– मोतीलाल दुगड : उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री

पछिल्लो समय नेकपाभित्र जुन किसिमको अप्ठ्यारो अवस्था सिर्जना भएको छ, यसलाई कसरी हेर्नु भएको छ ? 


ADVERTISEMENT


हाम्रा ठूला नेताहरु, जसले वर्षौंको त्याग, तपस्या गरेर यो पार्टीलाई यहाँसम्म ल्याइपुर्‍याउनु भएको हो । अहिलेको अवस्थामा उहाँहरुबीच केही मतभेदहरु छन् । तर, त्यस्तो अवस्था छैन कि पार्टी नै फुट्छ या सरकार नै ढल्छ ! पार्टीभित्र यस्ता किचलोहरु भइरहन्छन् । विभिन्न पार्टीका इतिहासमा यस्ता अवस्थाहरु सिर्जना भएकै छन् । किनभने त्यहाँ सबैका आ–आफ्नै कुराहरु हुन्छन्, त्यसमा सन्तुष्टि मिलेन भने मतभेदहरु सिर्जना हुने हो । केही असन्तुष्टि छन् भने हामी त्यसलाई सच्याउन सक्छौँ ।


ADVERTISEMENT

# # #


निकास कसरी हुन्छ ?

अहिले गम्भीर समस्याको कुरा छैन । हाम्रा दुईटै अध्यक्ष र अन्य नेताहरु मिलेर यो समस्या समाधान गर्न सक्षम हुनुहुन्छ र गर्नुहुन्छ पनि ।

लाखौँ कार्यकर्ता र दुई तिहाई जनताले दिएको विश्वासलाई यत्तिकै ढाल्नु हुन्न ।

संक्रमणकालीन अवस्थाबाट पार गरेर हामी समृद्धिको बाटोमा अग्रसर भएका छौँ । कोभिडले देशलाई अहिले झन् ठूलो समस्यामा पारेको छ । यस्तो अवस्थामा सरकारले कस्तो भूमिका निर्वाह गर्‍यो भन्ने मूल्याङ्कन अर्को दृटिकोणबाट हेर्नुपर्छ । पार्टीभित्र कहीँ कमीकमजोरी छ भने आपसमा बसेर छलफल गर्न सकिन्छ । यसको अवश्य निकास निस्किन्छ ।

तर, प्रधानमन्त्री ओलीलाई पार्टीभित्रकै नेताहरुले गम्भीर आरोप लगाइरहेका छन् । यसले प्रधानमन्त्री र सरकारकै क्षमतामा प्रश्न उठेको छैन ?

नेताहरुलाई आरोप लाग्नु स्वभाविक नै हो । जति माथिल्लो स्तरको नेता हुन्छ, उसलाई बढी नै आरोप लाग्छ । किनभने सबैलाई सन्तुष्ट पार्न सजिलो छैन । धेरै क्षेत्रमा काम गर्नुपर्छ, गराउनु पर्छ । एकैपटक गरिबी मेटाउन सकिँदैन । एकैपटक कृषिमा आधुनिकता आउँदैन । एकैपटक सडक, बाटोघाटो र पुलहरु बन्दैन । त्यसैले संयम राख्नु पर्छ । कुनै गलत काम छ भने आरोप लगाउनु पर्छ । तर, गलत काम गरेको हो वा त्यो मान्छे नै गलत हो भन्न मिल्दैन ।

केपी ओली प्रधानमन्त्री भएपछि उहाँले राम्रै काम गर्नुभएको छ । सकारात्मक कामको मूल्याङ्कन गर्नुपर्छ । पार्टीमा ठूलो समस्या छैन । आ–आफ्नो इगोले गर्दा यो समस्या पैदा गरेको हो ।

मन्त्रालयमा यहाँले गर्नुभएका कामहरुको चर्चा छ । कसरी काम गर्दै हुनुहुन्छ ? अब के योजना अघि बढाउँदै हुनुहुन्छ ?

देशलाई समृद्ध बनाउनमा यो मन्त्रालयको ठूलो भूमिका रहन्छ । त्यसकारण उद्योगी, व्यवसायी, निजी क्षेत्रका कामहरुलाई सकारात्मक, छिटोभन्दा छिटो गरिदिनुपर्छ भन्ने हाम्रो धारणा छ । हामी त्यही अनुसार काम गरिरहेका छौँ । त्यही अनुसार हामीले परिणाम पनि पाएका छौँ ।

उद्योगी व्यवसायीहरुलाई हामी काम गर्ने वातावरण बनाउँदैछौँ । उहाँहरुको मनोबल गिर्न दिनुहुँदैन भन्ने हाम्रो उद्देश्य हो ।

हाम्रो कामबाट उहाँहरु पनि सन्तुष्ट हुनुहुन्छ । देशमा ठूलो औद्योगिकरणको वातावरण बनाउन हामी गइरहेका छौँ । उद्योगी व्यवसायीको मनोबल उच्च भएको छ । यो हाम्रा लागि ठूलो सफलता हो ।