बागलुङ – ढोरपाटन शिकार आरक्षमा यो वर्षको पहिलो शिकार याम असोज र मंसिर महिनामा १० नाउर र ६ झारलको शिकार गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले शिकारको लागि नाउर र झारलको सो कोटा छुट्टाएको हो ।


ADVERTISEMENT


विभागले प्रतिस्पर्धाका आधारमा छानिएका संस्थालाई शिकार अनुमति दिने गरेको छ । छनोटमा पर्ने संस्थाले विदेशी शिकारीलाई असोज दोस्रो सातादेखि शिकार खेलाउने कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।


ADVERTISEMENT

# # #


‘वर्षेनी शिकारबापत तिनुपर्ने राजश्व घटबढ भइरहन्छ’ उनले भने “शिकार खेलाउने संस्थाबीच जति प्रतिस्पर्धा चल्यो, त्यति दर बढ्छ ।”

अघिल्लो शिकार याम फागुन र वैशाखमा शिकार गर्न लगाउने संस्थाले हालसम्मकै उच्च एउटा झारल शिकारको रु १३ लाख पाँच हजार र नाउर शिकारबापत रु आठ लाख ७५ हजार तिरेको थियो । साढे दुई वर्षअघि पनि झारल शिकारको दर बढेर रु ९ लाख ३१ हजारसम्म पुगेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले तोक्ने कोटा र मागबीचको अन्तरले पनि दर घटबढ हुने गरेको छ ।

अमेरिका, जर्मनी, स्पेन, नर्वे, क्यानडा, दक्षिण अमेरिकालगायतका मुलुकबाट शिकारी ढोरपाटन पुग्ने गर्छन् । सबैजसो शिकारी हेलिकप्टर मार्फत् नै ढोरपाटन पुग्ने गरेको अधिकृत बरालले बताए ।

आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ‘ब्लग’ गरी ६ ब्लगमा शिकार खेल्ने गरिएको छ । सुनदह ‘ब्लग’मा भने धेरै कम मात्रामा शिकारी पुग्ने गरेका छन् । अत्यन्तै विकट क्षेत्रमा रहेको र बढी खर्चिलो हुने हुँदा शिकारीको कम रोजाइमा सुनदह ‘ब्लग’ पर्ने गरेको छ । शिकारबाट आरक्ष कार्यालयले वर्षेनी करिब रु एक करोड राजश्व उठाउने गरेको छ । एउटा शिकारीले वन्यजन्तुको शिकारमा रु २५ लाखदेखि ३० लाखसम्म खर्च गर्ने गरेको पाइन्छ । रासस