स्कन्दले नै दैत्यपति तारकासुरको वध गरेका थिए । स्कन्दमाता शब्द दुईवटा शब्दबाट मिलेर बनेकोछ, पहिलो स्कन्द तथा दोस्रो माता अतस् स्कन्द या कार्तिकेयको माता देवी स्कन्दमाता हुन् ।

तारकासुरले कठोर तप गरेर ब्रह्माजीसङ्ग शिवजीका पुत्रको हातबाट मृत्युको वर प्राप्त गरेको थियो, जसले गर्दा तारकासुर एक प्रकारले अमर जस्तै भएको थियो । दैत्यराजको कारण तीनै लोक त्रसित भएको थियो, तारकासुरले सबै देवताहरूलाई स्वर्गबाट निष्कासित गरेर भगायो र स्वयं नै समस्त भोगलाई भोग्न थाल्यो र सतीको मृत्यु पश्चात् भगवान् शिवजी निरासक्त भएर संधै नै ध्यानमग्न रहन थाले, सतीले पुनः पार्वतीको रूपमा हिमालयको घरमा लिएपछि पनि भगवान् शिवजीले आफ्नो योग तथा साधनाको त्याग गरेनन् र अन्ततः माता पार्वतीको कठोर साधनाको फलस्वरूप शिवजीले आफ्नो योग एवं साधनाको त्याग गरी पार्वतीसंग विवाह भयो तत्पश्चात यिनै दम्पतीको सन्तान कुमार कार्तिकेय भए । ७ वर्षकै अल्प आयुमा कुमार कार्तिकेयले असुरपति तारकासुरको वध गरे । त्यसै समयदेखि सबै देवताहरूको सेनापति पनि उनी भए ।

स्कन्दमाता स्वरूपमा देवी, कुमार कार्तिकेयको काखमा राखेको तथा चार भुजाले युक्त छिन् । स्कन्दमाताको पूजा, पाठ, उपासना एवं साधना विशेष गरी नवरात्रको पञ्चमी तिथिमा हुने गर्दछ । स्कन्दमाता भवानीको उपासना एवं आराधना गर्नाले सबै प्रकारको इच्छा पूर्तिको हुने शास्त्रीय कथन रहेको छ । मृत्यु लोकमा साधकलाई परमशान्ति तथा सुखको अनुभव मिल्ने र मोक्षको द्वार खुल्ने शास्त्रीय विश्वास रहेको छ ।