काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोरोनाका कारण यसअघि स्थगित हुँदै आएको साधारण सभा अन्ततः भिडियो मार्फत सम्पन्न भएको हो ।


ADVERTISEMENT


साधारणसभाले नेपाल प्रिमियर लिग सञ्चालनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । एनपीएल सञ्चालनका लागि सम्पूर्ण वार्षिक साधारण सभाका प्रतिनिधिहरु एकमत रहेको क्यानका सचिव अशोक नाथ प्याकुरेलले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार साधारणसभाले नेपाल क्रिकेट संघको स्वामित्वमा रहने गरी नेपाली क्रिकेटको हित अनुकुल हुने गरी केन्द्रीय कार्यसमितिलाई नेपाल प्रिमियर लिगको ‘कन्ट्रयाक्ट साइन’ प्रक्रिया अघि बढाउने जिम्मेवारी दिएको छ ।

यस्तै साधारणसभाले आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्मको संघको वार्षिक लेखा परीक्षणलाई पारित गरेको छ भने २०७६/७७ को लेखा परीक्षणको लागि एबीएस एन्ड एशोसिएट्सलाई जिम्मेवारी दिएको छ ।

साधारणसभामा राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष रमेश कुमार शिलवाल, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को प्रतिनिधिका रुपमा अधिवक्ता राजेश्वर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।